सदाबहार तर विश्वकपमा असफल बेल्जियम

सदाबहार तर विश्वकपमा असफल बेल्जियम

ब्रसेल्स : बेल्जियमलाई फुटबलको एउटा एकेडेमीभन्दा पनि फरक पर्दैन । बेल्जियमले आफ्नो मात्रै हैन, अन्य देशबाट पनि प्रतिभा छानेर अन्तर्राष्ट्रिय फुटबललाई थुप्रै उत्कृष्ट फुटबलर दिएको छ । फुटबलको यही वातावरणले बेल्जियमको राष्ट्रिय टोलीलाई सदाबहार र उत्कृष्ट मानिन्छ । बेल्जियम फिफा वरीयतामा पनि प्राय: शीर्ष पाँचभित्रै रहने गर्छ । तर, यही टोली अन्तर्राष्ट्रिय ठूला प्रतियोगितामा भने उपाधिको नजिक पनि पुग्न सक्दैन ।

बेल्जियम सन् १९३० यता १३औं पटक विश्वकपमा सहभागी हुँदैछ । तर, बेल्जियमले सन् १९८६ मा चौथो स्थान हात पार्नुबाहेक विश्वकपमा त्योभन्दा ठूलो नतिजा हात पार्न सकेको छैन । बेल्जियमले विश्वकपमा त्यही एकपटक सेमिफाइनलमा प्रतिस्पर्धा गरेको थियो । त्यसयता बेल्जियम क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन । बेल्जियम सन् २०१४ मा ब्राजिलमा भएको २०औं संस्करणमा अर्जेन्टिनासँग पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको थियो । त्यसपछि सन् २०१६ मा भएको युरोकपमा पनि वेल्ससँग ३-१ ले पराजित हुँदै क्वार्टरफाइनलबाटै घर फर्कियो ।

त्यसैले रुस विश्वकपमा बेल्जियममाथि आफ्नो यही खराब इतिहासलाई सुधार्नु पर्ने चुनौती रहेको छ । रुस विश्वकपका लागि घोषित अन्तिम २३ खेलाडी र विश्वकप छनोटदेखि पछिल्लो मैत्रीपूर्ण खेलसम्म देखाएको लयलाई हेर्दा बेल्जियम यसपटक हरेक चुनौती पार गर्न सक्षम देखिएको छ । बेल्जियमको वर्तमान टोली पछिल्लो पुस्ताका उत्कृष्ट खेलाडीले भरिएको छ । टोलीमा एकजना घरेलु लिग र दुईजना चिनियाँ लिग खेल्ने खेलाडी छन् । अन्य २० जना भने युरोपियन लिगमा खेलिरहेका खेलाडी छन् । टोलीमा इङ्लिस प्रिमियर लिग क्लबबाट खेल्ने मात्रै ११ जना खेलाडी छन् ।

बेल्जियम सम्भवत: ३० मध्ये २८ अंक हात पार्दै रुस विश्वकपका लागि छनोट पक्का गर्ने एकमात्र युरोपियन टोली पनि हो । बेल्जियमले छनोट चरणमा ग्रिससँग १-१ को बराबरीसहित अंक बाँड्योे भने अन्य सबै खेलमा जित हात पारेको थियो । त्यसपछि विश्वकपको तयारी स्वरूप खेलिएको खेलमा पनि बेल्जियमले शतप्रतिशत नतिजा निकालेको छ । विश्वकप छनोटपछि खेलिएको पाँच मैत्रीपूर्ण खेलमा बेल्जियमले पराजय बेहोरेको छैन । बेल्जियमले जापानलाई १-०, साउदी अरेबियालाई ४-० र इजिप्टलाई ३-० ले पराजित गरेको थियो । बेल्जियमले मेक्सिकोसँग ३-३ र पोर्चुगलसँग गोलरहित बराबरी खेलेको थियो । पराजित नहुने आफ्नो यही लयलाई कायम राख्न सकेमा बेल्जियमले आगामी विश्वकपमा उपाधिसम्मको यात्रा तय नगर्ला भन्न सकिन्न ।

बेल्जियमको टोली

गोलरक्षक : थिबउट कोर्टियस (चेल्सी), सिमोन मिग्नोलेट (लिभरपुल) र कोइन क्यास्टिल्स (उल्फसबर्ग) ।

रक्षक : टोबी अल्डरवेइरेल्ड (टोट्टानहाम), थोमस भर्मेइलिन (बार्सिलोना), भिनसेन्ट कोम्पनी (म्यानचेस्टर सिटी), जन भर्टाेङ्घन (टोट्टनहाम), थोमस मुनियर (पीएसजी), डेड्रिक बोयटा (सेल्टिक) र लिन्डर डेन्डोन्कर (एन्डरलेच) ।

मिडफिल्डर : एक्सेल विसल (तियानजिन क्वान्जियन), केभिन डी ब्रुन (म्यानचेस्टर सिटी), मारउनी फेलाइनी (म्यानचेस्टर युनाइटेड), यान्निक कारास्को (डालियन विफाङ), थोर्गन हाजार्ड (बोरुसिया मोचेनग्लाबाच), युरी टाइलम्यान्स (एएस मोनाको), मोउसा डेम्बेल (टोट्टनहाम) र नासिर चाड्ली (वेस्ट ब्रोमविच) ।

स्ट्राइकर : अदनान जानुजाज (रियल सोसिडाड), रोमेलु लुकाकु (म्यानचेस्टर युनाइटेड), ड्राइज मेर्टन्स (नेप्लेस), मिची बात्सुयी (बोरुसिया डर्टमन्ड) र इडेन हाजार्ड (चेल्सी) ।

प्रशिक्षक : रोबर्टो मार्टिनेज

बेल्जियमको खेल

समूह ‘जी’

जुन १८ : पानामाविरुद्ध

जुन २३ : ट्युनिसिया

जुन २८ : इङ्ल्यान्डविरुद्ध

बेल्जियम

विश्वकप सहभागिता : १३औं पटक

उपलब्धि : चौथो स्थान (सन् १९८६)

फिफा वरीयता : ३
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.