विश्वकप :‘घाइते बाघको गर्जन’

विश्वकप :‘घाइते बाघको गर्जन’

सन् २०१४ यता ब्राजिलको अमेजन नदीमा कति पानी बगिसक्यो होला ? वन सम्पदामा विश्वकै धनी मुलुकमा कति वनजङ्गल मासिए अनि कति थपिए होलान् ? सायदै त्यस्तो कुनै क्षेत्र होला जुन २०१४ यता जस्ताको तस्तै रहेको होस् ! त्यसमा ब्राजिलको राष्ट्रिय फुटबल टिम पनि कहाँ अपवाद रहन सक्छ र ? आफ्नै भूमिमा आयोजना भएको फुटबलको महाकुम्भ २०औं विश्वकपको सेमिफाइनलमा लज्जास्पद हार व्यहोरेयता निक्कै सुधार भइसकेको छ पाँच पटकको विश्व च्याम्पियन टोलीमा।

साओ पाउलो रंगशालामा २०औं फिफा विश्वकप उद्घाटन भइरहँदा सायदै कसैले सोचेका थिए कि सदाबहार उपाधिको दावेदार मानिने ब्राजिलको आयोजना उसकै लागि त्यति दुःखद हुनेछ भनेर। पहिलोपटक सन् १९५० को विश्वकप आयोजना गरिरहँदा पनि ब्राजिलले त्यस्तै अनपेक्षित नतिजा निकाल्दै उपाधि उरुग्वेलाई सुम्पिएको थियो। इतिहास दोहोर्याउने मुडमा पटक्कै थिएन आयोजक। तर, सन् २००२ को विश्वकप फाइनलमा ब्राजिलसँगै पराजित भएको जर्मनीले आयोजकको रक्षापंक्ति यति सजिलै तहसनहस पारिदियो कि अनेकौं कीर्तिमान रच्दै ७-१ गोलअन्तरको फराकिलो जित आत्मसात गर्यो। ब्राजिल समर्थक मात्र नभई विश्व फुटबललाई फलो गर्ने जो कोहीका लागि त्यो एक अविश्वसनीय नतिजा थियो। प्रमुख खेलाडी नेयमारको अनुपस्थितिलाई कतिले हारको कारण माने त कतिले २०१०को वर्ल्डकपपछि बर्खास्त भएर पुनः २०१४ मा टिम सम्हाल्न आएका प्रशिक्षक डुङ्गा माथि प्रश्न उठाए।

अहिले ब्राजिल पुनः एकपटक आफ्नो लयमा छ। डेढ दशक अगाडिको रोनाल्डो, रिभाल्डो, काका, रोनाल्डिन्होसहितको त्यो ड्रिमटिम जत्तिको शक्तिशाली नरहेपनि पछिल्लो केही समययता निक्कै सुधारिएको छ टोली। क्षमतावान र छरिता खेलाडीसहितको सुन्दर फुटबल, जुन ब्राजिलको फुटबल खेल्ने मौलिक शैली समेत मानिन्थ्यो, त्यसलाई फर्काउन प्रयासरत छ ब्राजिल। चार वर्षअघिको विश्वकप सेमिफाइनलमा लज्जास्पद हार पश्चात २०१५ को कोपा अमेरिकामा क्वार्टरफाइनलबाटै बाहिरिनु अनि २०१६ मा समुह चरणबाट माथि उक्लनै नसक्नुले ब्राजिली टोली इतिहासकै कमजोर स्थितिमा थियो भन्न सकिन्छ। त्यसपश्चात प्रशिक्षक टिटे टिम सम्हाल्न आइपुगे। उनी आएपछि विगत २ वर्षयता टोलीमा धेरै परिवर्तन भए। यस बीचमा ब्राजिलले हार्न बिर्सिसक्यो भन्दा फरक पर्दैन। खेलेका २१ खेलमध्ये १७ मा जीत निकाल्दै १ मा हार र ३ खेलमा बराबरीमा रोकिएको छ ब्राजिल। यसक्रममा ४७ गोल गर्दै मात्र ५ गोल खाएको छ।

कीर्तिमानी छैठौं पटक विश्वकप जित्ने तयारीमा ब्राजिलले केही नयाँ तरिका पनि अपनाएको छ। गएको अक्टोबरमा ड्र सार्वजनिक भएपश्चात् सम्भावित विपक्षी टोलीका खेलाडीको बारेमा अध्ययन थालेको थियो। यसैक्रममा ब्राजिलको घरेलु लिग खेल्ने १९ क्लबले पनि विपक्षी टोलीको मुभमेन्ट, खेल्ने तरिका लगायतका विषयमा जानकारी दिएका थिए। ती सबै विषयमा अध्ययन गरेर विवरण तयार गरी आवश्यक रणनीति पनि बनाइसकेको छ टिमले। ब्राजिलको सम्भावित उपाधि यात्रामा पिएसजीका २६ वर्षीय स्ट्राइकर नेयमार मेरुदण्डका रुपमा रहनेछन्। विश्व फुटबलका दुई सुपरस्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले हात पार्न नसकेको सफलता प्राप्त गरेर आफूलाई अब्बल सावित गर्ने अवसर छ उनीसँग। यो विश्वकपमा उनी करिअरकै सबैभन्दा उच्च लयमा हुन सक्छन्। 

विश्वकप अघिको दुई मैत्रीपूर्ण खेलमा दुवैमा गोल गर्दै उनले समर्थक माझ उत्साह थपिदिएका छन्। चारवर्ष अघिको टोलीमा ब्राजिलको टिम मुख्य रुपमा नेयमारमा मात्रै भर परेको थियो। तर अहिले स्थिति केही फेरिएको छ। प्रशिक्षक टिटेले कोही एक खेलाडीमा मात्रै भर पर्नु पर्ने स्थितिलाई बदलेर सम्पूर्ण टिमलाई नै संगठित र लय दिलाएका छन्। नेयमारलाई साथ दिन विलियन, काउटिन्हो, पाउलिन्हो, फर्मिन्हो, कासिमरो, फर्नाण्डिनो जस्ता उत्कृष्ट फरवार्ड तथा मिडफिल्डर छन् टोलीमा। ब्राजिलको रक्षापंक्ति छिचोल्न पनि विपक्षीलाई निक्कै गार्हो पर्ने देखिन्छ। ड्यानिलो घाइते भएर टिममा केही क्षति पुगेको भएपनि थिएगो सिल्भा, मार्सेलो, मिरान्डा लगायतका डिफेन्डरहरू निक्कै नै उत्कृष्ट लयमा रहेका छन्। पहिलो रोजाइका गोलकिपर एलिसनको उत्कृष्ट फर्म पनि विपक्षीको लागि अर्को टाउको दुखाइको विषय बन्न सक्छ।

विश्वकप अघिको प्रदर्शन र स्क्वाड हेर्दा ब्राजिलियन टोलीलाई विश्वकपको प्रमुख दाबेदार मानिएको छ। यद्यपि खेलको ९० मिनेट पूरा नभइन्जेल जस्तोसुकै नतिजा आउने सम्भावना हुनाले अहिल्यै केही भन्न सकिँदैन। बलिया मानिएका स्पेन र फ्रान्सले ब्राजिललाई कडा टक्कर दिन सक्नेछन्। विश्वकप सुरु हुनुभन्दा १ दिन अघि आफ्ना प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेपछि स्पेनले अपेक्षा अनुरूप प्रदर्शन नगर्ने हो कि भन्ने विश्लेषण गरिएको छ। यस अलावा डिफेन्डिङ च्याम्पियन जर्मनी, लियोनेल मेसीको अर्जेन्टिना र युरोकप डिफेन्डिङ च्याम्पियन क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई पनि कम आँक्न मिल्दैन। 

करिअरको उत्तरार्द्धमा रहेका मेस्सी र रोनाल्डोले सम्भवतः आफ्नो अन्तिम विश्वकपमा कस्तो प्रदर्शन गर्छन्, उनीहरूको टोलीको नतिजा त्यसैमा निर्भर रहन्छ। एक्काइसौं विश्वकप उद्घाटन भइरहँदा फुटबल प्रेमीको दिमागमा धेरै प्रश्न उठेका छन्। चारवर्ष अघिको घाउमा मलम लगाउन ब्राजिल सफल होला कि नहोला ? विश्लेषण गरिए जत्तिकै फ्रान्सले आफूलाई बलियो सावित गर्न सक्ला त ? बेल्जियम, इङ्ल्यान्ड, स्वीजरल्याण्ड लगायतका अण्डरडग मानिएका टोलीहरुले आश्चर्यजनक नतिजा निकाल्दै नकआउट चरणको सम्भावित अनुमानित समीकरण बदल्न सक्लान् की नसक्लान् ? यी सबै प्रश्नको उत्तर पाउन केही दिन कुर्नै पर्ने हुन्छ। हेरौँ घाइते बाघ मानिएको ब्राजिलको गर्जन कत्तिको चर्को रहने हो ?!

ट्वीटर : @hrishyat 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.