सर्वसहमतिबाट एमसीसी पास गर्ने प्रयास भइरहेको छ : माधव नेपाल
काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मतले एमसीसी पास गर्ने प्रयास भइरहेको बताएका छन्। अध्यक्ष नेपालले सिन्धुपाल्चोकका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै यस्तो बताएका हुन्।
उनले भने, ‘एमसीसीमा कुन-कुन कुराहरु छन् संसोधन गर्नुपर्ने भनेर प्रधानमन्त्रीले सोध्नुभयो। संसोधन गराउनुपर्ने कुरा उपलब्ध गराउन हामीलाई भन्नुभएको छ। गठबन्धनको सहमतिबाटै एमसीसी पास गराउने कार्यमा प्रयास भइरहेको छ।’
उनले गठबन्धन कायम रहने भन्दै नटुट्ने बताए। उनले भने, ‘गठबन्धन टुटाउन अनेक भ्रम र आशंका फैलिएका छन्। गठबन्धन भत्किँदैन।’ प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग एमसीसी संसोधनका बुँदाहरु मागेको उनले बताए।
यसअघि पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले नेपाललले चुनावमा गठबन्धनका दलहरु एक भएर अघि बढ्ने बताएका थिए। उनले भने, ‘पाँच दलीय गठबन्धन गरेका छौं । यो गठबन्धन टुट्नेवाला छैन । गठबन्धनलाई थप बलियो बनाउँछौं। समाचारमा अनेक कुराहरु आएका छन्। मनगढन्ते कुराहरु आएका हुन्।’
उनले थपे, ‘प्रतिनिधि सभा क्रियाशील हुनुपर्ने बेलामा बाधा व्यवधान खडा गर्ने काम भएको छ। विध्वशंकारी भूमिका निर्वाह गर्ने प्रवृत्ति हाबी भएको छ।’
प्रतिक्रिया दिनुहोस !