प्रधानन्यायाधीशको राजीनामा माग्दै वकिलहरुको प्रदर्शन
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएनले सोमबार विरोध प्रदर्शन सुरु गरेको छ। नेपाल बार एसोसिएसनमा आवद्ध वकिलहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन्।
न्यायापालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ भन्दै उनीहरु विरोधमा उत्रिएका छन्। यसअघि बारले कार्तिक १४, १५, १६ र १७ गते सर्वोच्च अदालत केन्द्रित कालोपट्टीसहितका विरोध कार्यक्रम गरिसकेको छ।
बारले आगामी रणनीतिबारे ९० इकाइहरुसँग छलफल पनि थालेको छ। सो छलफलपछि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बारले जनाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन उनीहरुले आग्रह गर्दै आएका छन्। तर जबरा भने राजीनामा दिने मुडमा छैनन्।
यता जबराविरुद्ध सर्वोच्चकै न्यायाधीशहरु आन्दोलित छन्। उनीहरुले इजलास बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका छन्। न्यायाधीशहरुबाटै इजलास बहिष्कार हूँदै आएपछि मुद्दाको नियमित सुनुवाइ प्रभावित भएको छ।
प्रतिक्रिया दिनुहोस !