‘ओमिक्रोन’को त्रास, सिमानामा छैन छेकबार

‘ओमिक्रोन’को त्रास, सिमानामा छैन छेकबार

शिवराज भट्ट/धनगढी, शंकरप्रसाद खनाल/नेपालगन्ज, किशोर बुढाथोकी/विराटनगर, क्रान्ति शाह/वीरगन्ज, सलमान खान/भैरहवा

भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘अ‍ेमिक्रोन’ संक्रमितको संख्या तीन सय नजिक पुगेको छ। दैनिक संक्रमित बढिरहेका छन्। दिल्ली र महाराष्ट्रमा संक्रमित बढी छन्। भारत नेपालसँग सिमाना जोडिएको मुलुक भएकाले नेपालमा सहजै संक्रमण फैलन सक्छ। तर, रोक्न तयारी चुस्त बनाइएको छैन। सीमा नाका खुला छन्। स्वास्थ्य मापदण्ड पालना छैन।

कोरोनाको दोस्रो भेरियन्टमा पनि यस्तै लापरवाही गरिएकाले सुदूरपश्चिममा मात्रै पाँच सयभन्दा बढीले ज्यान गुमाएका थिए। सिमानामा समयमा कडाइ नगर्दा अन्य प्रदेशमा पनि संक्रमण तीव्र गतिमा फैलिएको थियो। अहिले नेपालमा पनि ओमिक्रोनका संक्रमित भेटिएका छन्। सिमाना र विमानस्थलबाट ओमिक्रोन संक्रमित सहजै भित्रने भएकाले संक्रमण रोक्न चुनौती छ। 

कैलालीको गौरीफन्टा नाका हुँदै सहजै आवतजावत भइरहेको छ। बैतडी पुरचौंडीका नरेन्द्र साउद बिहीबार भारतको बेंगलोरबाट यो नाका हुँदै भित्रिए। नाकामा उनको स्वास्थ्य परीक्षण भएन। सिधै अटो रिक्सा चढेर धनगढी बसपार्क पुगे। ‘सामान पनि थियो, भारतमा कोरोना जाँच गरेकै हो, खासै डर छैन। स्वास्थ्य परीक्षण गर्ने झन्झटभन्दा त सिधै अटो चढेर आइयो’, उनले भने। उनी जस्तै यो नाका हुँदै दैनिक सयौं नागरिक नेपाल आउँछन्। सिमानामा स्वास्थ्य परीक्षणको व्यवस्था भए पनि यहाँ परीक्षण गराउने कम छन्। परीक्षण गरिएका र पोजेटिभ देखिएका बाहेक कसैलाई पनि क्वारेन्टाइनको व्यवस्था छैन। उनीहरू सोझै सार्वजनिक यातायात चढेर घर पुग्छन्। 

कैलालीको त्रिनगर नाका नजिकै एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण भइरहेको छ। नेपाली सेनाले निर्माणको जिम्मा पाएको होल्डिङ सेन्टरको भक्तपुरको हनुमान कन्सट्रक्सनले २८ करोड ८१ लाखमा ठेक्का पाएको छ। नेपाली सेनाले नै खोलेको ठेक्कामा हनुमान कन्सट्रक्सनले २०७८ साल असार ३ गते सम्झौता गरेको छ। सेनाले २०७८ को भदौ मसान्तभित्र होल्डिङ सेन्टर बनाइसक्नु भन्दै सम्झौता गरे पनि काम सम्पन्न हुन सकेको छैन। सेनाले २०७८ पुस मसान्तभित्र त्यो सक्ने भन्दै म्याद थप गरी दिएको छ। तर, अहिलेसम्म होल्डिङ सेन्टरको ६५ प्रतिशत मात्रै निर्माण काम भएको छ। संक्रमण उच्च भए यसको विकल्प के हुने प्रदेश सरकारले सोचेको छैन।

सशस्त्र प्रहरीको तथ्यांकअनुसार गौरीफन्टा नाका र गड्डाचौकी नाका भएर मंसिरदेखि पुस ७ गतेसम्म ९९ हजार ७ सय ४८ जना नेपाल भित्रिएका छन्। मंसिरदेखि पुसको ७ गतेसम्म कञ्चनपुरको गड्डाचौकी नाका भएर १५ हजार ४ सय जना र गौरीफन्टा नाका भएर १५ हजार ४ सय ७७ जना भित्रिएका हुन्। यो सुदूरपश्चिमका नागरिकको मात्रै संख्या हो। 

नेपालमा रोजगारी नपाइने भएकाले, खेतीपातीको काम सकेपछि यस क्षेत्रका नागरिक कामका लागि भारत जान्छन्। कोरोना महामारीले उग्ररूप लिएपछि र भारतमा उद्योगधन्दा कलकारखाना बन्द भएपछि मात्रै फर्किने चलन छ। पहिलो र दोस्रो लहरमा पनि भारतबाट लाखौं नेपाली नागरिक घर फर्किएका थिए। त्यतिबेला स्थानीय तह र प्रदेश सरकारलाई उनीहरूको व्यवस्थापनमा हम्मेहम्मे परेको थियो।

वरिष्ठ फिजिसियन डा. शुुभेषराज कायस्थ भन्छन्, ‘ओमिक्रोन भेरियन्टको तयारीका लागि स्थानीय, प्रदेश र संघ सरकारले ढिलाइ गर्नुहुँदैन।’ दोस्रो भेरियन्टका बेला झन्डै एक वर्षको समयमा नेपालमा खासै तयारी नभएका कारण धेरैले ज्यान गुमाएको उनले बताए। सुदूरपश्चिम प्रदेश सरकारले ओमिक्रोनका लागि तयारीमा जुटिसकेको दाबी गरेको छ। सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरबेन्द्रसिंह कार्कीले, ओमिक्रोनको तयारीका लागि अहिले सीमा नाकामा सबैको एन्टिजेन परीक्षण भइरहेको र सबैलाई खोप पनि दिने गरिएको बताए।

बाँकेको जमुनाहा नाकामा गत मंसिर २२ गते कालीकोटका ७० वर्षीय पुरुषको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखियो। नमुना संकलन गरेर राखियो। भारतको उत्तराखण्ड राज्यबाट आएका उनलाई सरासर घर जान दिइयो। २६ मंसिरमा उत्तराखण्डबाट आएका रुकुमका ३६ वर्षका पुरुषमा पनि एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखियो। उनी पनि निर्वाध घर गए। ७ पुसमा बर्दियाका ५० वर्षीय पुरुष पनि कोरोना पोजेटिभ हुँदाहुँदै घर गएका थिए। 

जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार ३ वटा कोरोना पोजेटिभको नमुना हेल्थ डेस्कमा २ सातादेखि अलपत्र छ। ओमिक्रोन प्रभावित भारतबाट आएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएका सबै नमुना संकलन गरेर केन्द्रमा पठाउने सरकारी नीति नै छ। तर, सीमा नाका जमुनाहामा नमुना अलपत्र परेका छन्।  प्रदेश १ को सीमा क्षेत्रमा पनि तयारी फितलो छ। ओमिक्रोनलाई लक्षित गरेर अहिलेसम्म सरकारले प्रभावकारी ढंगले कुनै तयारी थालेको छैन। संक्रमितको उपचार गर्न विगतमा बनाइएका अस्पताल र अक्सिजन प्लान्टलगायतका पूर्वाधारकै भरमा सरकार अहिले पनि छ। 

संक्रमितको उपचारलाई कसरी व्यवस्थित बनाउने भन्ने बारेमा कुनै कार्ययोजना सामाजिक विकास मन्त्रालयले बनाएको छैन। नयाँ भेरियन्ट भित्रिन नदिन सरकारका तर्फबाट सावधानीका कुनै कदमहरू नचालिनु दुःखद् रहेको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल बताउँछन्। विराटनगरस्थित रानीका स्थानीय अगुवा मनोज खड्काले सीमा क्षेत्रबाट भइरहेको निर्वाध आवतजावतलाई रोक लगाउनुपर्ने बताए। स्थानीय प्रशासनको तथ्यांकअनुसार रानी नाका हुँदै दैनिक ७ हजारभन्दा बढीको आवतजावत हुने गरेको छ। 

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भने ओमिक्रोनको त्रास बढेसँगै नेपाल–भारत निर्वाध रूपमा आवतजावत हुने नाकाहरूमा कडाइ गर्दै उच्च सतर्कता अपनाउन थालिएको बताए। आवतजावतलाई व्यवस्थित बनाउने, भारतबाट आएकाहरूको सीमामै एन्टिजेन परीक्षण गर्ने, भीडभाडलाई कम गर्दै लैजाने तथा स्वास्थ्य मापदण्डको पालनामा जोड दिने काम भइरहेको उनले बताए। रिपोर्ट पोजिटिभ आएमा ओमिक्रोन हो कि होइन भनेर यकिन गर्न केन्द्रमा नमुना पठाउन थालिएको जानकारी उनले दिए। हेल्थ डेस्क स्थापनाका लागि विराटनगर महानगरपालिकासँग समन्वय भइरहेको पनि उनले बताए। 

सामाजिक विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पोखरेलका अनुसार ओमिक्रोन नियन्त्रणका लागि प्रदेश सरकारले तयारी थालिसकेको छ। सरकारले विराटनगरमा पहिलो भेरियन्टकै बेला ९६ बेडको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र सञ्चालनमा ल्याएको थियो। संक्रमितले निःशुल्क उपचार पाउने अस्पतालमा जनशक्ति, औषधि, खाद्यान्नलगायतको व्यवस्थापन गरिसकिएको पोखरेलको भनाइ छ। 

वीरगन्ज नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ। भारतबाट लामो यात्रा गरेर नेपाल आउने भारतीय र नेपालीलाई समेत नाकामै स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिइएको छ। वीरगन्ज–रक्सौल नाकामा दिनहुँ हजारौंको आवागमन हुन्छ। तर, त्यहाँ सञ्चालित हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले भने भारतबाट लामो यात्रा गरेर आएकाहरूको मात्र स्वास्थ्य परीक्षण गर्दै आएका छन्। 

मंसिर दोस्रो सातातिर भारतमा ओमिक्रोनका संक्रमित भेटिएपछि, नाकामा निगरानी र स्वास्थ्य परीक्षण कार्यलाई तीव्र पारिएको छ। हेल्थ डेस्क प्रमुख डाक्टर अनिषा महत्तोका अनुसार भारतमा ओमिक्रोनका संक्रमित भेटिएपछि नाकामा निगरानी र स्वास्थ्य परीक्षण कार्यलाइ फेरि तीव्रता दिइएको हो। मंसिर तेस्रो सातायता नाकाको हेल्थ डेस्कमा दैनिक सरदर २ सय जनाको तापक्रम नाप्ने र दैनिक सरदर ५० जनाको एन्टिजेन परीक्षण गर्दै आएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य  अधिकृत जयमोद ठाकुरले बताए। 

हेल्थ डेस्क प्रमुख डा. महत्तोका अनुसार शुक्रबारदेखि नाकामा संक्रमण भेटिएकाहरूको पुनः स्वाब संकलन गरी भेरियन्ट स्टडी(ओमिक्रोन हो कि होइन) भन्ने पुष्टिका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन थालिएको छ। 

वीरगन्ज नाकामै सुविधासम्पन्न होल्डिङ सेन्टर पनि निर्माण भइरहेको छ। भन्सार परिसरमा एक हजार जनालाई राख्न सक्ने क्षमताको होल्डिङ सेन्टर निर्माण भइरहेको हो। कोरोना महामारीको लहर फेरि सुरु भएको खण्डमा त्यसैलाई लक्षित गरी वीरगन्ज नाकामा नेपाल सरकारले २७ करोड रुपैयाँको लागतमा होल्डिङ सेन्टर निर्माण गरिरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए।

रुपन्देहीको सीमानाकामा खासै सतर्कता अपनाइएको छैन। सानादेखि ठूला नाकाबाट सर्वसाधरणको सहजै आवतजावत भइरहेको छ। मास्क, भौतिक दूरी जस्ता सामान्य सतर्कतासमेत अपनाउन छाडिएको छ। सीमापारी बजारमा किनमेल गर्न र स्थानीय स्तरमा आवतजावत गर्न नाकामा कुनै रोकतोक छैन। ‘संक्रमणको रोकथामका लागि टाढाबाट आएकाको नाकामा एन्टिजन परीक्षण भइरहेको छ’, इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक नवीन पौडेलले भने, ‘पोजेटिभ परिणाम आएकालाई व्यवस्थित रूपमा उनीहरूको गन्तव्यसम्म पुर्‍याउने गरिएको छ।’ उनका अनुसार नाकामा दैनिक करिब २ सय जनाको एन्टिजन परीक्षण हुने गरेको र सातामा ३/४ जनाको पोजेटिभ परिणाम आउने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.