आगो नियन्त्रण गर्न फायर फाइटिङको टोली लिएर सिम्रिकको हेलिकोप्टर दमौली गयो
तनहुँ : दमौलीमा लागेको आगो नियन्त्रणका लागि गृहमन्त्रालयले सिम्रिक एयरको हेलिकोप्टर पठाएको छ। फायर फाइटिङसहितको हेलिकोप्टर केहीबेर अगाडि दमौली प्रस्थान गरेको हो। ९ एन ए जे जेड कलसाइन भएको सिम्रिक एयरको हेलिकोप्टरका चालकमा सुरेन्द्र पौडेल र राजेन्द्र दुवाल छन्। दमौलीमा लागेको आगो नियन्त्रण गरिदिन गृहमन्त्रालयले सिम्रिक एयरलाई आग्रह गरेको थियो
दमौली नजिकैको खोलाबाट पानी लगेर फायर फाइटिङ टोलीले आगो नियन्त्रणमा लिने प्रयास गर्नेछ। सिम्रिक एयरले यसअघि बालाजु औद्योगिक क्षेत्र र शिवपुरी जंगलमा लागेको आगो नियन्त्रणमा लिएको थियो। सामाजिक उत्तरदायीत्वलाई मध्यनजर गर्दै सिम्रिक एयरले शिवपुरीको जंगलको आगो नियन्त्रणमा निशुल्क सेवा दिएको थियो।
यस्तै, ताप्लेजुङको पाथिभारा जंगलमा लागेको आगो समेत सिम्रिक एयरको हेलिकोप्टरले नियन्त्रणमा लिइएको थियो।
आइतबार बिहान दमौली बजारस्थित भोलेटार चोकको एउटा पसलमा भीषण आगलागी भएको छ। ब्यास नगरपालिका ४ स्थित भोलेटार चोकमा रहेको भूपाल हार्डवयर पसलमा बिहान १० बजेतिर लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन।
जिल्ला प्रहरी तनहुँका अनुसार आगो नियन्त्रणको प्रयास भइरहेको छ। अहिले प्रहरी र स्थानीय आगो नियन्त्रणमा जुटेका छन्। आगो नियन्त्रणका लागि एउटा दमकल र चारवटा पानी ट्यांकरको प्रयोग गरिएको छ।
प्रतिक्रिया दिनुहोस !