सुनसरीको देवानगन्जमा भीषण हुलदंगा र झडप : अवस्था तनावग्रस्त
विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ।
प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ।
दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, तरबार लगायतका घरेलु हतियारसहित आक्रमण र प्रत्याक्रमणमा उत्रिएको प्रहरीले जनाएको छ। सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले दुई समुदायबीच अनियन्त्रित झडप भइरहेको जानकारी दिए।
‘अहिले साँझबाट ठूलो संख्यामा भेला भएका दुई पक्षबीच घरेलु हतियारसहित दोहोरो झडप भइरहेको जानकारी आएको छ। झडप र हुलदंगाले अवस्था पूर्णरूपमा तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने। साँझको समय भएकाले अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई समस्या परिरहेको जानकारी खड्काले दिए।
‘साँझको समय भएकाले सुरक्षाकर्मीलाई प्रभावकारी रुपमा खटाउन सकिएको छैन। सुरक्षाकर्मीलाई निक्कै गाह्रो भइरहेको छ। जथाभावी आक्रमण र प्रत्याक्रमण भइरहेको जानकारी आएको छ,’ उनी भन्छन्, ‘देवानगन्ज बजारको अवस्था सुरक्षा नियन्त्रणभन्दा बाहिर छ। त्यही पनि सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। तर, अहिलेसम्म सम्भव भइरहेको छैन।’
मंगलबार दिउँसो देवानगन्ज–३ कप्तानगन्जका केही घरमा आगजनीसमेत भएको थियो। आगजनी र नियन्त्रणबाहिरको झडपका कारण स्थानीय सर्वसाधारणबीच भागदौड मच्चिएको छ। कतिपय वृद्धवृद्धा र बालबालिका हुलदंगमा परेको हुनसक्ने प्रहरीको अनुमान छ। घटनामा ठूलो हताहती भएको हुनसक्ने र अझै नियन्त्रणमा आउन नसके अवस्था निक्कै जटिल एवं असहज बनेर जाने सुरक्षा विश्लेषण छ। लामो समयदेखिको मारपिट, हुलदंगा र झडपका कारण ठूलो हताहती भएको हुनसक्ने सुरक्षा अधिकारीहरुको आशंका छ।
स्थिति नियन्त्रणमा लिनका लागि पुगेका सुरक्षाकर्मीहरु नसकेपछि फिर्ता भएका छन्। सुरक्षाकर्मी घटनास्थलमा जान नसक्दा के कति क्षति भयो भन्ने यकिन छैन। ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी खटिएको भए पनि अनियन्त्रित भिडले लगातार आक्रमण गर्न थालेपछि ज्यान जोगाउनलाई सुरक्षाकर्मी नै भाग्नुपर्ने अवस्था आएको छ।
‘झडप सुरु भएको जानकारी पाउनसाथ हामी घटनास्थलतर्फ जाँदै थियौं। तर, त्यहाँ पुग्न नपाउँदै सुरक्षाकर्मीलाई समेत लक्षित गरेर आक्रमण र ढुंगामुढा हुन थाल्यो। अवस्था सुरक्षा नियन्त्रणबाहिर रहेको पाइयो। हामीले भागेर ज्यान जोगाएका छौं,’ घटनास्थलनजिक रहेका एक सुरक्षाकर्मीले भने। उनका अनुसार दुई पक्षबाटै ठूलो भिड भेला भएर एकअर्कालाई आक्रमण गर्ने काम गरिरहेका छन्।
आक्रमण र प्रत्याक्रमणसँगै देवानगन्ज बजारमा आगजनी र तोडफोडसमेत भइरहेको छ। त्यस्तै, घुस्कीमा दनदनी आगो बलिरहेको परैबाट देख्न सकिन्छ। घुस्की लगायतको स्थानमा भीषण आगजनी र आक्रमण भइरहेको हो। दिउँसो पनि घुस्कीमा सुरक्षाकर्मीमाथि आक्रमण भएको थियो। सुनसरीमा मंगलबार बिहानैदेखि ठाउँठाउँमा दुई समूहबीच लगातार भिडन्त र झडप भइरहेको छ।
सुनसरीका सुरक्षा अधिकारीहरुले दिउँसो देवानगन्ज र कप्तानगन्जको स्थलगत निरीक्षण गरेका थिए। स्थलगत निरीक्षणका क्रममा स्थानीय अगुवाहरुसँग भेटघाट र छलफल गर्दै अवस्थालाई सामान्य बनाउन सुरक्षा अधिकारीले आग्रह गरे। अनुगमन र निरीक्षण सकेर सुरक्षा अधिकारी फर्किएको केही समयमै देवानगन्ज बजार पूर्णरूपमा रणमैदानमा परिणत भएको हो।
देवानगन्ज र हरिनगरामा मंगलबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरले हवाई गस्तीसमेत गरेको थियो। फिल्डमा समेत सेना परिचालन गरिएको छ। तर, अवस्था झन् तनावग्रस्त बनेर गएको छ। माहोल बिग्रिदै जाँदा दुई पक्षबीच लगातार झडप भइरहेको हो।
दुई समुदायबीच मारमार चलिरहँदा सुरक्षा अधिकारीले भने सुरक्षाकर्मीलाई धेरै बल प्रयोग नगर्न निर्देशन दिएका छन्। आवश्यक बल प्रयोग गर्न नपाएपछि सुरक्षाकर्मी नै निरीह बनेका छन्। कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी शेखर खनालले सिलसिलेवार रूपमा बल प्रयोग गर्न र भिड नियन्त्रणका क्रममा हतियारको प्रयोग नगर्न सुरक्षाकर्मीलाई निर्देशन दिएपछि आक्रमण, आगजनी र तोडफोड एवं आक्रमण र प्रत्याक्रमणमा उत्रिएकाहरुको मनोबल झन् बढेको बताइन्छ।
प्रतिक्रिया दिनुहोस !