निजी प्रयाेगमा सरकारी भवन

निजी प्रयाेगमा सरकारी भवन

जनकपुरधाम : धनुषाको जनकपुरस्थित जनता आवास आयोजनाको कार्यालय महानिर्देशककी पत्नीले निजीजस्तै गरी उपयोग गरिरहेकी छन्।

आयोजनाको जनकपुरस्थित कार्यक्रम कार्यान्वयन इकाइ कार्यालय भवनमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्माकी पत्नी सुमना अर्याल बस्दै आएकी हुन्। अर्याल प्रदेश २ को भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा उपसचिव पदमा कार्यरत छिन्। आयोजना कार्यालयमा अर्यालको बसोबासको व्यवस्था डिभिजन कार्यालय जनकपुरका पूर्वप्रमुख गंगाप्रसाद यादवले मिलाएको जनाइएको छ।

यादवले कुन अधिकारले अर्याललाई आयोजनाको कार्यालयमा बस्ने व्यवस्था मिलाएका हुन् भन्नेमा जानकार नरहेको कर्मचारी बताउँछन्। एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने, ‘कार्यालयमा महानिर्देशककी पत्नी बस्नु उपयुक्त होइन तर कोही यसबारे खुलेर बोल्न सक्दैनन्।’

अति विपन्न, गरिब र दलितका लागि गत आर्थिक वर्षदेखि सहरी विकास तथा भवन निर्माण डिभिजन जनकपुरमार्फत धनुषासहित महोत्तरी र सर्लाहीमा यो कार्यक्रम सञ्चालित छ। अन्य दुई जिल्लामा काम भए पनि धनुषामा असफल भएको जनाइएको छ। आयोजना कार्यान्वयनका लागि कर्मचारीका तर्फबाट कुनै प्रयास नभएर एकातर्फ दलित र गरिबका लागि आएको करोडौं रकम उपयोग हुन सकेको छैन भने अर्कातर्फ कार्यालयसमेत निजी बसोबासमा उपयोग गरिएको छ। यसबारे प्रतिक्रिया लिन खोजदा अर्यालसँग भने सम्पर्क हुन सकेन।

प्रत्येक जिल्लामा १ हजारका दरले तीन जिल्लामा तीन हजार घर निर्माणका लागि गत आर्थिक वर्ष २६ करोड बजेट मन्त्रालयबाट विनियोजन भएको थियो। तर, उक्त बजेटबाट महोत्तरी र सर्लाहीमा काम भए पनि धनुषामा केही हुन नसकेको कार्यालयका लेखापाल राकेशकुमार चौधरीले बताए। धनुषाका लागि आएको ८ करोड बजेट थन्किएको उनको भनाइ छ।

कार्यालयमातहत सर्लाहीमा सबैभन्दा बढी काम भई ८ करोड खर्चिएको जनाइएको छ। महोत्तरीमा ४ करोड ८० लाखको काम भएको थियो। बाँकी बजेट भने कर्मचारी तथा सर्वदलीय समितिको लापरवाहीका कारण खर्च हुन नसकेको हो। चालू आवमा २६ करोड नै विनियोजन भए पनि ढिलासुस्ती र गत वर्षको बजेटसमेत बाँकी नै रहेकाले त्यसलाई नै उपयोग गर्नुपर्ने गरी १६ करोड ८० लाख मात्र आएको लेखापाल चौधरीको भनाइ छ।

जग्गा भएका तर अति विपन्न परिवारलाई यस आयोजनाबाट ३ लाख ३२ हजार लागतमा दुई कोठाको घर र एउटा शौचालय बनाएर सहयोग गर्ने सरकारको लक्ष्य छ। विपन्नको सुविधाका लागि ल्याइएको आयोजनामा कमिसन खोज्ने प्रवृत्तिले गर्दा धनुषामा काम हुन नसकेको जनाइएको छ। सर्वदलीय समिति बनाएर समितिबाट छनोट भएका प्रस्तावअनुसार नै घर निर्माण अघि बढाउनुपर्ने प्रावधान छ। गत वर्ष धनुषामा कांग्रेसका आनन्द ढुंगानाको संयोजकत्वमा शत्रुघ्न महतो, राजेन्द्र महतो, माधवी रानी साह, प्रमुख जिल्ला अधिकारी सम्मिलित समिति गठन गरिएको थियो। तर, समितिले आयोजना कार्यान्वयनका लागि चासोे नदेखाएकाले धनुषामा काम हुन नसकेको कर्मचारी बताउँछन्।

जनकपुरस्थित जनता आवास आयोजनाको कार्यालयमा महानिर्देशक शिवहरि शर्माकी पत्नी सुमना अर्याल बस्दै आएकी छन्।

आयोजनाका सर्लाही प्रमुख इन्जिनियर श्यामकृष्ण झाले ३ सय घर निर्माण भई दलित र विपन्न परिवारलाई हस्तान्तरणसमेत गरिएको बताए। पाँचवटा घरमा जग्गा विवादका कारण हस्तान्तरणमा केही समस्या आएको उनको भनाइ छ। भने, ‘सर्लाहीमा जनप्रतिनिधिले यस आयोजनाको कामलाई समयमै सम्पन्न गराउन निकै जागरुकता देखाएका छन्।’

आयोजनाका महोत्तरी प्रमुख इन्जिनियर श्रवण यादवले जिल्लाका विभिन्न क्षेत्रमा ५ सय घर निर्माणाधीन रहेको बताए। भने, ‘जिल्लाका लक्ष्मीनिया, परौल, रामगोपालपुर, बलवा, बनचौरीलगायत स्थानमा दलित गरिबका लागि घर निर्माणको काम भइरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.