मेयरले भाइलाई बनाए उपभोक्ता अध्यक्ष, वडाअध्यक्ष अनशनमा
मलंगवा : बलरा नगरपालिकाका मेयर अभयकुमार सिंहले भाइलाई उपभोक्ता समितिका अध्यक्ष बनाएपछि असन्तुष्टि बढेको छ। कांग्रेसबाट निर्वाचित वडाध्यक्षले नगरपालिका कार्यालयमा सोमबार तालाबन्दी गरी रिले अनशन सुरु गरेका छन्। मेयर सिंहले ९ किलोमिटर सडक निर्माणका लागि कान्छो भाइ पंकजकुमारलाई अध्यक्ष बनाएको जनाइएको छ।
उपभोक्ता समितिका अध्यक्ष परिवर्तन गर्नुपर्ने र विकास निर्माणका काममा पारदर्शिता हुनुपर्ने मागसहित तालाबन्दी गरिएको वडा नम्बर ९ का अध्यक्ष रामदरेश दासले बताए। मेयरले भाइलाई ८० लाख लागतको सडक निर्माण उपभोक्ता निर्माण समितिका अध्यक्ष बनाएको उनले सुनाए। अनियमितता गर्नका लागि मेयरले भाइलाई अध्यक्ष बनाएको वडाध्यक्षको आरोप छ।
मेयरले वृद्धभत्तामा पनि अनियमितता गरेको आरोप उनीहरूले लगाएका छन्। मृतकका नाममा पैसा निकालेको आन्दोलनरत पक्षको आरोप छ। उनीहरूका अनुसार कृषि सडक निर्माणका लागि ठेक्का लागे पनि मेयरले पैसा खाने दाउमा त्यसमै पैसा हालेको दासको आरोप छ।
‘वडाध्यक्षहरूलाई बाइपास गरेर मेयरले भाइलाई अध्यक्ष बनाएका छन्’, अनशनमा बसेका कौशलकिशोर सिंहले भने, ‘सडक निर्माणबार वडाध्यक्षलाई एक शब्द सोधिएको पनि छैन।’ भ्रष्टाचार गर्ने नियतले उपभोक्ता समिति गठन गरिएको जिकिर उनले गरे।
उपभोक्ता समिति भंग गर्न ७ दिनको अल्टिमेटम दिए पनि मेयरले अस्वीकार गरेपछि बाध्य भएर कार्यालयमा तालाबन्दी र रिले अनशन सुरु गरिएको सिंहले बताए। ‘२५ दिनसम्म रिले अनशन गर्छु’, उनले भने, ‘त्यसपछि पनि सुनवाइ नभए आमरण अनशन बस्छु।’ पहिलो दिन पाँच जना अनशन बसेका छन्।
नगरपालिकाको योजना रहेकाले आफूले स्थानीयलाई राखेर उपभोक्ता समिति बनाएको मेयर सिंहको भनाइ छ। ‘गाउँलेले उपभोक्ता समिति बनाएका हुन्। मैले एकतर्फी रूपमा उपभोक्ता समिति बनाएको भए गाउँलेले काम गर्न दिँदैनथे’, उनले भने, ‘त्यसमाथि पंकज मेरा लागि भाइ नभएर जनता हो। मसँग छुट्टिएको २० वर्ष भयो।’
उनका अनुसार ९ किलोमिटर सडकमा ६ किलोमिटरमा माटो भर्ने काम भइसकेको छ। अब बस्तीमा मात्र काम बाँकी रहेको उनको भनाइ छ। बस्तीमा पनि घर भएकाले ढिलाइ भएको हो। अहिले निर्माणाधीन सडक कृषि सडक योजनामा परेको २६ वर्ष पुग्दा पनि सम्पन्न नभएपछि आफूले बनाउन थालेको उनले बताए।
जनताकै मागबमोजिम आफूले सडक निर्माण गरेको उनले बताए। ‘मैले कुनै अनियमितता गरेको रहेछु भने कारबाही भोग्न तयार छु’, उनले भने, ‘वडाध्यक्षलाई वडाको विकासका लागि ७५ लाख रुपैयाँ दिएको छु। अहिलेसम्म कसैले केही काम गर्न सकेका छैनन्।’
प्रतिक्रिया दिनुहोस !