११ दिनदेखि बेपत्ता युवती उद्धारको माग गर्दै वीरगन्जमा प्रदर्शन
![११ दिनदेखि बेपत्ता युवती उद्धारको माग गर्दै वीरगन्जमा प्रदर्शन](https://annapurnapost.prixacdn.net/media/albums/Birgun_20180620103824_9xdLy59yTe.jpg)
वीरगन्ज : वीरगन्ज महानगरपालिका ७ कुम्हाल टोलकी २३ वर्षीया युवती नेहा कर्ण अपहरणमा परेको ११ दिन पुग्दासमेत प्रहरीले चासो नदेखाएको भन्दै स्थानीय आन्दोलित भएका छन्।
जेठ २७ गते आमा रुबीसँग रक्सौलबाट रेलमा दरभंगा जाने क्रममा रेलबाटै नेहा अहपरणमा परेकी थिइन्। नेहालाई छिमेकै युवा महम्मद फारुखले अपरहण गरेको नेहाका अभिभावकको आरोप छ।
नेहासँग जबरजस्ती बिहे गर्नका लागि फारुखले उनलाई अपहरण गरेर लगेको नेहाका मामा विजय कर्णको भनाइ छ । ‘नेहालाई फारुखले एकोहारो मन पराउथ्यो, छिमेकमै भएका कारण घरमा पनि आउजाउ हुन्थ्यो’, नेहाका मामा विजयले भने, ‘तर, नेहाले उसलाई मन पराएकी थिइन।’
अपरहणमा परेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको एक साता बितिसक्दासमेत प्रहरीले चासो नदेखाएको विजयको आरोप छ। प्रहरीले फारुखको मोबाइल कल डिटेल निकाल्न तीन चारदिन लाग्ने र त्यसपछि मात्र अनुसन्धान सुरु हुने बताएको छ।
गत जेठ २७ गते आमा रुबीसँगै भारतको दरभंगास्थित आफन्तकोमा जाने क्रममा रक्सौल रेल्वे स्टेशनमा नेहा र आमा रुबीलाई पुरयाउन नेहाका मामासंगै फारुख पनि गएका थिए।
रेलमा नेहा र आमा रुबी चढेपछि नेहाका मामा रक्सौल रेल्वे स्टेशनबाट घर फर्किएका थिए। नेहा र उनकी आमा चढेको रेल रक्सौलबाट आदापुर रेल्वे स्टेशनमा पुगेपछि शौच गर्न नेहा शौचालयमा गएको र त्यहि बेलादेखि बेपत्ता भएको उनका मामाको भनाइ छ।
नेहाकी आमा रुबीले फोन गरेर नेहा रेलको शौचालयबाटै बेपत्ता भएको खरब गरेपछि त्यहि दिन नेहाका मामा विजयले रक्सौल पुलिस थानामा नेहाको खोजीका लागि उजुरी दिएका थिए। तर, रक्सौल पुलिस थानाका प्रहरी अधिकारीले मौखिक उजुरी मात्र लिएको र लिखित जाहेरी भने दर्ता नगरेको मामा विजयले बताए।
नेहा बेपत्ता भएको तेश्रो दिन फारुखले आफनो मोबाइलबाट विजयको मोबाइलमा फोन गरेर नेहा आफूसँगै रहेको खबर गरेका थिए। विजयले भने, ‘फोनमा फारुखले नेहालाई गम्भीर अवस्थामा आफूले फेला पारेको र उनी आफूसँगै पर्साको पोखरीया नजिकको एक गाँउमा रहेकाले नेहाकी आमालाइ लिएर भेट्न आउन भनेका थिए।’
त्यस बेला नेहाले पनि फोनबाट आफू र आमा रुबीसँग पनि कुराकानी गरेको मामा विजयले बताए। फोनमा नेहाले रुदै रेलबाट दुई तीनजना अपरिचित व्याक्तिले आफूलाई जबरजस्ती लिएर गएको र अहिल आफू घर आउने सक्ने अवस्थामा नरहेको बताएकी थिइन्। त्यस लगत्तै फोन काटिएको थियो।
जेठ २९ गते फारुखले फोनमा दिएको जानकारी अनुसार जेठ ३० गते आफूसहित तीनजना पोखरीयामा रहेको लुम्बीनी विकास बैंक नजिक जादा मोटरसाइकलमा अर्का एक युवासंगै सवार रहेका फारुख आफूलाई देख्ने बित्तिक्कै फरार भएको मामा विजयले बताए।
‘हामीलाइ देख्ने बित्तिक्कै फारुक मोटसाइकलमा फरार भए’, नेहाका मामा विजयले भने, ‘त्यसलगत्तै उनको मोबाइल पनि अफ भयो, अहिलेसम्म मोबाइल अन भएको छैन।’
११ दिनदेखि अपहरणमा परेकी नेहाको उद्धारको लागि प्रहरीलाई दबाब दिन बुधबार वीरगन्जमा प्रदर्शन भएको छ। अपहरणमा परेकी नेहाको उद्धारका लागि प्रहरीले चासो नदेखाएकाले दबाब दिन प्रदर्शन गरिएको ब्रिजेश्वरकुमार चौधरीले जानकारी दिए।
प्रदर्शनमा सामाजिक अभियन्ता मोनिका सिंह, प्रकाश थारु, ओम प्रकाश सर्राफ, अजित राई, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खतिवडा, राजनीतिक दलका प्रतिनिधि लगायतको पनि सहभागिता थियो। पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने नेहाको खोजीका लागि प्रहरी गम्भीर रुपमा लागेको बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)