फर्किने बढे, भित्रिँदै कोरोना

फर्किने बढे, भित्रिँदै कोरोना

शिवराज भट्ट/धनगढी, शंकरप्रसाद खनाल/नेपालगन्ज, क्रान्ति शाह/वीरगन्ज, सलमान खान/भैरहवा, जितेन्द्रनारायण ठाकुर/विराटनगर 

छिमेकी मुलुक भारतबाट घर फर्किरहेका ठूलो संख्याका नेपालीमा कोभिड संक्रमण भेटिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) व्यापक रूपमा फैलिएपछि नेपालीहरू धमाधम घर फर्किन थालेका छन्। पूर्वको वीरगन्जदेखि सुदूरपश्चिमको गड्डाचौकी नाका भएर घर फर्केका नेपालीमा सीमा नाकामा चेकजाँच गर्दा व्यापक रूपमा कोभिड संक्रमण भेटिएको हो। 

पछिल्ला दिनमा, भारतीय सीमा बजारमा किनमेल गर्न जानेमा पनि कोभिड संक्रमण भेटिन थालेपछि सीमामा कडाइ गर्नुपर्ने स्थिति देखिएको छ। तर, सीमा नाकामा नेपालको पर्याप्त सुरक्षा चेकजाँच र सतर्कता देखिएको छैन। यसबाट, कुनै पनि बेला मुलुकमा भयावह अवस्था नआउला भन्न सकिन्न।

वीरगन्ज नाकाको हेल्थ डेस्कमा भारतबाट आउनेहरूको आइतबार एन्टिजेन परीक्षण गर्दै स्वास्थ्यकर्मी । पछिल्ला दिनमा भारतको सीमावर्ती रक्सौल बजारबाट किनमेल गरेर फर्किनेमा पनि कोभिड संक्रमण देखिन थालेको छ । यो नाकाबाट दैनिक ५ हजार मान्छेको आउजाउ हुने गरे पनि ४ सयको मात्रै परीक्षण हुने गरेको छ । नाकामा परीक्षणको दायरा नबढाउने र थप स्वास्थ्य सतर्कता नअपाउने हो भने स्थिति भयावह बन्ने स्वास्थ्यकर्मीहरू बताउँछन्। तस्बिर : क्रान्ति साह

दैनिक रूपमा हजारौंले नेपाल–भारत सीमा ओहोरदोहोर गर्छन्। तर, सबैको परीक्षण हुन सकेको छैन। चोर बाटोबाट ओहोरदोहोर गर्नेको संख्या पनि उत्तिकै छ। त्यसैले सीमामा हुने यिनै लापरबाहीले संक्रमितको संख्या ह्वात्तै बढेको छ। 

दिनदिनै बढ्दै संक्रमित 
सुदूरपश्चिममा पछिल्लो ६ दिनमा ६ सय ६८ जनामा कोरोना संक्रमण भेटिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पुस २० गते यता भारतबाट स्वदेश फर्किरहेका नेपालीमा कोरोना बढी देखिन थालेको हो। कञ्चनपुरको गड्डाचौकी र कैलालीसँग सीमाना जोडिएको गौरीफन्टा नाकामा गरिएको एन्टिजेन परीक्षणमा भारतबाट आउने नेपालीमा कोरोना देखिएको हो।

अहिले सुदूरपश्चिमका सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र केही जिल्ला अस्पतालहरूमा पीसीआर जाँच भइरहेको छ। निर्देशनालयले आइतबार मात्रै ६२ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ। विभिन्न अस्पतालमा गरिएको १५ जनाको पीसीआरमा ९ जना र सीमा नाकासहित अस्पतालहरूमा गरिएको १० हजार ४५ जनाको एन्टिजेन परीक्षणमा ५३ जनामा कोरोना पोजेटिभ देखिएको हो। 

स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख ओमप्रकाश जोशीले पुसको २० गतेपछि कोरोना बढ्न थालेको बताए। सुदूरपश्चिम प्रादेशिक प्रयोगशालाले अहिलेसम्म तीन पटक ५ जना, १३ जना र १ सय ४६ जना गरी १ सय ६४ जनाको नमुना केन्द्रीय प्रयोगशालामा पठाएको जनाएको छ। पहिलो पटकको ५ र १३ गरी १८ जनामा ओमिक्रोन भेटिएन, १ सय ४६ जनाको भने रिपोर्ट आएको छैन, प्रादेशिक प्रयोगशाला धनगढीका प्रमुख रामप्रसाद ओझाले भने। 

प्रदेश सरकारले पनि सीमा क्षेत्रमा कडाइ गरिएको जनाएको छ। प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले सीमा नाकाबाट आउने प्रत्येकको एन्टिजेन परीक्षण भइरहेको जनाए। सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. निसान भट्टराईले ओमिक्रोन भारतमा धेरै फैलिसकेकाले त्यसलाई नेपालमा फैलिन नदिन सरकार समयमै सचेत हुनुपर्ने बताए।

किनमेल गर्न जानेमा पनि संक्रमण  
वीरगन्ज नाकाबाट दैनिक हजारौंको संख्यामा नेपालीहरू भारतीय सीमा बजारमा किनमेल गर्न जान्छन्। रक्सौलमा दैनिक उपभोग्य सामान किनमेल गरेर फर्किनेहरूमा पनि कोरोना संक्रमणदर उच्च देखिन थालेको छ।

यसअघि नाकाको हेल्थ डेस्कमा भारतबाट लामो यात्रा गरेर नेपाल प्रवेश गर्नेहरूको मात्र एन्टिजेन परीक्षण हुँदै आएको थियो। पछिल्लो ३÷४ दिन यता सीमावर्ती बजार रक्सौलमा किनमेल गर्न जानेहरूको पनि परीक्षण गर्न थालिएपछि कोरोना संक्रमण पुष्टि हुनेमा अधिकांश पर्सा र बाराका स्थानीयवासी छन्। 

आइतबार अपराह्नसम्म मात्रै नाकाको हेल्थ डेस्कमा ४ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण भेटिएको छ। तीमध्ये २ जना मात्र भारतीय नागरिक हुन्। बाँकी ६ जना पर्सा, बारा र मकवानपुरका हुन्। उनीहरू सबै आइतबार रक्सौलबाट किनमेल गरेर फर्र्केका थिए। हेल्थ डेस्क इन्चार्ज डा.अनिषा महतोले पुस ९ गते यता ५४ जनामा संक्रमण भेटिएको जानकारी दिइन्। 

परीक्षण ४ सयको मात्रै 
पर्सा र बाराका स्थानीयमा संक्रमण देखा पर्न थालेपछि वीरगन्ज नाकाको हेल्थ डेस्कमा दुई दिन यता परीक्षणको दायरा बढाइएको छ। गत शुक्रबारसम्म दैनिक १ सय ५० देखि २ सयसम्मको मात्र परीक्षण हुने गथ्र्यो। शनिबारदेखि दैनिक ४ सय जनाको हाराहारीमा परीक्षण गर्न थालिएको छ। नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्जमा दैनिक कम्तीमा ५ हजार मानिसको नेपाल भारत ओहोर दोहोर गरे पनि परीक्षण पर्याप्त छैन। 

भारतमा आउने सबैको एक÷एक गरेर परीक्षण गर्ने हो भने नाकामा अहिलेको हेल्थ डेस्क जस्तो कम्तीमा १० वटा र ४०÷५० जना सुरक्षाकर्मी थप्नुपर्ने इनर्वा नाकास्थित सीमा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक हीरा बुढाथोकीले बताए। नाकामा परीक्षणको दायरा अझ बढाउन नसक्ने हो भने स्थिति भयावह हुने जोखिम उच्च रहेको उनको भनाइ छ। 

संक्रमित व्यवस्थापनमा समस्या
वीरगन्ज नाकाको परीक्षणमा कोरोना पोजेटिभ देखिएका संक्रमितको व्यवस्थापनमा पनि भद्रगोल देखिएको छ। भारतीय संक्रमितलाई सीमावर्ती रक्सौलका भारतीय प्रहरीले जिम्मा लिन नमानेका कारण यस्तो समस्या देखिएको हेल्थ डेस्क इन्चार्ज डा. महतोले बताइन्। उनका अनुसार नेपाली संक्रमितको व्यवस्थापनमा पनि उस्तै समस्या छ। 

नाकामा संक्रमण पुष्टि भएका संक्रमितको व्यवस्थापन र परीक्षणमा समस्या भइरहँदा पनि जिल्लाको कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिले कुनै सुनुवाइ नगरेको उनको गुनासो छ। यस्तै परिस्थिति रहिरहे पहिलेको जस्तै संक्रमणको महामारी फैलिएर वीरगन्ज फेरि ‘हटस्पट’ बन्ने सम्भावना रहेको डा. महतोले बताइन्। 

भारतीय पर्यटकमा संक्रमण 
भारतको महाराष्ट्रबाट नेपाल भ्रमणका लागि भारतीय पर्यटक सवार एउटा गाडी शनिबार रुपन्देहीको बेलहिया नाकामा आइपुग्यो। सुरक्षाकर्मीले गाडीलाई नाकामा रोक्न लगाए। गाडीमा सवार केही नागरिकको एन्टिजन विधिबाट कोरोना जाँच गरियो। चालकमा संक्रमण देखिएपछि यात्रु सवार गाडीलाई नाकाबाटै फिर्ता पठाइयो।

त्यस्तै भारतबाट नेपाल भ्रमणका लागि मुलुक प्रवेश गर्न लागेको २१ जनाको टोलीलाई पनि सुरक्षाकर्मीले बेलहिया नाकामा रोके। आवश्यक सोधपुछ गरे। र, बेलहिया हेल्थ डेस्कमा उनीहरूमध्ये केही व्यक्तिमा कोरोना परीक्षण गरियो। सात जनामा कोरोना संक्रमण देखिएपछि उनीहरूलाई मुलुक प्रवेशको अनुमति दिइएन।

झिँटीगुन्टा बोकेर स्वदेश फर्किने नेपाली र विदेशी पर्यटकहरूको नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण हुँदै आएको छ। स्वदेशीमा संक्रमण देखिए अवस्थाअनुसार सुरक्षित रूपमा उनीहरूको गन्तव्यसम्म पुर्‍याइने र भारतबाट आउने पर्यटकहरूमा संक्रमण देखिए उनीहरूलाई नाकाबाट नै फर्काउने गरिएको रुपन्देहीको 

इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक नवीन पौडेलले जानकारी दिए। कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, संघ–संस्थाका कर्मचारी खटिएका छन्।

बेलहियामा सर्वसाधारणलाई छुट  
भारतमा रोजगारी गरेर फर्केका नेपाली र भारतीय पर्यटकमा  संक्रमण भेटिन थालेको छ। उनीहरूको एन्टिजेन विधिबाट कोरोना जाँच हुने भए पनि स्थानीय सर्वसाधारणलाई नाकाबाट आवतजावतमा कुनै रोकटोक छैन। यसले पनि संक्रमणको जोखिम बढेको ओमसतिया गाउँपालिकाका अच्यूत आचार्य बताउँछन्। नाकाबाट आवतजावत गर्ने अधिकांश सर्वसाधारणले स्वास्थ्य मापदण्डको पालना नगर्ने गरेको पाइएको छ। बेलहिया नाकाबाट दैनिक हजारौं व्यक्ति आवतजावत गर्छन्। रुपन्देहीको बेलहिया नाकामा सतर्कता अपनाइए पनि अन्य साना नाकाहरूबाट सहजै आवतजावत भइरहेको छ। 

नाकामा एन्टिजेन परीक्षणको दायरा बढाउँदा संक्रमितको दर पनि बढेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए। नाकाबाट आवतजावत गर्ने सबैको कोरोना परीक्षण हुँदैन। केही समय यता नाकाबाट संक्रमित यात्रु प्रवेश गर्नेको संख्या बढ्दै गएको देखिएको छ। परीक्षणको क्रममा संक्रमण देखिए पहिचान हुने, नभए नहुने अवस्था छ।

नाकाबाट संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सतर्कताका साथै एन्टिजेन परीक्षणको दायरा बढाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए। उनले संक्रमित नेपाली यात्रुहरूका लागि होल्डिङ सेन्टर र आइसोलेसन सेन्टर सञ्चालनको तयारी सुरु भएको बताए। साथै सुरक्षित रूपमा उनीहरूको गन्तव्यसम्म पुर्‍याउन  यातायातको व्यवस्थासमेत मिलाउने तयारी भएको छ।

‘यसका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यातायात र आइसोलेसनका लागि होटल व्यवसायीसँग समन्वय गर्ने र नाकामा कडाइ गर्नेलगायतको निर्णय गरेको छ’, उनले भने।

साथै उनले जिल्लामा भएका सबै स्वास्थ्य संस्था र अस्पतालहरूलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए। उनका अनुसार शनिबारसम्म जिल्लामा ५४ जना मात्र कोरोना संक्रमित छन्। त्यसैगरी नेपालगन्जको जमुनाहा नाकामा आइतबार ७ सय ८० जनाको परीक्षण गरिएकोमा ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ। जसमध्ये १४ महिला र २७ पुरुष छन्। 

छैन सावधानी 
पूर्वी नेपालको प्रमुख नाका विराटनगरको रानीबाट दैनिक हजारभन्दा बढी ओहोरदोहोर गर्ने गरेका छन्। तर, नयाँ भेरियन्ट ओमिक्रोन फैलनबाट रोक्न कुनै सावधानी अपनाइएको छैन। 

विराटनगर महानगरपालिकाले एक हेल्थ डेस्क स्थापना गरे पनि भारतबाट आउने यात्रुको कोरोना परीक्षण नगराई नेपाल सहजै प्रवेश गर्ने गरेका छन् ।

भारतीय रेल आएको बेला डेस्कमा कार्यरत कर्मचारीहरूले स्थानीय प्रहरीको सहयोगमा कोरोनाको एन्टिजेन चेक गर्ने गरेका छन्। भारतबाट आउनेको दैनिक रूपमा १ सयको हाराहारीमा हेल्थ डेस्कमा परीक्षण गर्ने गरेको त्यहाँ कार्यरत चिकित्सक सुरेन्द्र यादवले जानकारी दिए। उनका अनुसार हेल्थ डेस्कमा कोरोनाको एन्टिजेन परीक्षणबाट पुस महिनामा मात्र २२ जनामा कोरोना पोजेटिभ देखिएको हो । १२ जना भारतीय सहित १० जना नेपालीमा कोरोना भेटिएको उनले जानकारी दिए। 

हेल्थ डेस्कले भारतीय नागरिकमा संक्रमण भेटिए उतै फिर्ता गर्ने गरेको छ भने नेपालीलाई होम आइसोलेसनमा पठाउने गरेको छ। यादवले भने, ‘चेकजाँज गर्न आफंै कोही आउँदैनन्। लामो दूरीको यात्रा गरेर आएको हुलियाका आधारमा चेक गर्ने गरेका छौं।’ होम आइसोलेसनमा पठाएका व्यक्ति पनि खुला रूपमा बस्ने गरेको स्थानीयहरू बताउँछन्। 

प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवले प्रदेशको १४ वटै जिल्लामा रहेको अस्पताल एवं जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताए। ‘हामी सजग हुनुपर्ने अवस्था आएको छ’, मन्त्री यादवले भने, ‘नयाँ भेरियन्ट देखा परेको अवस्थामा सरकारी संयन्त्र मात्र होइन सबै प्रकारका संयन्त्र परिचालित गरेर नियन्त्रणमा राख्ने तयारीमा छौं।’ मन्त्री यादवले कोभिड अस्पतालसँगै अन्य उपचारमा लाग्ने औषधिहरूको व्यवस्थापनामा कुनै कमी नहुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.