नेपाललाई दक्षिण एसियाकै आईटी हब बनाउने ओलीको प्रतिबद्धता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई डिजिटल क्षेत्रमा अघि बढाउँदै दक्ष जनशक्ति विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार ‘आईटी उद्यमीसँग प्रधानमन्त्री’ कार्यक्रममा उनले ‘डिजिटल नेपाल’ अवधारणाबारे जानकारी दिँदै नेपाललाई दक्षिण एसियाको आईटी हब बनाउने प्रतिबद्धता जनाएका छन्। उनले युवाको प्रतिभा सदुपयोग गर्ने र रोजगारी सिर्जना गर्ने योजनाहरू अघि सारे। प्राचीन ज्ञान र प्रविधिलाई समाहित गर्दै देशलाई प्रविधिको अग्रपङ्क्तिमा पुर्याउने संकल्प व्यक्त गरे । उनले आईटी क्षेत्र अघि बढाउने प्रयास र सो अलिक अगाडिदेखि नै थालेका बताए। ‘यो आईटी शताब्दीऔं पुरानो चिज होइन। यो बीसौं शताब्दीको उपज हो र बीसौं शताब्दीको पनि सेकेन्ड हाफमा कम्प्युटर इन्जिनियरिङसँगै यसको विकास बढी तीव्रताका साथ भयो’, उनले भने। उनले टेलिभिजनको विकासको उदाहरण प्रस्तुत गरे।
‘१९६० को दशकमा हामी पनि रेडियो सुन्थ्यौं। हामी कल्पना गर्दथ्यौं, यो बोल्ने मान्छेको आवाज आउँछ भने चित्र पनि आउन सक्छ होला भनेर। त्यतिबेला हामीले थाहा नभएको रहेछ, त्यति बेला ब्ल्याक एन्ड ह्वाइटबाट कलर टेलिभिजनको जन्म भइसकेको रहेछ।’ उनले भने, ‘तर, हामी टेलिभिजनको कल्पना गर्दै थियौं कि मान्छेको चित्र नै आउन सक्छ कि भनेर। हामी केटाकेटी र साना युवाहरू कुरा गर्दा त्यसरी गर्दथ्यौं। पछि हामीहरू पनि हुर्किँदै गयौं र आइटी क्षेत्र पनि विश्वमा हुर्किँदै गएछ। म त जेल परेँ, धेरै थाहा पनि भएन। जब म जेलबाट छुटेँ, धेरै कुरा थाहा भयो।’ उनले मुलुकमा परिवर्तन ल्याउने गरी आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नयाँ सोचहरू अगाडि सारेको जानकारी दिए। प्रधानमन्त्री ओली त्यो संविधान जारी गर्न नदिने प्रयास असफल पारेको समेत बताए।
‘संविधान मुस्किलले जारी गर्यौं, जारी गर्नेबित्तिकै पाँच महिनासम्म नाकाबन्दी भयो। नेपाली समाज पानीबाट निकालेको माछा जस्तो भयो ’, उनले भने। उनले २ सय मेघावाटको हारहारीमा रहेको विद्युत्लाई अहिलेका अवस्थामा पुर्याइएको पनि बताए। उनले आफूले नै प्रतिकूल स्थितिबाट अगाडि बढाउन मेजर गेम चेन्जिङ खालका कुराहरू अगाडि सारेको बताए।
उनले २०७४ सालमा चुनावबाट आफूले तीन वर्ष समय पाएको पनि बताए तर त्यो समयमा सजिलोसँग काम गर्न नपाइएको गुनासो पनि सुनाए । ‘यता खुट्टा तान्दै छ, यता अगाडि बढ्दै छ, खुट्टा तान्दै छ, अगाडि बढ्दै छ गरेर पनि हामीले केही कुराहरू गर्यौं र डिजिटल नेपालको कन्सेप्ट ल्यायौं’, उनले भने।
अघिल्लो सरकारको पालमा नै डिजिटल नेपालको कार्यान्वयनका लागि फ्रेमवर्क पनि बनाएको अवगत गराए। ‘यी सबै कुराका दुई तीनवटा पाटाहरू थिए। तपाईंहरूले बीपी यो भन्नु हुन्छ, केपी यो भन्नु हुन्छ, नलेजसम्बन्धी, बिजनेससम्बन्धी अथवा अर्को सेक्टरहरूसम्बन्धी। यसमा हरेकसँग पुग्ने एक्सेस र क्यापासिटी बढाउने, यो बिजनेसका लागि हो। यो विकासका लागि हो। यो सबैका लागि हो।’ उनले भने, ‘आईटी फर अल, आईटी फर बिजनेस, आईटी फर एजुकेसन, आईटी फर इन्फमेसन। एआईको जमानामा भन्ने हो भने एआई अथवा आईटी इज फर एर्भिथिङ ! यस्तो भइसक्यो। यो बिना त हुँदैहुँदैन।’
यो डिजिटल जमानामा समयसापेक्ष हुनुपर्ने उनको भनाइ छ। उनले नेपालको विकास र नेपालीको विकास गर्ने मुख्य कुरा भनेको आईटीको दक्ष र सक्षम जनशक्ति भएको बताए। उनले आईटी क्षेत्रलाई एकदम तीव्रताका साथ अगाडि बढाउन पर्ने बताए । उनले नेपाललाई दक्षिण एसियाको आईटी हब बनाउन सक्नुपर्ने बताए।
‘हाम्रो उत्पादन हामीले बेच्न सक्नुपर्छ। हाम्रो उत्पादन हामीले जनताका घरघरमा पुर्याउन सक्नुपर्छ, उनीहरूको जीवनस्तर बढाउनका लागि त्यसलाई प्रयोग गर्नुपर्छ, उनीहरूको आयस्तर बढाउनका प्रयोग गर्नु पर्दछ। उनीहरूलाई रोजगारीका अवसर बढाउन पर्छ ।’ उनले भने, ‘सबै आईटी इन्जिनियर हुन सक्छन् भन्ने कुरा होइन। यहाँहरूको उत्पादनका लागि सरकार पनि एउटा आफैँ मार्केट हो भनेर यहाँहरूले अघि भन्नुभयो। सरकार आफैंले पनि प्रोडक्सन गर्छ। अहिलेसम्मको स्थिति के छ भने, हामीले सफ्टवेयर ऐरा झन्डैझन्डै गुमायौं नै।’ उ नले एकै दिन कम्पनी दर्ता, भ्याट दर्तादेखि अरू चिजहरू घरमै बसेर गर्न सकिने प्रणाली विकास गरेको बताए । यो गर्न चाहन्छु भनेर गर्न सक्ने त्यो प्रविधिको सुरु गर्दै छौं ।
प्रतिक्रिया दिनुहोस !
