उपनगरका कुरूप अन्तर्कथा

उपनगरका कुरूप अन्तर्कथा

मनोज बोगटी र प्रतिबद्धता

फ्रेङ्फर्ट स्कुल भनिने जर्मनेली नवमार्क्सवादीहरूको एउटा समूहले साहित्यमा ‘कमिटमेन्ट’ अर्थात् प्रतिबद्धताको एउटा अवधारणा सार्वजनिक गर्‍यो। सीधै नभने पनि वाल्टर बिन्यामिनहरूले मार्क्सवादी विचारको जगमा यस्तो कुरा गरेका हुन्। समयसँगै, यो कुरा सबै विचारप्रतिको प्रतिबद्धताका सन्दर्भमा प्रयोग हुन थाल्यो।

दार्जिलिङका कवि मनोज बोगटी यस्तै प्रतिबद्धता बोकेका एक कवि हुन्। उनले आफूलाई समाजको तल्लो तप्काका मानिससँग उभ्याउने निधो गरेर कवितामा लामो समय बिताए। उनले सडक कविता र हस्तक्षेप अभियानको नेतृत्व गरे। युवा हाँचका धेरै कविलाई मार्गदर्शन गरे। उनको कमिटमेन्ट उनका जुझारु भाषण र आलेखहरूमा पनि परिलक्षित हुँदै गयो।

आफूलाई जाँच्ने कसी बोगटीले आफैं बनाए। उनलाई पढ्न र बुझ्न कुनै बाह्य र आयातीत सिद्धान्त चाहिँदैन।

के हुन बोगटीले बनाएका निजी मान्यता ? उनले लेखनलाई समाजको किनारीकृति वर्गको अधिकारको वकालत ठाने। उनले समाजमा संकथनको जालो बनाएर शासन गरिरहने सत्ताविरुद्ध हस्तक्षेप गर्नुलाई साहित्यको अभीष्ट माने। उनले भारतको मूल प्रशासन तथा विश्व साम्राज्यवादका विरुद्ध उभिन सिकाए। एउटा पुस्तकको नाम नै ‘काफरे अमेरिका’ राखे। साहित्यलाई आत्मविलास अथवा एक रुमानी सन्ध्यान मान्ने अग्रजहरूकै विरुद्ध पनि उभिने, बोल्ने र लेख्ने जोखिम उठाए, र आएका प्रतिक्रियालाई हाँसेर सहे। उनी बालियोसँग स्थापित भए आफ्ना मान्यतामा, र आफ्नो लेखनमा।

यो मनोज बोगटीले बनाएको चस्मा हो। यो चस्मा नउतारीकन उनको पछिल्लो कथासंग्रह ‘लाइफ : ए बटरफ्लाई’को विवेचना यहाँ गरिएको छ।

मनोजको कथाकारिता

‘लाइफ : ए बटरफ्लार्ई’ पुस्तकमा जम्मा आठ कथा छन्। लेखकीय मन्तव्य र राजा पुनियानीको भूमिका किताबका थप आकर्षण हुन्, किनकि ती दुवै आलेखमा मनोज बोगटीको लेखकीय अस्तित्वको किटानी जाहेरी छ। मनोजको मन्तव्यमा कथाका बारेमा उनको इमानदार अभिव्यक्ति छ, कि महानगरका ‘निम्न, मध्य र उच्चवर्गीय जीवनले खेल्ने नाटकको कल्पना’ उनले गरे र कथाहरू लेखे। उनका कथा यसै दाबीका वरिपरि घुमेका पनि छन्।

पुस्तक आकारमा पहिलोपल्ट सार्वजनिक भएका मनोजका कथा प्रयोगधर्मी कथा हुन्, जसले रैखिक कथाकारिताका मान्यता भत्काउँछन्। उनका आठ कथा पृथक भएर पनि एकअर्कासँग अनुबन्धित छन्, र एउटा कथामा अलप भएको पात्र अर्को कथामा भेटिन्छ र कथाको धागो गाँसिन पुग्न। मिसेस बुद्ध, एलबी सर, च्याङ्बा विभिन्न कथामा देखा पर्ने समान पात्र हुन्। कथा सुस्त सहरीकरणको चपेटमा पर्दै गएको उपनगरलाई कार्यपीठिका बनाएर लेखिएका छन्, जहाँ गाउँका मूल्यहरू क्रमशः ह्रास हुँदै गएका छन्, र सहरले बमन गरेका विषवृक्षहरूको ग्रहण क्रमशः पर्दै गएको छ।

सुरुको कथा ‘टाइल्समा नांगो पशु’ सम्पूर्ण संग्रहको प्रस्थानबिन्दु हो। यहाँ निर्माण गरिएका केही पात्र पुस्तकभरि आइरहन्छन् र दलिल सुनाइरहन्छन्। कथामा बेरोजगार एक युवकको चित्रण छ, जो कथाकारको प्रवक्ता अथवा अल्टरइगो पनि हो। उसलाई कुनै जब प्रोभाइडर कम्पनीले काम दिएको छ र तनाव व्यवस्थापनका लागि भन्दै घरघर पठाउने गरेको छ। विशेषगरी एकल महिलाहरू ग्राहक हुने गरेको उक्त सेवामा तनाव व्यवस्थापनका नाममा हुने यौनहिंसा हो, जो कतै मन्द देखिन्छ, कतै तीव्र। विविध कारणले आफ्ना पतिसँग बिछोड भएका महिलाहरू यस्तो उपक्रममा छन्, जुन सहर र विकासशील काँठहरूमा हम्मेसि सतहमा नआउने यो एउटा वैश्विक समस्या हो। कथामा मिसेस बुद्ध र मिसेस अग्रवाल उनका ग्राहक हुन्, जसमध्ये मिसेस बुद्ध पुस्तकभरि आइरहने एउटा रहस्यमयी पात्र हुन्। सम्पूर्ण पुस्तक खोतलेपछि थाहा हुन्छ, मिसेस बुद्धका श्रीमान् कुनै नग्न तस्बिरहरूको प्रदर्शनीका लागि देशबाहिर गएपछि कहिल्यै फर्केनन्। यो तस्बिरको नग्नता मिसेस बुद्धको यौनिक अतृप्तिको एउटा रूपक अलंकार हो, जुन यस पुस्तकको प्रमुख कथ्य पनि हो। यस कारण यी कथा मनोवैज्ञानिक बढी र सामाजिक–सांस्कृतिक कम देखिन्छन्। बोगटीको लेखकीय प्रतिबद्धता अलिकति तरलित भएको भने पक्कै पनि हो किनकि यो एउटा सार्विक र शाश्वत विषय हो, जसको उनले माया गर्ने गरेका सीमान्तकृतको दैनन्दिनीसँगै खासै सम्बन्धित छैनन्।

उनको यो यौनमनोविज्ञानको कडी ‘स्तर्न’ कथामा थप मुखरित भएको छ। यसले यौनिकताको अर्को पाटो उजागर गरेको छ, समलैंगिकता। समाख्याता ‘सीबी’ कुनै सांगीतिक समूहको सदस्य हो, जहाँ गायक एन्जोको आगमनले प्राण भर्ने काम गर्छ। तर, समयसँगै एन्जो समूहबाट पलायन हुन्छ, र समूहले देशभित्र र बाहिर बनाएका योजनाहरू विफल हुन्छन्। यसको कारण हो, प्राध्यापक लगायतका पुरुषबाटै बलात्कृत हुँदै आएको उभयलिंगी एन्जो सीबीको समेत आक्रमणमा पर्छ। बोगटीले यहाँ एउटा विशिष्ट समस्याको उत्खनन गरेका छन्, जो फेरि पनि सामान्यीकृत गर्न मिल्ने सामाजिक समस्या होइन। यो अर्को मनोवैज्ञानिक विकृति हो। जुन परिवेश र मेट्रिक्स कथाले निर्माण गरेको छ, त्यो आम जनसमुदायको व्याकरणभन्दा निकै पृथक र जटिल छ।

विशिष्टीकृत यौन प्रवृत्तिको कथा ‘काव्य’ शीर्षकको कथामा पनि पढ्न पाइन्छ। कथाको निर्मिति निकै जटिल र विम्बात्मक लाग्छ। कुरा सोझो बुझिँदैन। कथामा यौनकुण्ठा र अतृप्त वासना बोकेका आमाछोरीको चित्रण छ, जो कुमारी अवस्थामै गर्भवती हुन्छन् र पटकपटक गर्भपतन गराउँछन्। आफू सक्षम भएपछि भने बच्चा जन्माउँछन्। छोरी मार्था आफ्नै शिक्षक एलबी सरको यौन आक्रमणमा पटकपटक परेकी छन् र पोर्न भिडियो हेर्ने बानी पनि परेको छ। उनीसँग समलैंगिक र विपरीत लिंगकामी दुवै प्रवृत्ति देखिन्छन्। यसले लैंगिकता व्यवहार हो र कुनै रूढ र स्थायी स्वभाव होइन भन्ने मनोवैज्ञानिक दाबीको पुष्टि गर्छ। फ्रान्सेली सिद्धान्तकार जुडिथ बट्लरले यौनिकता एक परिवर्तनशील स्वभाव भएको जिकिर उनका लेखहरूका गरेकी छन्। कथाले विकाससँगै भित्रिएको ल्यापटप र पामटप प्रविधि, र त्यससँगै विकृत बन्दै गरेको किशोर पुस्ताको समस्यालाई सतहमा ल्याएको छ।

कथा सुस्त सहरीकरणको चपेटमा पर्दै गएको उपनगरलाई कार्यपीठिका बनाएर लेखिएका छन्, जहाँ गाउँका मूल्यहरू क्रमशः ह्रास हुँदै गएका छन् र सहरले बमन गरेका विषवृक्षहरूको ग्रहण पर्दै गएको छ।

मनोजका कथाको अर्को कथ्यको भँगालो भनेको गाउँ र यसका मूल्यप्रतिको मोह हो। ‘पुतलीको पखेटामा बसेको पृथ्वी’ यसको सबैभन्दा बलियो प्रत्याभूति पनि हो। कथामा पुतलीलाई विम्ब बनाएर ग्रामीण सौन्दर्यको कथा लेख्ने एकजना जापानी महिलालाई चित्रित गरिएको छ, जसलाई प्रशासनले आन्दोलनमा सरिक भएको भनेर जेल चलान गर्छ। पछि गल्ती भएको भन्दै रिहा पनि गर्छ। उनै लेखिकाको पुस्तक ‘लाइफ : ए बटरफ्लाई’ले नोबेल पुरस्कार पाएपछि उनको विचारले वैश्विक स्वीकृति पाउँदा पनि यता दार्जिलिङका गाउँको जमिनी यथार्थ फरक भएको जिकिर कथाले गरेको छ। गाउँलाई सत्ताले चिन्दैन। नोबेल पुरस्कारको परम्परामा पुस्तकले नभई योगदानले पुरस्कार पाउने यथार्थको सही चित्रणबाट भने कथाकार चिप्लिएका छन्।

‘मासुबिनाको मान्छे’ छोराको आशमा छोरीको निरन्तर भ्रूण हत्याको कथा हो। कथ्य नयाँ लाग्दैन। लोग्नेको करकापको विरोधमा चिठी लेखेर उसलाई छोडेकी सुनीताको निर्णय नेपाली साहित्यमा एउटा पुनरावृत्त विषय हो। ‘च्यातिएको छाया’ महिला समलिंगीहरूको चित्रणमा केन्द्रित छ, जसमा जुली र जेनितको आकर्षण जुली अर्कैसँग लागेपछि उसको हत्यामा परिणत हुन्छ। यस घटनालाई नजिकबाट हेरिरहेको प्रहरी इन्स्पेक्टर आफ्नै छोरीहरूको बढ्दो मेलमिलाप देखेर कतै त्यो समलैंगिकतामा परिणत हुने त होइन भनेर सशंकित हुन्छ। कथाको गर्भमा रहेको कथ्य नयाँ लाग्दैन। ‘फरक’ फेरि पनि मिसेस बुद्धको कथा हो, जसले उनको जीवनकुण्ठाको रहस्य खोलेको छ। उनको फरकपन भनेकै पुरुषको नांगो आवरण मन पराउनु हो। न्युड पेन्टिङ बनाउने उसको बुद्ध अर्थात् ड्रिम सङ प्रदर्शनीका लागि भन्दै अमेरिका गएर नफर्केपछि उनमा यस्तो स्वभाव विकसित भएर आएको छ।

इजलासमा मनोज

लेखनको करिब दुई दशक पूरा हुँदा मनोजले लेखन र मूल्यांकनको एउटा मापदण्ड बनाए र लेखन आर्थिक–सामाजिक रूपान्तरणको विषय हो भने। उनले कवितामा इमानदारीपूर्वक आफूले बनाएका मान्यतालाई अंगीकार गरे। तर, कथामा उनले आफूले बनाएको बाटो छोडेकै हुन् र मान्छेको स्वभाव र मनोविज्ञानको उत्खननतिर लागेका हुन्। जटिल निर्मिति र विम्बात्मक लेखनबाट उनले मनोवैज्ञानिक विषयहरू पस्केका छन्, जसमा शीर्ष कथाको गाउँ प्रेमबाहेक अन्य कथा आममानिसका दैनन्दिनका कथा होइनन्। ती विशिष्ट स्वभावका विशिष्ट मान्छेका कथा हुन्। मनोजको आजसम्मको कमिटमेन्टलाई एकातिर छोडेर हेर्ने हो भने यी कथा स्वतन्त्र हिसाबले कथा लेखनमा अपरम्परित प्रयोगशीतला र सौन्दर्यका नयाँ प्रतिमान अवश्य हुन्, तर मनोजको पुरानो प्रतिबद्धताको भूतले भने यी कथाको व्याख्या हुन सक्दैन। यी कथामा मनोज नयाँ सर्जक हुन्।

केही समस्या पनि छन् कथामा। कथाले नमागे पनि उनी आफ्नो निजी ईश्वरविरोधी र मोदीविरोधी रवैया देखाउन छोड्दैनन्। कथाको समयातीत आयतनमा सामयिक पर्खाल खडा गरिदिएको उनी पत्तो पाउँदैनन्। उनी धेरै ठाउँ निर्णयात्मक छन्, जुन कुराले उनले विम्बविश्लेषण गर्ने पाठकीय सामथ्र्यमाथि शंका गरेको बताउँछ। आदरार्थी शब्दको प्रयोगमा विचलन यथेष्ट छ। एउटै पात्रको नाममा पनि फरकफरक हिज्जेले सम्पादन पक्षको लापरबाही देखाउँछ। ‘पुतली पखेटामा बसेको पृथ्वी’ शीर्षकको कथामा जापानी लेखिकाले जुलुस हेरेकै आधारमा पक्राउ पर्नु परेको घटना कथामा ठीक बस्दैन। यो फगत प्रशासनको विरोधको वातावरण सिर्जना गर्नका लागि कथाकारले रचेको एउटा इपिसोडिक प्लट हो। ‘मासुबिनाको मान्छे’को कथाले ईश्वर अथवा अनिश्वरवादको विषय माग्दैन, तर यसलाई तान्नु लेखकले आफ्नो वैचारिक आग्रह देखाउनुबाहेक अरू प्रयोजन कतै पनि छैन। अंग्रेजी शब्दप्रतिको मोहले उनको काफरे अमेरिका भन्ने कलम डगमगाएको बताउँछ।

राजा पुनियानीको ढाडस

‘बटरफ्लाई : ए फिक्सनल पोस्टमार्टम’मा कवि राजा पुनियानीले मनोज बोगटीको भरपूर बचाउ गरेका छन्। निकै अनौपचारिक शैलीमा राखिएको यो खण्डले मनोजलाई प्रयोगवादिताको एक कुशल शिल्पीको रूपमा चित्रण गरेको छ, जो सही पनि हो। तर, हरेक कथा आफैंमा एउटा फिलोसफी हो भन्ने राजाले कथामा पुनरावृत्त कथ्यलाई के भन्ने हुन्, थाहा छैन। उनले कथामा डेब्यु गरिरहेका मनोजलाई कतै अल्बेयर कामु त कतै टीएस इलिएटसँग तुलना गरिदिएर एउटा अस्वाभाविक गह्रुँगो भारी बोकाएका छन्, जब कि साँचो अर्थमा यी दुवै लेखकको विश्वदृष्टि र प्रयोगधर्मितासँग मनोज बोगटीको लाइन कतै पनि मेल खाँदैन। मनोजको आफ्नै दाबी भने यस्तो छ, ‘मलाई लाग्छ, यी कथाहरू कथा बन्ने तयारीमा छन्। कुनै दिन कथा बन्लान्।’

अंग्रेजी शब्दको अतिशय प्रयोगले बुझ्नै कठिन भएको यस भूमिका पढेपछि लाग्छ, यी हस्तक्षेपीहरू किन यतिविधि अंग्रेजीभिरु भएका होलान्। एक ठाउँ राजा पुनियानी लेख्छन्, ‘कविबाट कथाकार भइसकेको मनोज बोगटी उसकै कथाको एउटा कुनै हस्तक्षेपी पात्रझैं टुलुटुलु मात्र हेरिरहेको थियो।’ हस्पक्षेपी पात्र कसरी यति लाचार हुन सक्छ ? पुनियानी आफ्नै निर्मितिको हस्तक्षेपीमाथि विश्वास गर्छन् कि गर्दैनन् ? अथवा बहकिन्छन् लेखाइमा ? ‘मरा’ले मिलेर सोचून्। सोच्दा, उनीहरूले ती अविकसित र निरक्षर गाउँले कामदारको अनुहार पनि मनमा राखून्, जसका लागि कथा लेखिनु जरुरी छ, र ती गाउँलेहरूले आफैंले कथा वाचन गरेर कुरो बुझ्नु पनि जरुरी छ। कि प्रतिबद्धता अलि खुकुलो बनाऊन्। कि लेखनमा अलि सरल र अलि तरल बनून्।


लेखक : मनोज बोगटी

प्रकाशक : सांग्रिला पुस्तक प्रालि

पृष्ठ : १२३

मूल्य : रु. २५०/–


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.