किन सम्झने भानुलाई
आदिकवि भानुभक्त आचार्य (विसं १८७१–१९२५) को जन्मथलो तनहुँको चुँदीरम्घा गाउँ हो। भानु जयन्तीभन्दा अघिपछिका समयमा भानुलाई सम्झिराख्ने टन्टो गरिराख्नुभन्दा वर्षको एकपटक असार २९ गते यसो केही लेखेपछि तारिख थाम्ने काम पूरा भएजस्तो ठान्ने प्रवृत्ति नेपाल सरकार तथा गैरसरकारी र सामुदायिक क्षेत्रमा पनि भए झैं लाग्छ। यस्तै कर्मकाण्ड पंक्तिकारले पनि पूरा गर्दै छ।
बाजेबाट संस्कारित
जुम्लाको सिन्जा क्षेत्रमा प्रारम्भिक अवस्थिति बनाई कालान्तरमा तनहुँको चुँदीरम्घामा मूल घर कायम गर्ने कौण्डिन्य गोत्री आचार्यका मूल पुरुषका रूपमा श्रीकृष्ण आचार्य (विसं १८१०–१८८९) लाई लिइन्छ। अग्निश्वरोपाध्यायका सन्तति शिशु अवस्थामै मर्ने गरेकाले श्रीकृष्ण जन्मेपछि त्यतिबेलाको चलनअनुसार उनलाई गोबरसँग जोखिएको थियो। यसो गर्दा बच्चा बाँच्न सक्छ भन्ने लौकिक विश्वास थियो। बालक श्रीकृष्णलाई जोखेर बचाइएको हुनाले स्थानीय इष्टमित्र छरछिमेकले यिनलाई जोखुपाध्ये पनि भन्ने गर्थे।
श्रीकृष्णभन्दा पहिले आठौं पुस्तामाथि सूर्योपाध्यायसम्म चुँदीरम्घाको आचार्य वंशावलीमा एकसरो नाम समावेश भएको छ। तर तिनका सन्तानबारे खासै सूचना पाइएको छैन। नक्षत्र बलिदान विधि, कपुृर स्तोत्र, तीर्थ श्राद्ध, कार्तिक महात्म्य, ज्योतिष रत्नमाला आदि पुस्तक श्रीकृष्णले कतिपय आफैं रचेका र कतिपय अनुसारित गरी संग्रहित गरेका थिए। यस्ता बाजेको अधीन, अनुशासन र अध्यापन भानुभक्तका लागि निकै उपयोगीसिद्ध भयो।
नेपाली भाषामा रामायण लेखेर भाषिक, साहित्यिक र सांस्कृतिक हिसाबले नेपाललाई एकीकरण गर्न सकेका भानुको देन राष्ट्रियताका सन्दर्भमा उच्चतम रहिआएको छ। कविवर भानुभक्तले आफ्नो परिचय दिँदा उनी बाजे श्रीकृष्ण आचार्यका नाति भएको कवितामा यसरी उल्लेख गरेका छन्–
पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया
खूब् उच्चाकुल आर्यवंशि हुन गै सत्कर्ममा मन् दिया।
विद्यामा पनि जो धुरन्धुर भई शिक्षा मलाई दिया
उन्को नाति म भानुभक्त भनी हूँ यो जानिचिन्ही लिया।।
भानुभक्तले बाजेका नामबाट आफ्नो कुलीनता देखाउने चेष्टा गर्दा बाबु धनञ्जयको नाम छायाँमा परेको देखिन्छ। धनञ्जय जागिरे पनि भएका कारण छोराको पढाइ–लेखाइमा त्यति ध्यान दिन सकेका थिएनन् या भानुलाई चाहिने अध्यापनको स्तरीयता यिनबाट निर्बाह हुन गाह्रो भएकाले नै होला, बाजेको नाम अगाडि आएको।
गंगादत्त र भानुभक्त
‘आदिकवि भानुभक्त आचार्यको सच्चा जीवन चरित्र (२०३६ दोस्रो संस्करण)’ का लेखक पं कविराज नरनाथ आचार्यले श्रीकृष्ण आचार्यका ६ भाइ छोरालाई चिनाउन यसरी लेखेका छन्–
जेठाको शुभनाम् धनञ्जय थियो श्रीकाशिनाथ् माहिला
साइँला हुन पद्मनाभ तुलसीराम् जी थिया काइँला
गङ्गादत्तजि ठाहिँला अति ठुला ज्योतीषि व्याकर्णि हुन्
कान्छा इन्द्रविलास खूब रकमी कम्ती रहन्थ्या र कुन् ?
माथिको तेस्रो पंक्तिबाट स्पष्ट थाहा हुन्छ– श्रीकृष्णका छोराहरूमा ठाहिँला छोरा गंगादत्त (विसं १८५२–१९१३) को विद्वता उच्चस्तरको थियो। यसैकारण भतिजा भानुलाई पढाउन यिनको योगदान स्मरणीय छ। यिनी कर्मयोगी, सनातनी, ज्योतिषविद् र व्याकरणका धुरन्धर ज्ञाता थिए। यिनले स्वयं रचित रचना र वेद, भागवत, पुराण, उपनिषद्, कर्मकाण्ड, अमरकोश, कौमुदी, चण्डी, रुद्री, गीता, मुहूर्त चिन्तामणि, अग्निस्थापना, हस्तरेखा विज्ञानजस्ता ग्रन्थ तथा हितोपदेश, पञ्चतन्त्र एवं संस्कृत साहित्यका कविका कृतिहरू लेखोटमा लिपिबद्ध गरी घरमा राखेका थिए।
अंशबन्डा हुँदा श्रीकृष्ण आचार्यको सगोलको घर गंगादत्तका भागमा परेकाले बाजेका पालादेखिकै लेखोट कागजात पनि यिनकै घरमा रहे होलान् भन्ने अनुमान गर्न सकिन्छ। भतिजा भानुभक्तलाई पढाउने क्रममा पनि ती पुस्तक गंगादत्तकहाँ आइपुगेको पनि हुन सक्छ। भानुभक्तले आफ्ना ठाहिँला बालाई लेखेको पत्र पनि गंगादत्तपछिका पुस्ताका घरमा पाइएको छ।
औलो उन्मूलन भएपछि विसं २०२० देखि रम्घा गाम (लेक) बाट स्थायी किसिमले नै बेंसी झर्ने लहरै चल्यो। गंगादत्तका खलक पनि सो घरमा ताला लगाई बेंसी सरे। कोही पनि मान्छे घरमा नबसेको अवस्थामा उट्पट्याङ केटाकेटीले ढुंगा हानी घरको छानो फुटाइदिँदा छानाबाट पानी, हावाहुरी पसेर पुराना कागजात बारी, गराभरि यत्रतत्र छ्यालब्याल भए। मौकाले सो स्थानमा पुगेका केही व्यक्तिले ती अव्यवस्थित हस्तलिखित किताब अथवा लेखोटहरू डोकामा उठाई संग्रह गरी हेर्दा ४४० किसिमका ग्रन्थ सूचीकृत भएको जानकारीमा आयो (डा. जयराज आचार्य, केही नयाँ कुरा, कान्तिपुर, कोसेली २०७० असार २९)। यसरी छरिएकामध्ये पानाहरू जोडी दसपन्ध्र हातजति लामो पट्याएर बनाएको ज्योतिष विज्ञानका कुरा लेखिएको ग्रन्थ पनि रहेको बुझिएको छ (डा. व्रतराज आचार्य)।
यौटा ध्रुवसत्य कुरा के हो भने स्वयं विद्वान् तथा धर्मानुरागी नभइकन त्यस प्रकारका पुस्तकहरूको संग्रह कदापि हुँदैन। यस अर्थमा गंगादत्तका घरमा पाइएका सामग्रीबाटै यस कुराको पुष्टि हुन्छ। भतिजा भानु पनि काकाको अध्यापन कुशलताबाट लाभान्वित नहुने कुरै भएन। पंक्तिकार स्वयंले पनि सो रम्घा गामको मध्यपुरस्थित घरमा एक तलामाथि उक्लनासाथ बायाँतिर मानों पुस्तकालयजस्तो देखिने गरी कोठामा तख्ता बनाई राखिएका ती लेखोट प्रत्यक्ष देखेका थिए।
वास्तवमा व्यक्तिविशेषका घरमा यस्तो राष्ट्रिय सम्पत्ति रहनुभन्दा यसलाई खोजी गरी सुरक्षित राख्नु नेपाल सरकार, प्रज्ञा प्रतिष्ठान, अभिलेखालय, राष्ट्रिय पुस्तकालयजस्ता आधिकारिक निकायको दायित्व हो।
घाँसी–भानु संवाद
घाँसी र भानुको संवाद नेपाली साहित्यिक इतिहासमा यौटा अद्वितीय घटना मान्नुपर्छ। यस्ता क्षणले यौटा अभूतपूर्व आयाम सिर्जना गरिदिन्छ, जसले दर्शन, चेतना र जीवन जगत्प्रतिको दृष्टिकोणलाई अलग किसिमले सोच्न बाध्य गराउँछ। युधिष्ठिर–यक्ष र पृथ्वीनारायण शाह–बिसे नगर्चीबीचको संवादले मानव सभ्यता र राज्य–प्रशासनका परिदृश्यलाई नै भूत र वर्तमानमा विभाजित गरिदिएको हामीलाई थाहा छ।
आफ्नै थातथलो चिनाउने भानुको नाम अन्तर्हृदयमा बसेकाले नै होला सालिक फालिए पनि जनकपुरवासीको जनजिब्रोले त्यस चोकलाई ‘भानुचोक’ भन्न छाडेको छैन।
विचारको प्रार्दुभाव आन्तरिक मनको यौटा मौलिक, निःस्वार्थ र शाश्वत भावबाट हुन्छ, जुन पढेलेखेका व्यक्तिसँग मात्र हुन्छ भन्नु सर्वथा गलत हो। बरु पढेलेखकाले कृत्रिम रूप दिन पनि सक्छन्। घाँसीले आफ्नो तहबाट गर्न सक्ने लोकको हित कुवा खनाउनु थियो भने भानुले रामायण लेख्नु। प्रत्येक व्यक्ति कीर्ति राख्न सक्ने हुनु भनेको असल मान्छे बन्नु र समाजका लागि केही गर्छु भन्ने प्रतिज्ञा वा शपथ हो। भानु–घाँसीको संवादबाट प्राप्त यही प्रेरणा नै भावी पुस्ताका लागि अनमोल उपहार मान्नुपर्छ।
मूलतः घाँसीसँगको कुराकानीपछि भानुले ‘यस् घाँसीले कसरी आज दिएछ अर्ती, धिक्कार हो मकन बस्नु नराखी कीर्ति’ लेखेकोबाट मान्छेले आफ्नो जीवनकालमा कुनै न कुनै कीर्ति राख्ने काम गर्नुपर्छ भन्ने सन्देश अभिभूत गर्न सकिन्छ। कीर्ति भन्नु भावी पुस्ताका लागि उपयोगी र तिनले सम्झने कुनै असल कर्म नै हो।
साना दुक्खले आज्र्याको होइन
भानुभक्तकालीन परिवेश र भाषिक प्रयोग अहिलेको सँग मिल्दैन। आजको स्थिति अबको दुई सय वर्षमा आनको तान फरक पर्छ। तत्कालीन ब्राह्मण समाज मात्रले बुझ्ने संस्कृत भाषामा लिखित अध्यात्म रामायणलाई नेपाली भाषामा तयार पार्दा भानुले पनि समाजबाट कम खप्की खाएका थिएनन्। यस अर्थमा नेपाली भाषाको रामायण भानुभक्तले साना दुक्खले आज्र्याको कृति होइन। राष्ट्र निर्माण गर्ने र राष्ट्रियता बचाउन योगदान गर्ने महान् व्यक्तित्वहरूको आह्वान–भाव एकै खालको हुन्छ भन्ने लाग्छ, ‘सबैलाई चेतना भया।’
धर्मशाला, साउनेपारि र भानुपार्क
धर्मशाला क्षेत्रमा रम्घालीहरूको ठूलै बस्ती थियो। यसैको कुनै एक भागमा रहेको घर ‘शिखर कटेरी’ मा भानुभक्त जन्मेका थिए। गंगादत्तका सन्तानले धर्मशालामा त्यस क्षेत्रकै उदाहरणीय चौतारो बनाएको र अक्षय तृतीयाका दिन खुदो–पानी–सातु वितरण गरी एक महिनाका लागि गामबेंसी गर्ने बटुवाका निम्ति त्यसै चौतारोमा खानेपानी राख्ने गर्दथे। वैशाखको प्रचण्ड गर्मीमा यस्तो सेवा अन्य आचार्य, पण्डित, ढकाल थरकाले पनि गर्न थालेका थिए भन्ने बुझिन्छ। यस्तो धर्मको काम गरिने भएकाले त्यस ठाउँलाई धर्मशाला भन्नु स्वाभाविकै रह्यो।
श्रीकृष्ण आचार्यका ६ भाइ छोराहरू छुट्टीभिन्न हुँदा गंगादत्तका भागमा बेंसीको साउने खोल्सीभन्दा पश्चिमको पुरान्डी (पुरानोडिही) नामको पाखो जग्गा परेको थियो। रम्घाका अरु धेरैजसो आचार्य, पण्डित, ढकाल, नेवार, घर्तीको डिही पूर्वतर्फ रहेकाले तिनीहरूले गंगादत्तका सन्तानलाई साउनेपारिका खलक भन्ने गर्थे, अद्यापि यो छँदै छ।
यिनै साउनेपारिका खलकमा गंगादत्त पछि वेदशर्मा, लक्ष्मीनाथ हुँदै दिग्विजयका सन्तान रामभक्त, विश्वराज, विजयराजले केही निःशुल्क र केही नाममात्रको रकम लिई पुरान्डिहीको १८ रोपनी जग्गा भानुपार्कका लागि प्रदान गरेका छन्। आचार्य वंशको कुलपूजास्थलसँगै रहेको यो पार्क जन्मस्थल भ्रमणमा आउनेका लागि ठूलो आकर्षण बनेको छ।
जनकपुरका भानुभक्त
दुक्ख त यस कुरामा लाग्छ– हाम्रै नेपालको एउटा सांस्कृतिक, धार्मिक नगरी जनकपुरले मधेस आन्दोलनमा भानुभक्तको सालिक गुमायो। भानुले धर्मानुरागी, शालीन र विद्वान् प्रतापि राजा जनक तथा उनकी पुत्री सीता एवं राजा दशरथ, उनका छोरा मर्यादा पुरुषोत्तम रामचन्द्रको गाथा ‘रामायण’ लेखे। संस्कृतमा भएको अध्यात्म रामायणलाई नेपाली भाषामा लेखेर भानुभक्तले पहाडी समुदाय र विश्वलाई जनकपुर–अयोध्या चिनाएका थिए।
भानुभक्तकै रामायणलाई मैथिली भाषामा छायानुवाद गर्ने महोत्तरीका बदरीनारायण बर्मालाई भानु महोत्सवका अवसरमा तनहुँको चुँदीरम्घामा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवद्वारा २०६८ सालमा अभिनन्दन पनि गरिएको थियो। आफ्नै थातथलो चिनाउने भानुको नाम अन्तर्हृदयमा बसेकाले नै होला सालिक फालिए पनि जनकपुरवासीको जनजिब्रोले त्यस चोकलाई ‘भानुचोक’ भन्न छाडेको छैन। भानुको सालिक पुनस्र्थापन गरेपछि मात्रै भानुले जनकपुरलाई लगाएको गुनको शोधभर्ना हुन सक्ला।
सहयोगी हातहरू
हुन त प्रतिभावान् व्यक्तिलाई उसैका सिर्जनाले उजागर गर्छ। तर पनि औपचारिक र अभिलेखबद्ध प्रमाण भने भानुभक्तका पहिलो जीवनीकार मोतीराम भट्टले नै दिएका हुन्। नेपाल सरकार, नेपाली समुदाय, सिक्किम, दार्जिलिङका नेपालीभाषी, गैरआवासीय नेपाली संघ आदिले विद्यालय, संस्था, क्लब, पुस्तकालय आदिसँग भानुभक्तलाई जोडेर अमर बनाएका छन्। हालमा रम्घा डाँडोको धर्मशालामा नेपाल सरकारद्वारा थालनी गरिएको रामायण भवन निर्माणाधीन अवस्थामा छ। सोही क्षेत्रमा ‘शिखरकटेरी’ नामको भानुगृह पनि पश्चिमाञ्चल विकास मञ्चले निकट भविष्यमा बनाउने लक्ष्य राखेको छ।
अन्त्यमा, बेलायतको उत्तर–पश्चिम इलाकामा रहेको वर्डस्वर्थ समाधि क्षेत्र र स्ट्र्याट्फोर्डस्थित संग्रहालयमा परिणत सेक्सपियरको घरघडेरीलाई यस लेखकले केही वर्षअघि प्रत्यक्ष हेर्ने मौका पाएको थियो। भानु जन्मस्थललाई त्यस्तै रूप दिएर साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्न सके काठमाडौं–पोखराको मध्यभागमा रहेको यस स्थानले पनि स्वदेशी–विदेशी पर्यटक तान्न सक्ने प्रशस्त सम्भावना देखिन्छ। यस कार्यमा सरकारी होस्टे, निजी क्षेत्रको हैंसे, लेखक–पत्रकारको प्रचार, समुदायको अग्रसरता र नेतृत्वको प्रतिबद्धता नितान्त आवश्यक छ।
–आचार्य व्यवस्थापनविद् हुन्।
प्रतिक्रिया दिनुहोस !