कांग्रेस धनकुटाको सामुहिक राजीनामा
धनकुटा : आफ्नै पार्टी सभापति नेतृत्वको सरकार हुँदा पनि प्रदेश नम्बर १ को राजधानी धनकुटा नतोकेको भन्दै नेपाली कांग्रेस धनकुटाका पदाधिकारीले सामुहिक राजीनामा दिएका छन्। शनिबार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेससँग सम्बद्ध रहेको जिल्ला कार्य समिति, गाउँपालिका, नगरपालिका र जिल्ला तहका सबै पार्टी पदाधिकारीले सामुहिक राजीनामा दिएको घोषणा गरेका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेलले राणाकाल, पञ्चायतकाल, बहुदलीय व्यवस्थामासमेत क्षेत्रीय सदरमुकामको रुपमा कायम रहेको ठाउँलाई अहिले अन्याय भएको बताए।
प्रदेश राजधानीका लागि प्रयाप्त भौतिक पूर्वाधार रहेको, सबै जिल्लालाई सडक सञ्जाल जोडिएको, सुरक्षा दृष्टिकोणले उपयुक्त, भौगोलिक सुगमता र हावापानीले पनि उपयुक्त रहेको धनकुटालाई उपेक्षा गर्दै अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पर्ने गरी अस्थायी राजधानी तोकिएमा धनकुटाबासीलाई अन्यय भएको कांग्रेस पदाधिकारीले बताएका छन्।
धनकुटेली जनताले विगत ३६ दिनदेखि लगतार आन्दोलन गर्दा पनि नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले गरेको अदूरदर्शी र अन्यायपूर्ण निर्णय गरेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !