नारायणगढ-मुग्लिन सडकखण्डको चारकिलोमा फेरि खस्यो पहिरो, सडक अवरुद्ध
भरतपुर : नारायणगढ-मुग्लिन सडकखण्डको चारकिलोमा फेरि पहिरो खस्दा बुधबार बिहानैदेखि सडक अवरूद्ध भएको छ।मंगलबार बिहान पहिरो खसेर दिनभर अवरूद्ध भएको सडकखण्ड साँझ पौने चार बजे मात्रै खुलेको थियो।
दिनभरिको सवारी जामका कारण राति अबेर मात्रै सहज भएको सडक बुधबार बिहान फेरि पहिरो खसेपछि पुनः अवरूद्ध भएको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्मबहादुर केसीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ।
ठूलो पहिरो खसेकोले पहिरो हटाउनका लागि अझै दुईघण्टा समय लाग्ने उनले बताए। बाटो अवरूद्ध भएपछि सवारी साधनहरू बीचबाटोमा नै अलपत्र परेका छन्। पहिरोले पटकपटक सडक अवरूद्ध भएपछि वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ। चारकिलो र कालीखोला क्षेत्र पहिराको जोखिमयुक्त क्षेत्र हो।
प्रतिक्रिया दिनुहोस !