सरकारी निवासमा सरेनन् भीआईपी
विराटनगर : प्रदेश सरकारका ‘भीआईपी’सँग परामर्शबिनै भवन व्यवस्थापन गरिँदा उनीहरूले सरकारी निवासको साटो विकल्पका रूपमा भाडाको घर रोजेका छन् । संघीय सरकारबाट आएको बजेटले मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीपकुमार भण्डारीका लागि निवास तयार गरिएको थियो । तर, सल्लाहबिनै निवास अपायक ठाउँमा राखिएको भन्दै मुख्यमन्त्री राईले भाडाको घर रोजेका छन् । सभामुख भण्डारीले भने धरानस्थित निवासबाटै विराटनगर धाइरहेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की पनि भाडाकै घरमा बस्दै छन् ।
सहरी विकास तथा भवन डिभिजन कार्यालय विराटनगरले मुख्यमन्त्री राईको निवासका लागि तत्कालीन क्षेत्रीय सिँचाइ निर्देशनालयबाट पश्चिमतर्फ रहेको भवनलाई ५० लाख खर्च गरी मर्मत गरेको थियो । तर, भारतीय सिमानानजिकै र अपायक स्थानमा रहेको उक्त ठाउँमा मुख्यमन्त्रीले जान अनिच्छा जनाएपछि अहिले मुख्यसचिव बस्न थालेका छन् । मुख्यमन्त्री राई राष्ट्र बैंकको गेस्ट हाउसमा बसेर हालै मात्र विराटनगर–३ स्थित दुधफारम चोकमा भाडाको घरमा सरेका छन् । क्षेत्रीय सिँचाइ कार्यालयमा ५० लाख खर्च गरी मर्मत गरिएको अर्को भवनमा भने भौतिक पूर्वाधार मन्त्रालय राखिएको छ ।
सहरी विकास तथा भवन डिभिजन प्रमुख श्यामकिशोरप्रसाद सिंहले सभामुख भण्डारीका लागि सुनसरी–मोरङ सिँचाइ योजना परिसरकै भवनमा निवास बनाउन ३० लाख खर्च गरी मर्मत गरिएको दाबी गरे । ‘केन्द्रको निर्देशनअनुसार नै हामीले निवास व्यवस्थापनका लागि भवन छनोट गरेका थियौं तर उहाँहरू जानुभएन’, उनले भने । केन्द्र सरकारबाट प्राप्त बजेटले नै मन्त्रीसमेतको निवास व्यवस्थापन गरिएको उनको भनाइ छ ।
भण्डारीले आफू सभामुख चयन भएदेखि नै धरानस्थित निजी निवासबाट सदन धाउने गरेको सुनाए । भने, ‘म बस्ने निवासको व्यवस्थापन र स्थानका विषयमा मलाई कुनै जानकारी गराइएको छैन । सरकारी निवासबारे मलाई थाहा पनि छैन, घरबाटै आइरहेको छु ।’
प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ सुनसरी–मोरङ सिँचाइ आयोजन परिसरस्थित भवनमा बस्दै आएका छ्न । तर, उनको नयाँ निवासका लागि ६० लाख खर्च गरी बालकल्याण समितिको भवन मर्मत गरिएको छ । तर, कहिलेदेखि त्यहाँ सर्ने भन्ने टुंगो लागेको छैन । प्रदेश प्रमुखका प्रेस संयोजक शेखर रेग्मीले भने, ‘त्यता सर्नेबारे तयारी भएको छैन ।’
प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेका लागि विराटनगर–३ मा अवस्थित सीप विकास तालिम केन्द्रको भवनलाई ६० लाख खर्च गरी मर्मत गरिएको छ । यसअघि घिमिरे विराटनगरस्थित निवासबाट मन्त्रालय धाइरहेका थिए । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो महिला विकास केन्द्रको भवन मर्मत भएपछि त्यतै बस्न थालेका छन् । वन, विज्ञान, वातावरण तथा पर्यटनमन्त्री जगदीशप्रसाद कुसियत सुनसरीस्थित निवासबाट प्रदेश राजधानी धाइरहेका छन् । संसद् सचिवालयका सचिव केदारप्रसाद पनेरु पनि भाडाको घरमा बस्दै छन् ।
फूल रोप्न ११ लाख
आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयको फूलबारी मर्मत तथा फूल रोप्न मात्र ११ लाख बजेट छुट्याइएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा संघीय सरकारले पठाएको रकमबाट ५ लाख खर्च गर्ने गरी काम सुरु भएको भवन डिभिजन कार्यालयले जनाएको छ । त्यहाँ खाली रहेको ठाउँमा मोटरसाइकल पार्किङसहित फूलबारी व्यवस्थापनमा त्यति रकम खर्च हुने सहरी विकास तथा भवन डिभिजन प्रमुख श्यामकिशोर सिंहले बताए । आर्थिक मामिला तथा योजना मन्त्रालयमा पनि फूलबारी र फूल रोप्न चालू आर्थिक वर्षको बजेटबाट ६ लाख खर्च गर्ने गरी काम भइरहेको छ ।