छानविन समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग लियो बयान, सीसीटीभी फुटेजमा प्रहरीको रिपोर्ट कुर्दै
काठमाडौं : बजेट निर्माणका क्रममा अनाधिकृत ब्यक्तिलाई प्रवेश दिएको विषयमा छानविन गर्न गठित संसदीय विशेष समितिले बिहीबार पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको छ।
संसदीय विशेष छानबिन समितिले पूर्वअर्थमन्त्री शर्मासँग बिहिबार बिहान समितिको कार्यकक्षमा बयान लिएको हो। बयानपछि बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ पूर्वअर्थमन्त्री शर्माले समितिले सोधेको सबै प्रश्नको जवाफ दिएको र यसको निचोड समितिले निकाल्ने बताए।
त्यस्तै छानविन समितिका सचिव सुरेन्द्र अर्यालले बिहीबारको बयानमा पूर्वअर्थमन्त्री शर्माले सदनमै भनेको कुरा दोहोर्याएको बताए। शर्माले बजेट निर्माणका क्रममा कुनै पनि अनधिकृत व्यक्ति प्रवेश नगरेको बयान दिएको अर्यालले बताए।
त्यस्तै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज भने अहिलेसम्म प्राप्त गर्न नसकिएको सचिव अर्यालले बताए। सीसीटीभी फुटेज रिकभरी हुने सम्भावनामा नेपाल प्रहरीको फरेन्सिक प्रयोगशालामा हार्डडिस्क पठाइएको अर्यालले बताए। प्रहरीबाट प्राप्त हुने प्रतिवेदनका आधारमा छानबिन अघि बढ्ने उनको भनाइ छ।
समितिले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपका विषयमा सोधपुछ गरेको थियो। समितिले बजेट निर्माणमा संलग्न अर्थमन्त्रालयका १० अधिकारीसँग छलफल गरिसकेको छ।
यस्तै समितिको १० दिनको समयसीमा बिहीबार सकिएको छ। छानबिनका काम बाँकी नै रहेकाले आवश्यक समय थपका लागि सभामुखलाई आग्रह गरिएको सचिव अर्यालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !