भीरबाट लडेकी महिलालार्इ बचाउन प्रधानमन्त्रीले जहाज पठाए
नेपालगन्जः गत फागुन ३ गते घाँस काट्न जंगल गएकी धर्मा भीरबाट लडिन् । लडेर गम्भीर बनेकी बाजुराको नौमुल गाउँपालिकाकी ४० वर्षीया धर्मा रोकायाको जिल्ला अस्पतालमा उपचार हुन सकेन । आफन्त र परिवारले थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा त्यही राती पु¥याए । तर, कोहलपुर मेडिकल कलेजले बिरामीलाई उपचार गर्न मानेन ।
‘हामीले तत्तकाल बिरामी बचाउन अनुरोध ग¥यौं, उपचार परै जाओस अस्पतालमा राख्न समेत मानेनन् डाक्टरले,’ धर्माका पति वीरेन्द्र रोकायाले भने, ‘तत्कालका लागि आइसीयूमा राख्न समेत अस्पताल प्रशासन मानेन, दैनिक ३० हजार रुपैयाँ शुल्क दिएपछि मात्रै राख्न सकिने अस्पतालले अडान राख्यो ।’
मेकिडल कलेजले उपचार गर्न नमानेपछि भेरी अञ्चल अस्पताल नेपालगन्जमा सिफ्ट गरियो । छाति र टाउकोमा गम्भीर चोट लागेकी धर्माको नेपालगन्जमा उपचार सम्भव नभएपछि काठमाडौं लैजाने चिकित्सकले रेफर गरे । तर, धर्माको अवस्थाका कारण एम्बुलेन्स र जहाजको सिटमा राख्न नसक्ने पति रोकायाले बताए ।
बाजुराकै एमाले नेता कर्णबहादुर थापाले बिरामीको ज्यान बचाउन सरकार गुहार गरे । आर्थिक अवस्था कमजोर रोकायालाई उपचारका लागि काठमाडौं लैजान हेकिकोप्टर र एम्बुलेन्सबाट सम्भावना नभएको पहलकर्ता कर्णबहादुर थापाले बताए ।
‘उहाँ नेपालगञ्ज ल्याउने समय बाटोमै बेहोस हुनुभएको थियो, भेरी अञ्चल अस्पतालमा उपचार हुन नसक्ने भएपछि काठमाडौँ ल्याउने कुनै उपाय थिएन’ उनले भने, ‘जहाजको सिटमा बस्न नसक्ने र एम्बुलेन्समा काठमाडाँैसम्म ल्याउन नसकिने भएपछि एउटै विकल्प जहाज चार्टर गर्नुपर्ने भयो, तर जहाज चार्टर गर्दा ८ लाखभन्दा बढी लाग्ने भएपछि रोकाया परिवारका लागि त्यो सम्भव थिएन ।’
उनले सबै कुरा प्रधानमन्त्रीलाई बताएपछि बिरामीको ज्यान बचाउन ओली तत्पर भएका बताए । प्रधानमन्त्री ओलीको निर्देशनमा यती एयरलाइन्सको जहाजमा मंगलबार नेपालगन्जबाट काठमाडौं लगेर वीर अस्पतालको सघनकक्षमा घाइतेको उपचार भइरहेको छ ।
नयाँ सरकार नेतृत्व गरेका केपी ओलीसमक्ष रोकायाको अवस्था र सरकारको दायित्वबारे कुरा राखेपछि बिरामी बचाउन जहाज चार्टरको व्यवस्था गरिदिएको पहलकर्ता थापाले बताए । घाइते धर्माका पति वीरेन्द्र रोकाया नौमुल गाउँपालिका–४ का वडाअध्यक्ष समेत हुन् । प्रधानमन्त्रीको पहलबाट पत्नीको ज्यान बचाउन सकिएको भन्दै रोकायाले सरकारलाई धन्यवाद दिएका छन् ।
‘आर्थिक रुपमा विपन्न हामीलाई उपचारका लागि लैजाने त्यति महंगो भाडा थिएन, थापाको पहलमा प्रधानमन्त्रीले जहाज मिलाउनुभयो,’ रोकायाले भने, ‘नागरिकप्रति सरकारले गरेको दायित्व सह्रानीय छ, सबै क्षेत्रका गरिबलाई सरकारले यसरी नै उपचार दिलाउने प्रयत्न गरोस् ।’
चिकित्सकले धर्माको अवस्था गम्भीर भएपनि प्रधानमन्त्रीले देशको नागरिक बचाउन देखाएको तत्परताप्रति परिवारले सरकारलाई धन्यवाद दिएको छ । दुर्गम क्षेत्रका नागरिकलाई स्थानीयस्तरमै उपचार गर्ने वातावरण मिलाउने समेत सरकारलाई घाइतेका परिवारले अनुरोध गरेका छन् ।
एमाले पोलिट ब्युरो सदस्य समेत रहेका थापाले रोकायालाई जस्तै सरकारले दुर्गम क्षेत्रका अन्य नागरिकलाई सहज उपचारको पहुँच पु¥याउन व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !