राप्रपाले सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै स्थानीय तहमा उमेदवार खडा गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सबै पालिका तथा वडामा उम्मेदवारी दिने निर्णय गरेको हो ।
बैठकले पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउने निर्णय गरेको छ । यस्तै, बैठकले पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे जनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकले पार्टीलाई अनुशासित, मर्यादित बनाउन र पार्टी हित विपरीतका गतिविधिलाई निरुत्साहित गर्न वरिष्ठ नेता नवराज सुवेदीको संयोजकत्वमा प्रवक्ता भक्तिप्रसाद सिटौला र वरिष्ठ अधिवक्ता राजु बस्नेत सदस्य रहेको तीन सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, पदाधिकारीहरु र प्रदेश कार्य समिति अध्यक्षहरुको उपस्थिति रहेको थियो । बैठकले पार्टीको केन्द्रीय कार्यसमिति बैठक फागुन ११ गते बुधबार काठमाडौंमा बस्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस !