चन्द्र सूर्य झन्डा बोकी आयो नेपाली

चन्द्र सूर्य झन्डा बोकी आयो नेपाली

काठमाडौं : नेपाली लोकसंगीतको कुरा गर्दा प्रेमराजा महतको नाम अग्रपंक्तिमा आउँछ। उनी चार दशकदेखि नेपाली लोकसंगीतको जगेर्ना गर्न लागिपरेका छन्। अमेरिकाका पीआर होल्डर उनी त्यही बसेर विदेशीमाझ नेपाली संगीत चिनाउने प्रयत्न गरिरहेका छन्। नेपाली सारंगी अमेरिका पुर्‍याए उनले। कहिले अमेरिकी विश्वविद्यालयमा नेपाली लोकसंगीत पढाउन पुग्छन् त कहिले विदेशी माझ नेपाली लोकगीतको कन्सर्ट गुञ्जाउँछन्। कहिले अमेरिकी मेयर तथा नेताको टोलीलाई नेपाल घुम्न पठाउँछन् त कहिले अमेरिकी सञ्चारमाध्यममा लोकगीतकै खुल्ला बहस गराउँछन्। ‘भाषा नबुझ्ने विदेशीहरू जब नेपाली गीतमा झुमेर नाचिरहेका हुन्छन्। तब साँच्चिकै आनन्द लाग्छ’, उनले खुसी व्यक्त गरे।

नेपाल दुखेको बेला उनी सुटुक्क आइपुग्छन्। दुःख पाएका नेपालीलाई मलम लगाउन जुट्छन्। २०५३ सालमा अमेरिका छिरेका महत अहिलेसम्म लोकगायनमै सक्रिय छन्।

केही दिनअघि उनले नेपालको कालापानी खोसिएको समाचार सुने, अशान्त बने। देशको जग्गा चुँडियो, नक्सा कँुडियो भन्ने सुन्दा उनको मन पनि कुँडियो। यही बेला हो देशका लागि गर्ने भन्दै उनी अहिले नेपाल आइपुगेका छन्। गायक भएकाले गीतबाटै नेपालको रक्षा गर्ने योजना बनाए। देशमा परिवर्तन ल्याउन कलाकारले सधैं साथ दिँदै आएका छन्। कलाकारलाई यस पटक फेरि देशका लागि जगाउनुपर्छ भन्दै उनी जगमगाए। गीतसंगीतकै माध्यमबाट नेपालीलाई जुट्न आग्रह गर्दै बुधबार उनले आफ्नो पछिल्लो गीत ‘आयो नेपाली’ सार्वजनिक गरे। केही दिनमा ‘लाम माया छपक्कै’ बोलको गीत सार्वजनिक गर्ने तयारीमा छन्।

‘आयो नेपाली हो, आयो नेपाली

चन्द्र सूर्य झन्डा बोकी आयो नेपाली

एक, दुई, तीन, चार, पाँच, छ, सात

कहिल्यै पछि हट्दैन यो नेपालीको जात’। उनी यसरी जनता जगाउँदैछन्।

तनहुँको ढोरफिर्कीमा जन्मिएका हुन् महत। उनका बुवा गाउँका जिम्बाल थिए। उनी कान्छा छोरा हुन्। घरमा सांगीतिक माहोल थियो। दुईजना गन्धर्व दाइहरू सारंगी बजाइरहन्थे। सारंगीको धुनसँगै लोकजीवनका घटना, भगवान्का कथा, माया पिरतीका गीत पनि सुन्न पाउँथे महत। सारंगीको धुन सुनेर हुर्किएकाले होला उनलाई लोकगीत र लोकसंगीतप्रति विशेष लगाव थियो। फुर्सदको समय सारंगी बजाउन सिक्थे। यही बाजा बजाउँदै उनले अमेरिकामा निकै पटक स्टेज तताएका छन्।

पहराको रूखबाट सारंगी बन्छ, बजाउँदा पनि पहाडको पहरा, कन्दरा र खोचको वास्तविक धुन आउँछ। यसले पुरानो संस्कृति बोकेर हिँड्छ। नेपालीको मौलिक बाजाका रूपमा कलात्मक र सुन्दर बाजा हो सारंगी।

गाउँमै एसएलसी पास भएपपछि उनी पढ्न काठमाडांै आए। रेडियो नेपालमा सांस्कृतिक विभागमा रहेर काम गरे। सिमसिमे पानीमा, हिँउचुलीमा हिउँ, पानको पात, बाँझोखेतमा जस्ता चर्चित गीत ल्याए। उनका गीत आज पनि उत्तिकै लोकप्रिय छन्। रेडियो नेपालबाट बज्ने यी गीत सुनेर उनलाई देशभरका संगीत पारखीले पत्र पठाउँथे। काठमाडांै आउँदा रेडियो नेपालमा भेट्न पुग्थे। नेपाल टेलिभिजनको स्थापनापछि लोकलहरी कार्यक्रममार्फत दर्शकसँग प्रत्यक्ष जोडिने मौका पाए।

सात वर्षदेखि उनी अमेरिकाका लागि नेपाल सरकारका तर्फबाट महावाणिज्य दूत छन्। नेपालको संस्कृतिको पहिचान र पर्यटनको क्षेत्रमा काम गरिरहेका छन्। नेपाल हाउस नामक रेस्टुरेन्ट सञ्चालन गरेर अमेरिकामा रहेका नेपालीलाई आतिथ्य पस्किरहेका छन्। अमेरिकामा दुःख पाएका नेपालीलाई सहयोग गरिरहेका छन्। अमेरिकामा हिमालय कल्चरल गु्रप सञ्चालन गरेर संगीत कर्ममा सक्रिय छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.