‘फुट रोक्न नसक्दा दुःख’
काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले पार्टी एकता बचाउने आफ्नो कोसिस असफल भएको भन्दै दुःख व्यक्त गरेका छन्। बुधबार पत्रकार सम्मेलन गरी ओलीले नयाँ पार्टी गठन प्रक्रियामा लागेका वरिष्ठ नेता माधव नेपाल र सभामुख अग्नि सापकोटाप्रति आक्रोश पोखे। ‘पार्टी प्रमुख भएकाले मैले बचाउने कोसिस गर्दागर्दै पनि पार्टी बचाउन नसकेकोमा दुःखी छु,’ ओलीले भने।
नेताहरूलाई रिसोर्टमा थुनेर नयाँ पार्टी गठनका लागि सनाखत गर्न लगाइएको ओलीले आरोप लगाए। एमाले नेताहरूलाई बलजफ्ती रिसोर्टमा लगेर बन्धक बनाएको ओलीले आरोप लगाए। ‘बैठक भनेको एक लेभलको हुन्छ, ओलीले भने, ‘साधारण सदस्यदेखि आफूलाई अध्यक्ष भनेको मान्छेसमेत भएको कस्तो बैठक हो ?’
घेराबन्दी गरेर घर–घरबाट कार्यकर्ता रिसोर्टमा लगेर राखेको ओलीको आरोप छ। ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाए। नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै ओली सभामुखमाथि खनिएका थिए। ‘लेखराज भट्टजीहरूलाई कारबाही गर्दा माओवादीको केन्द्रीय कमिटीले निर्णय गरेको होइन,’ उनले भने, ‘नेकपा एमालेले गरेको कारबाही ९ दिनसम्म थन्क्याएर दाँत टाल्न जानुभयो। मेरो शुभकामना छ, दाँत राम्रोसँग टालियोस्।’ सभामुख सापकोटा निष्पक्ष हुन नसकेको उनको आरोप थियो।
प्रवक्तामा भट्टराई
एमालेले पार्टी सचिव योगेश भट्टराईलाई प्रवक्ता तोकेको छ। जेठ २ अघि भट्टराई प्रचार विभाग प्रमुख एवं प्रवक्ता थिए। २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेकपा बनेपछि उनी प्रवक्ताको जिम्मेवारीबाट हटेका थिए। सर्वोच्चको फैसलाअनुसार नेकपा एकता भंग भई एमाले र माओवादी केन्द्र छुट्टिएपछि प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकिएको थियो। विगतमा वरिष्ठ नेता माधव नेपाल पक्षधर भट्टराईसहितका नेताहरू पुनः पार्टीमै फर्केपछि जेठ २ अघिकै जिम्मेवारी र पद फर्काइएको हो।
प्रतिक्रिया दिनुहोस !