हिन्दु अतिवादी एमालेको होलीवाइन गठबन्धनसँग हामी धर्म निरपेक्षता पक्षधरको लडाइँ : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले होलीवाइन र राजामहाराजासँग गठबन्धन गरेको आरोप लगाएका छन्।
एमालेले कमल थापाको राप्रपा नेपाल र एकनाथ ढकालको परिवार दलसँग चुनावी तालमेल गरेकोतर्फ संकेत गर्दै प्रचण्डले अबको लडाइँ होलीवाइन, हिन्दूवादी, राजामहाराजा मान्नेहरू र वाम लोकतान्त्रिक गठबन्धनबीच हुने बताए।
पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एमालेले अहिले होलीवाइन, हिन्दूवादी र राजामहाराजा मान्नेहरूसँग गठबन्धन गरेको छ। हाम्रो गठबन्धन लोकतान्त्रिक, प्रगतिशील, वामपन्थी र अग्रगामी शक्तिहरूको गठबन्धन हो। यी दुईमध्ये एक रोज्नुपर्छ.’
प्रचण्डले धर्म निरपेक्षता र हिन्दु अतिवादको लडाइँले नै नेकपा फुटेको तर्क गरे। प्रचण्डले भने, ‘हिजो नेकपा जुन मनसायले देशको राजनीतिक स्थायित्व, विकास र समृद्धिको निम्ति आन्दोलन गरेको थियो। एउटा धर्म निरपेक्षताको ठाउँमा हिन्दु अतिवादतर्फ जाने प्रवृत्तिका कारणले पनि समस्या पैदा भएको हो।’
अहिले चुनावी गठबन्धनमा यही विषय मुख्य बनेर आएको उनले बताए। ‘त्यसकारण हामी धर्म निरपेक्षताको पक्षधर हो या होइन भन्ने एउटा विषय भएको छ। संविधानको रक्षा गर्न चाहेको हो कि भंग गर्न चाहेको हो? तपाई राप्रपा भन्नुस् वा राजा नै फर्काउनुपर्छ भन्ने भन्ने पार्टीहरुसँग गठबन्धन गर्नुको तात्पर्य गणतन्त्रको रक्षाको निम्ति हुन सक्छ त?’ उनले प्रश्न गरे।
दाहालले सत्ता गठबन्धनभित्र कोही गणतन्त्र विरोधी नभएको दाबी गरे। ‘यो पटक नेपाली जनताले गणतन्त्र, परिवर्तन संघियताकै पक्षमा गर्छन् हाम्रो अपिल र विश्वास छ,’ उनले भने।
तर झापामा राजेन्द्र लिङदेनको राप्रपा र सत्ता गठबन्धनबीच चुनावी तालमेल भएको प्रसंग सञ्चारकर्मीले उप्काउँदा त्यसलाई गठबन्धन भन्न नमिल्ने उनको भनाइ रह्यो। ‘त्यो गठबन्धन होइन। कुनै ठाउँमा विशेषमा हुने कुराले एजेण्डामा अर्थ राख्दैछ। स्थानीय स्तरमा तालमेल होला। तर त्यसलाई गठबन्धन नै भनेर लिन हुँदैन,’ उनले भने।
प्रतिक्रिया दिनुहोस !