विराटनगरमा कांग्रेस संस्थापन इतर समूहको प्रदेशस्तरीय भेला, नेतृत्वमाथि प्रश्न

विराटनगरमा कांग्रेस संस्थापन इतर समूहको प्रदेशस्तरीय भेला, नेतृत्वमाथि प्रश्न
सुन्नुहोस्

विराटनगर : नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता नवीकरण, संगठन सञ्चालन र आगामी महाधिवेशनको तयारीलाई लिएर असन्तुष्टि बढिरहेका बेला संस्थापन इतर समूहले विराटनगरमा कोशी प्रदेशस्तरीय भेला आयोजना गरेको छ । 

पार्टीभित्र देखिएका विवाद, कार्यकर्ताको गुनासो र नेतृत्वप्रतिको असन्तुष्टिलाई केन्द्रमा राखेर आइतबार आयोजित भेलामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको छ । भेलामा कांग्रेस नेता डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, सशांक कोइराला लगायत सहभागी छन् । नेताहरुले पार्टीको वर्तमान अवस्था, संगठन सुदृढीकरण, कार्यकर्ताको भूमिका तथा आगामी राजनीतिक दिशाका बारेमा आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । 

कार्यक्रमको सुरुवातमै कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पार्टी नेतृत्वमाथि कडा टिप्पणी गरे । उनले लामो समयदेखि पार्टीका लागि योगदान दिएका निष्ठावान कार्यकर्तालाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै क्रियाशील सदस्यतासम्बन्धी प्रक्रियामाथि प्रश्न उठाए । कार्कीले सिद्धान्त र विचारका आधारमा राजनीति गर्दै आएका कार्यकर्तालाई किनारा लगाउन खोजिएको दाबी गर्दै नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले पार्टीभित्र बढ्दो असन्तुष्टिलाई समयमै सम्बोधन गर्न नेतृत्वलाई आग्रह गरेका छन् । सम्बोधनका क्रममा उनले पुराना कार्यकर्ताको क्रियाशील सदस्यता खारेज गर्ने प्रयासलाई अस्वीकार्य भएको बताए । उनले कांग्रेसलाई कमजोर बनाउने उद्देश्य नभई पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउने लक्ष्यसहित भेला आयोजना गरिएको स्पष्ट पारे । नेतृत्वको व्यवहार र सार्वजनिक अभिव्यक्तिबीच अन्तर देखिएको भन्दै उनले पार्टीभित्र निष्पक्ष वातावरण आवश्यक रहेको धारणा राखे । 

त्यसैगरी पूर्व सांसद सरिता प्रसाईंले पनि नेतृत्वको भूमिकाप्रति असन्तुष्टि जनाइन् । उनले पार्टीभित्र भइरहेका छलफल र भेलालाई नेतृत्वले सकारात्मक रूपमा लिनुपर्नेमा उल्टै रोक्न खोजिएको आरोप लगाइन् । उनले उपसभापति विश्वप्रकाश शर्मालाई लक्षित गर्दै पार्टी एकताको उद्देश्यले आयोजित कार्यक्रमप्रति आशंका व्यक्त गर्नु उचित नभएको बताइन् । कांग्रेसलाई बलियो बनाउन कार्यकर्ताको भावना र सुझावलाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो । 

प्रसाईंले नेपाली कांग्रेस कमजोर हुँदा त्यसको असर मुलुकको समग्र राजनीतिक स्थिरतामा पर्ने तर्क गर्दै वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गरिन् । संविधान र लोकतान्त्रिक व्यवस्थामाथि चुनौती देखिएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा कांग्रेसभित्र थप अन्योल र विभाजन हुन नहुने बताइन् । आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनको प्रसंग उल्लेख गर्दै उनले कार्यकर्तालाई बेवास्ता गरेर निर्वाचनमा सफलता हासिल गर्न नसकिने जिकिर गरिन् । पार्टी नेतृत्वले तल्लो तहका कार्यकर्ताको भावना बुझ्न नसके चुनावी परिणाममा नकारात्मक असर पर्न सक्ने उनको चेतावनी थियो । 

कोशी प्रदेश कांग्रेस समितिका महामन्त्री भूपेन्द्र राईले कार्यक्रम कुनै गुट विशेषको स्वार्थका लागि नभई पार्टीभित्र संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आयोजना गरिएको बताए । उनका अनुसार कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका प्रतिनिधिले संगठनको अवस्था, सदस्यता नवीकरण, महाधिवेशनको तयारी तथा पार्टीभित्र देखिएका समस्याका बारेमा आ–आफ्ना धारणा राख्ने छन् । 

पछिल्लो समय कांग्रेसभित्र सबैभन्दा बढी विवादित बनेको विषय क्रियाशील सदस्यता नवीकरण प्रक्रिया हो । इतर पक्षका नेताहरूले सदस्यता व्यवस्थापनको नाममा सक्रिय कार्यकर्तामाथि अन्याय भइरहेको आरोप लगाउँदै आएका छन् । उनीहरूको भनाइमा पार्टीको मूल विचार र मूल्यलाई आत्मसात् गरेका कार्यकर्ताभन्दा बाहिरबाट आएका व्यक्तिलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको छ । विराटनगरमा सुरु भएको भेला कांग्रेसभित्रको शक्ति सन्तुलन, आगामी महाधिवेशनको समीकरण तथा संगठनात्मक बहसका दृष्टिले महत्वपूर्ण मानिएको छ । भेलालाई नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.