गुणस्तरहीन खाना खुवाउने होटल-रेष्टुरेन्टमाथि कानुनी कारबाही गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले होटल तथा रेष्टुरेन्टमा दूषित वा गुणस्तरहीन खाना खुवाउने व्यवसायीमाथि कडा कानुनी कारबाही गर्न निर्देशन दिएका छन्।
मन्त्री गुरुङको निर्देशनपछि गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाफदेहितालाई प्रभावकारी बनाउन पत्राचार गरेको छ।
मन्त्रालयले पछिल्लो समय देशभर सञ्चालित केही होटल तथा रेष्टुरेन्टमा खानाको गुणस्तर र सरसफाइ अत्यन्त कमजोर रहेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासा प्राप्त भएको उल्लेख गरेको छ। नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकार सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएकाले नियमित, सघन र आकस्मिक अनुगमन गरी नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने वा प्रचलित कानुन उल्लङ्घन गर्ने व्यवसायीलाई कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिइएको छ।
त्यस्तै प्रत्येक जिल्ला प्रशासन कार्यालयमा हटलाइन वा द्रुत सेवा डेस्कसहितको गुनासो सुनुवाइ संयन्त्र तत्काल स्थापना गर्न, नागरिकबाट प्राप्त हरेक उजुरीलाई उच्च प्राथमिकतामा राखेर तत्काल सम्बोधन गर्न मन्त्रालयले निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा स्थानीय स्तरमै नागरिकका गुनासा र समस्या समाधान गर्नुपर्ने उल्लेख गर्दै सामान्य विषयका लागि मन्त्रालयसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्न जोड दिइएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रभावकारी सेवा प्रवाह गर्दै नागरिकको विश्वास कायम राख्न, बजारमा विधिको शासन स्थापित गर्न र प्रशासनिक जवाफदेहिता सुनिश्चित गर्न गृह मन्त्रालयले निर्देशनको अक्षरशः कार्यान्वयन गर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस !