दुई लाख ५७ हजारसहित सात जुवाडे पक्राउ
भक्तपुर : महानगरीय प्रहरी परिसर भक्तपुरले दुई लाख ५७ हजार रुपैयाँसहित सात जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले भक्तपुरको चाँगुनारायण –७ वागेश्वरीस्थित सानुभाइ श्रेष्ठको घरबाट शुक्रबार राती उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
परिसरका प्रवक्ता प्रहरी नीरिक्षक सुशीलकुमार पाण्डेले उक्त रकम, तास बुक दुई थानसहित घरधनी श्रेष्ठसँगै सातजनालाई जुवाको खालबाट पक्राउ गरिएको बताए । प्रहरीले श्रेष्ठसँगै स्थानीय रमेश खड्का, राजकुमार खड्का, सुमन खड्का, विक्रम थापा, राम खड्का र दीपेश खड्कालाई नियन्त्रणमा लिएको हो ।
स्थानीय श्रेष्ठको घरमा हारजीत हुने गरी तास खेलिरहेको भन्ने सुराकीको आधारमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी पाण्डेले बताए । उनका अनुसार पक्राउ परेकाहरु विरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !