प्रचण्डको अडानबारे प्रधानमन्त्री देउवालाई प्रकाशमानको ब्रिफीङ
काठमाडौं : नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै नेता सिंहले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेट गरेका हुन्।
नेता सिंहले प्रचण्ड सहजै प्रधानमन्त्री पदबाट पछि नहट्ने आफूले पाएको प्रधानमन्त्रीलाई ब्रिफीङ गरेका थिए।
कांग्रेसले राष्ट्रपति नछाड्ने बरु प्रधानमन्त्रीमा खुला रहेको विकल्प गठबन्धन दललाई सुनाइसकेको छ। तर पनि देउवाले पहिलो पटक प्रधानमन्त्री आफू बन्ने र दुई वर्ष प्रचण्ड र एक वर्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री हुने विकल्प बताएका छन्।
तर, प्रचण्ड जसरी पनि आफू प्रधानमन्त्री बन्ने मुडमा छन्। प्रचण्ड सकेसम्म वर्तमान सत्ता गठबन्धनको समर्थनमा प्रधानमन्त्री बन्ने, नत्र एमाले र साना दलको समर्थनमा प्रधानमन्त्री बन्ने मनस्थितिमा रहेको बुझिएको छ।
त्यसका लागि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री देउवासँग समानान्तर पहल गरिरहेका छन्।
देउवा विभिन्न दूतमार्फत् प्रचण्डलाई मनाउन खोजिरहेका छन् भने प्रचण्ड कुनै पनि हालतमा देउवालाई गलाउन लागिपरेका छन् ।
बिहीबार बेलुकी प्रधानमन्त्री देउवा,प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा सत्तासमीकरणबारे छलफल भएको थियो। गठबन्धन दलभित्र प्रधानमन्त्री को बन्नेबारे टुंगो लगाउन सकस देखिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि पुस १० गतेसम्म समयसीमा दिएकी छन्।
दुई दिन बाँकी रहँदा गठबन्धनका नेताहरू सरकार गठनका लागि छलफल तीव्र पारेका हुन्।
प्रतिक्रिया दिनुहोस !