कांग्रेस जिल्ला सभापति भेला : आन्तरिक एकतामा जोड

कांग्रेस जिल्ला सभापति भेला : आन्तरिक एकतामा जोड

हेटौंडा : मंगलबारदेखि सुरु कांग्रेसको जिल्ला सभापति भेलामा नेताहरूले आन्तरिक एकतामा जोड दिएका छन्। हेटौंडास्थित पल्पसा हलमा भएको उद्घाटन सत्रमा बोल्ने सबै वक्ताले भेलाबाट पार्टीभित्रको गुट-उपगुटको अन्त्य भएको सन्देश दिनु पर्नेमा जोड दिए।

गएको निर्वाचनपछि कांग्रेसभित्र शीर्ष नेताबीचमै मतभेद देखिएका बेला सुरु भएको सभापति भेलामा केन्द्रीय नेताहरूलाई एकमत भएर अघि बढ्न दबाब सिर्जना भएको छ।

कांग्रेसभित्र सभापति देउवाबाहेकको समूहबीचमा पछिल्लो समयमा आरोप-प्रत्यारोप बढ्न थालेको थियो, जुन सभापति भेलामा समेत प्रकट हुने आशंका गरिएको थियो। तर संस्थापन इतर वरिष्ठ नेता रामचन्द्र पौडेलले नै भने, ‘यो भेलाको एजेन्डा नै एकता भएको महसुस हुन थाल्यो।’

तीन दिनसम्म चल्ने सभापति भेलाको उद्घाटन सत्रमा महामन्त्री शशांक कोइराला, संसदीय दलका उपनेता विजय गच्छदार, उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवा बोलेका थिए।

भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीको बागडोर आफूले सम्हालेदेखि संविधान कार्यन्वयनमा व्यस्त भएकाले पार्टीको सन्दर्भमा कतिपय कमजोरी देखिएको स्विकार गरे। भेलामा लिखित सम्बोधन गरेका सभापति देउवाले पार्टीभित्रको असन्तुष्टिका कतिपय कुरा जायज भएको समेत स्विकारे। उनले भने, ‘तर कतिपय कुरा साथीहरूले अतिरञ्जित समेत गर्ने गर्छन्।’

उनले केही काम गर्न ढिलाइ भए पनि राष्ट्रिय महत्वपूर्ण केही कामअगाडि बढेको दाबी गरे। आफ्ना लागि राष्ट्र, लोकतन्त्र र कांग्रेसभन्दा प्रिय वस्तु केही नभएको भन्दै उनले बाँकी जीवन पनि यसैमा समर्पण गर्ने बताए।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र वैमनश्यता रहेकै कारण एकताको कुरा उठेको भन्दै भावनात्मक एकतामा जोड दिए। ‘एकता भावनात्मक हुनुपर्‍यो, हात मिलेर मात्रै भएन, मन मिल्नु पर्‍यो,’ पौडेलले भने, ‘केही गरौं गरौं, मिलौं मिलौं लाग्ने खालको एकता हुनु पर्‍यो।’

दरिलो एकता नभए कम्युनिस्टसँग लड्न नसकिने भन्दै उनले सभापति देउवासँग पनि यसबारे कुरा राखेको बताए। उनले पार्टी एकता बलियो बनाउन सुझाव दिन जिल्ला सभापतिहरूलाई अनुरोध गरे। ‘समस्या कहाँ छ भन्ने कुरा तपाईंहरूलाई थाहा छ, कार्यकर्तासम्म भिडेर काम गर्ने तपाईंहरूले हो,’ उनले भने, ‘एकताको आधार के हुने भन्ने पनि तपाईंहरूले भन्न सक्नुहुन्छ, पार्टीलाई एक बनाउन भूमिका खेल्नुहोला।’

उपसभापति विमलेन्द्र निधिले भेलाले एकताको सन्देश दिनुपर्ने तर्क गरे। ‘आरोप-प्रत्यारोपमा नउत्रौं, निराश नहोऔं, आवेग, रिसमा नआऔं,’ निधिले भने, ‘त्यति भएपछि हामी हुन्छौं।’

संसदीय दल उपनेता विजयकुमार गच्छदारले पार्टीमा एक हुने हो भने पाँच वर्षमा पार्टीलाई पुरानै अवस्थामा फर्काउन सकिने दाबी गरे। ‘केन्द्रको गुट उपगुटमा जिल्ला सभापतिहरू लाग्नु हुँदैन, एक भएर अघि बढ्नुपर्छ,’ उनले भने।

महामन्त्री शशांक कोइरालाले एकता नभएसम्म कांग्रेसको भविष्य नभएको भन्दै भेलाबाट एक भएर राष्ट्र निर्माणमा लाग्न अनुरोध गरे। ‘कम्युनिस्ट एकताभन्दा पनि गुट-उपगुट भएको कारण अघिल्लो चुनावमा हारियो,’ उनले भने, ‘एकजुट भएको भए कम्युनिस्ट एकताले कुनै असर गर्न सक्दैनथ्यो।’

बुधबारदेखि सुरु हुने बन्द सत्रमा सभापतिहरूले विधान संशोधन र केन्द्रीय नेतृत्वबारे धारणा राख्ने तयारी गरेका छन्। उद्घाटन सत्रमा सभापति देउवाले महासमिति बैठकबाट विधान संशोधन हुने बताएका छन्।

‘पार्टीको विधानमा समसामयिक संशोधन गर्न आवश्यक छ, भेलाको एजेन्डा पनि यो छ,’ उनले भने ‘विभागहरू गठन गर्ने र महासमितिको बैठकबाट विधान संशोधन गर्ने काम चाँडै गरिनेछ।’

कांग्रेसमा पौडेल र सिटौला समूहले तत्काल विधान संशोधन गरेर प्रादेशिक संरचनाअनुसार संगठन निर्माण गर्न दबाब दिइरहेका छन्।

सिटौला मञ्चमा बसेननहेटौंडामा सोमबार साँझ बसेको केन्द्रीय समिति बैठकमा नेताहरू सिटौला र बलबहादुर केसीले आफूले पनि पूर्वपदाधिकारीको हैसियतमा सम्बोधन गर्न पाउनु पर्ने माग गरेका थिए।

सभापति देउवाले भने महामन्त्री, उपसभापति, वरिष्ठ नेता र संसदीय दलका उपनेतालाई बोल्ने मौका दिएका थिए।

उद्घाटन सत्रमा सहभागी भए पनि नेता सिटौला असन्तुष्टि स्वरूप मञ्चमा बस्न गएनन्। उद्घोषक पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पटक-पटक सिटौलालाई मञ्चमा आएर आसन ग्रहण गर्न बोलाएका थिए। सिटौला भने मञ्चभन्दा तल पहिलो लहरमा बसेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.