माग पूरा नहुदाँसम्म अनशन जारी रहन्छ : डा केसी

माग पूरा नहुदाँसम्म अनशन जारी रहन्छ : डा केसी

काठमाडौं : प्रा डा गोविन्द केसीले माग पूरा नभएसम्म आफ्नो अनशन जारी राख्ने बताएका छन्। अदालतको अवहेलना मुद्दामा प्रकाउ परी बुधबार साधारण तारेखमा छुटेपछि बिहीबार विज्ञप्ति जारी गर्दै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालका डा केसीले आफ्ना माग पूरा नभएकाले अनशन जारी रहने स्पष्ट पारेका हुन्।

अदालतको सम्मानप्रति मेरो सधैँ सम्मान रहेको छ, उनले विज्ञप्तिमा भनेका छन, प्रधानन्यायाधीशबारे मैले उठाएका प्रश्नलाई गम्भीरतापूर्वक लिएर सर्वोच्च अदालतले उहाँलाई न्यायिक छानबिनको दायरामा ल्याएकोमा सो आदेशको प्रशंसा गर्दछु।’

छानबिनपछि सत्य र तथ्यगत रुपमा निर्णय हुने विश्वास व्यक्त गर्दै डा केसीले मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा न्यायालयको शुद्धीकरणको अभियानमा आफ्ना बाँकी माग पूरा नहुञ्जेल आफ्नो अनशन जारी रहने बताए।

चिकित्सा शिक्षा अध्ययन संस्थानको चार वर्षअघिको डिन पुनःबहालीसम्बन्धी सर्वोच्च अदालतले गत आइतबार गरेको आदेश न्यायसंगत नभएको भन्दै डा केसीले प्रधानन्यायाधीशको राजीनामाको मागसहित सोमबारदेखि १४औँ अनिश्चितकालीन आमरण अनशन सुरु
गरेका थिए।

प्रधानन्यायाधीशको राजीनामा र उनले गरेका कामबारे छानबिन गर्न माग गरेपछि उनलाई अदालतको अवहेलना गरेको आरोपमा सोमबार साँझ नै प्रक्राउ गरिएको थियो। डा केसी चार वर्षअघि बर्खास्तमा परेका संस्थानका डिन डा शशि शर्मालाई सर्वोच्चले पुनःबहाली गरेपछि त्यस कदमको विरुद्धमा उत्रिएका हुन्। उनले प्रहरी हिरासतमा पनि अनशन जारी राखेका हुन्।

गत मंगलबार र बुधबार सर्वोच्च अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइपछि अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिँदै प्रा डा केसीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको थियो।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले बुधबार प्रधानन्यायाधीश पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको हो।

वरिष्ठ चिकित्सक डा गोविन्द केसीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइपछि जारी भएको आदेशमा भनिएको छ, ‘प्रधानन्यायाधीश गोपाल पराजुलीको काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट लिइएका दुवै नागरिकताको प्रतिलिपि झिकाउनुका साथै न्याय परिषद्बाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिसमेत झिकाउनु।’

सर्वोच्च अदालतमा मंगलबार बयान लिँदा प्रधानन्यायाधीश पराजुलीको दुई वटा नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा डा केसीले प्रश्न उठाउनुभएको थियो।

आदेशमा अदालतले प्रा डा शशी शर्मालाई आइओएमका डिनमा पुनःबहाली गर्न प्रधानन्यायाधीश पराजुली सहभागी भएर गरेको फैसलाको मिसिलसमेत झिकाउन भनिएको छ।

अदालतले सो मुद्दामा सुनुवाइ सकिएपछि डा केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिँदै भनिएको छ, ‘डा केसीको स्वास्थ्य अवस्थालाई समेत विचार गरी हाललाई उहाँलाई साधारण तारेखमा राखी निजको तर्फबाट बहसमा उपस्थित हुन वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीको जिम्मामा छोडी बाँकी कारबाही गर्नु।’

डा केसीले उठाउनुभएका बाँकी मागको सम्बोधन हुनुपर्ने बिहीबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.