ताल संरक्षणमा स्थानीय सक्रिय

ताल संरक्षणमा स्थानीय सक्रिय

बेनी : मालिका गाउँपालिका–५ मगरदाङमा रहेको गाईखर्क ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सक्रिय भएका छन्। तालको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकास गरेर पर्यटकीय गन्तव्य बनाउन स्थानीयले अग्रसरता देखाएका हुन्। तालको क्षेत्रफल र गहिराइ बढाउन यस वर्ष गाउँपालिकाको ५ लाख रुपैयाँ अनुदान र स्थानीयको ५१ हजार रुपैयाँ बराबरको श्रमदानमा ७० मिटर बाँध र घेराबार गरिएको उपभोक्ता समितिका अध्यक्ष बालकुमार फगामीले बताए। ‘पहिलादेखि नै यसको संरक्षणका लागि सम्बन्धित निकायमा माग गरिएको थियो तर त्यो पूरा हुन सकेको थिएन’, उनले भने, ‘अहिले वडाले बजेट विनियोजन गरेपछि सहज भएको छ।’

पानीको स्रोत नभएको यस ताल जस्तोसुकै खडेरीमा पनि नसुक्ने विशेषता छ। देवीस्थानको घरीथोकदेखि ३० मिनेट उकालो पैदल हिँडेपछि गाईखर्क ताल पुग्न सकिन्छ। वरिपरि गाईभंैसीको गोठ हुने गाई पानी पिउन आउने भएकाले यसलाई गाईखर्क ताल नामकरण गरिएको हो। ताल सुकेमा देशमा विभिन्न किसिमका दुर्घटना भएको स्थानीय युवा भक घर्तीको भनाइ छ। ‘यहाँ सदावहार पानी हुन्छ, पानी सुक्न थाल्यो भने अनिष्ट हुन्छ भन्ने बूढापाकाको भनाइ छ’, उनले भने, ‘धेरै वर्षपछि ०७२ सालमा पानी सुकेको थियो, देशले महाभूकम्प सामना गर्नुपर्‍यो।’ ४६÷४६ मिटर लम्बाई, चौडाई तथा ३ मिटर गहिराइ भएको तालको अहिले लम्बाइ चौडाइ बढाएर ५५÷५५ मिटरको बनाइएको छ।

क्षेत्रफलसँगै बाँध बनाएपछि गहिराइ पनि बढेको छ। गोलो आकारको तालको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, मानापाथीलगायत हिमालको दृश्य अवलोकन गर्न सकिन्छ। हिमालको छाया परेको मनमोहक दृश्य अवलोकन गर्न सकिने तालसम्म पुग्न पदमार्गलाई व्यवस्थित बनाउनुपर्ने स्थानीय युवा घर्तीको भनाइ छ।

मगर समुदायको कला संस्कृति, एकै लहरमा बसेको बस्तीका कारण देवीस्थानको घरीथोक, जुक्जा, पन्थोकलगायत गाउँमा होमस्टेको अवधारणा अघि सारिएको छ। ‘होमस्टे सञ्चालन गर्ने र पर्यटकले होमस्टेसँगै तालसम्म ल्याउने वातावरण बनाउन बृहत् योजना बनाइरहेका छौं, यसले निकट भविष्यमै पूर्णता पाउनेछ’, उनले भने। ताललाई पर्यटकीय गन्तव्य बनाउन पदमार्गसँगै यातायातको पहुँचका लागि आगामी आर्थिक वर्षमा रकम विनियोजन गर्ने वडाध्यक्ष पिपला बुढाथोकीले बताइन्। ‘जुग्जाको घरथोकबाट करिब २ किलोमिटर खनियो भने तालसम्म पुग्न सकिछ’, उनले भनिन्, ‘यसलाई वडाले प्राथमिकता दिएर बजेट प्रस्ताव गर्नेछ र गाउँपालिकाबाट समेत थप बजेटका लागि पहल हुनेछ।’ पृष्ठभूमिमा धौलागिरि र अन्नपूर्ण हिमालदेखिने गाईखर्क तालसँगै यस क्षेत्रमा मालिका धुरी, रुन्माको डाँडा र देवताभीर गुफा ओझेलमा परेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.