स्याउ नफलेपछि जैतुनखेती
बैतडी : तत्कालीन राजा महेन्द्रले स्याउ फलाउन रोजेको बैतडीको सतबाझ स्याउ नर्सरीमा जैतुनखेती विस्तार गरिने भएको छ। सुरुमा सतबाँझ स्याउ नर्सरी राखिएको त्यस ठाउँको नाम स्याउ फल्न छाडेपछि सुक्खा फलफूल विकास केन्द्र राखिएको थियो।
‘सतबाँझमा स्याउ फल्न छाडेपछि नयाँ फलफूलका बिरुवा रोप्न थालिएको छ। हामीले किसानलाई जीविकोपार्जन हुने खालका बिरुवा नर्सरी बनाएर वितरण गर्ने तयारी गरेका छौं’, सुक्खा फलफूल विकास केन्द्रका प्रमुख लक्ष्मीदत्त पाण्डेयले भने। उनले जैतुन तेल उत्पादनका लागि निकै प्रसिद्ध वनस्पती भएको र मूल्य पनि राम्रो रहेकाले त्यसको खेती गर्ने तयारी गरिएको बताए। जैतुनको तेल बहुऔषधिका रूपमा समेत प्रयोग गरिन्छ। उनले भने, ‘किसानलाई जैतुनखेतीमा आकर्षण गराउन सुक्खा फलफूल विकास केन्द्रले एक सय जैतुनका माउ बोट नर्सरीमा रोपेको छ। पाँच हजार जति बिरुवा कलमीका लागि नर्सरीमा राखिएका छन्।’
एक वर्षभित्रै किसानलाई पाँच हजार जैतुनका बिरुवा वितरण गरिने तयारी भएको सुक्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले बताए। उनले भने, ‘जैतुनबाट कोलेस्ट्रोल नभएको तेल उत्पादन भएकाले यो औषधिका लागि उपयुक्त छ। ६ किलो जैतुनबाट एक किलो तेल उत्पादन गर्न सकिने भएकाले यसको खेती विस्तार भए किसानलाई जीविकोपार्जनमा सहज हुने अपेक्षा गरिएको छ।’
सतबाँझमा स्याउ फल्न छाडेपछि जैतुन, कागजी बदाम, काजुलगायत फलफूलका बिरुवा उत्पादन गर्न थालिएको छ। किसानलाई ८० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गर्ने गरिएको छ। ‘जैतुनका बिरुवा धेरै महँगो पर्ने भएकाले किसानलाई सहज होस् भनेर अनुदानमा वितरण गर्ने तयारी गरेका हौं’, प्रमुख पाण्डेयले भने, ‘जीविकोपार्जन हुने खालका बिरुवाको खेती गर्नेतर्फ किसानको ध्यानाकर्षण गरिरहेका छौं।’
प्रतिक्रिया दिनुहोस !