गृहमन्त्री खाँणले प्रचण्डलाई भेटेर भने, ‘एमसीसी पास गरौं, गठबन्धन जोगाऔं’
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न खुमलटार पुगेका छन्। सरकार एमसीसी पास गर्ने तयारी रहेकाले बुधबार बिहान खाँण छलफल गर्न प्रचण्ड निवास खुमलटार पुगेका हुन्।
भेटमा गृहमन्त्री खाँणले प्रचण्डलाई सत्ता गठबन्धन जोगाउन र सरकारले टेबल गरेको एजेण्डामा साथ दिन आग्रह गरे। उनले जनतामाथि परेको भ्रम निवारण सबै मिलेर गर्नुपर्ने र एमसीसीलाई पास गर्नुपर्ने बताए।
मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको थियो।
कांग्रेस सभापतिसमेत रहेका देउवाले पहिलो प्राथमिकता गठबन्धनलाई दिएका छन्। तर सत्ता गठबन्धनभित्रका दल माओवादी केन्द्र र एकीकृत समाजवादी दोहोरो भूमिकामा देखिएकाले प्रमुख प्रतिपक्षी एमालेसँग पनि देउवाले भेट बढाएका छन्। देउवा र अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भेटवार्ता भएको थियो। भेटमा प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न सहयोग गर्न आग्रह गरेका थिए। कांग्रेस - एमालेका नेताबीचको भेटमा ओलीले पहिला आफ्ना पार्टीको माग सम्बोधन हुनुपर्ने अडान लिएका थिए।
कांग्रेसका नेताहरु गठबन्धन दलका नेताले विपक्षीमा भोट हाले गठबन्धन टुट्ने बताउँदै आएका छन्। बिहीबार संसद् बैठक बस्ने भएकाले कांग्रेस नेताहरुले दौडधुप बढाएका हुन्।
प्रतिक्रिया दिनुहोस !