बजेट चलखेल प्रकरण : छानविन समितिको बैठकमा खोलियो फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट
काठमाडौं : संसदीय विशेष छानविन समितिले फरेन्सिक ल्याबबाट प्राप्त भएको सीसीटीभीको हार्डडिक्सको रिपोर्ट खोलेको छ। समितिको मंगलबार बिहान ८ बजेपछि बसेको बैठकमा फरेन्सिक ल्याबबाट लाहाछापसहित प्राप्त शिलबन्दी गरेको हार्डडिस्कको रिपोर्ट खोलेको हो।
पूर्व अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिको प्रवेशबाट बजेट बनाएको आरोपमा गठित संसदीय विशेष छानविन समितिलाई अर्थ मन्त्रालयले दिएको हार्डडिक्समा जेठ १४ गतेको भिडियो नभेटिएपछि प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो।
संसदीय विशेष छानबिन समितिले साउन ४ गते पठाएको उक्त हार्डडिक्स सोमबार नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको केन्द्रीय प्रहरी डिजिटल फरेन्सिक विज्ञान प्रयोगशालाबाट प्राप्त भएको हो। उक्त रिपोर्टको समितिले अध्ययन सुरु गरेको हो।
समितिले आइतबार गृह मन्त्रालयसँग जेठ १४ र १५ गतेको सिंहदरबारको मुल गेट दक्षिण र पश्चिमद्वारको सीसीटीभी फुटेज माग गरेको छ।
विशेष छानविन समितिले काम सुरु गरेको १० दिन बितिसक्दा पनि प्रमाण जुटाउन नसकेपछि असार २८ गते सदनमा समय थपको माग गरेको थियो। समितिबाट सिफारिस भएर आए अनुसार सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा ७ दिन म्याद थप्न प्रस्ताव गरेपछि सदनले अनुमोदन गरेको थियो। समितिले असार २८ मा काम थालेको थियो।
सत्तारुढ दलका समितिकै सदस्यहरुमा शर्माको कल डिटेल र लोकेसन ट्रयाकिङ लिने विषयमा विवाद भएको छ। एमालेबाट समितिमा रहेका सदस्यहरुले कल डिटेल र लोकेसन ट्रयाकिङको प्रस्ताव गरे तर सत्तारुढ दलका मानबहादुर विश्वकर्मा र देव गुरुङले भने यसमा असहमति जनाए।
सत्तारुढ दलबाट सहभागी समितिका सदस्य यो विषय ढाकछोप गर्न नै लागेका छन्। कल डिटेल र लोकेसन ट्रयाक गर्दा यथार्थ बाहिर आउने भएपछि तत्कालिन मन्त्री शर्माका पार्टी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसतर्फ समितिले सदस्यहरु झक्किएका छन्। बयान र सीसीटीभी फुटेजको विषयमा नै अल्झाएर समय खेर फाल्न लागिरहेका छन्।समिति सदस्य खगराज अधिकारी लगायतले छानविन टुंगो पुग्नको लागि कल डिटेल नै प्रमुख रहेको बताइरहेका छन्।
प्रतिक्रिया दिनुहोस !