‘प्रदेश सरकार प्राधिकरण होइन भन्ने बुझ्नुपर्छ’

‘प्रदेश सरकार प्राधिकरण होइन भन्ने बुझ्नुपर्छ’

 जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्ना गुनासा संघीय सरकारका मन्त्रीलाई सुनाएका छन्। मुख्यमन्त्री राउतले संघबाट प्रदेश सरकारलाई महत्व नदिई विभिन्न निर्णय गरिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसमक्ष गुनासो पोखेका हुन्।

उनले प्रदेश सरकारको नियमित काम प्रभावित हुने गरी सचिव तथा कर्मचारीको सरुवा र पदस्थापन कार्यमा जानकारी नगराएको भन्दै आपत्ति जनाए। ‘यो प्रदेश सरकार हो, प्राधिकरण होइन भन्ने संघीय सरकारले बुझ्नुपर्ने हो’, उनले भने, ‘रातारात कर्मचारी सरुवा गरिनुको कारण हामीले बुझ्न पाएनौं।’ बल्लतल्ल आफ्नो काम बुझेर नीति तथा कानुन बनाउन लागेका सचिवको सरुवाले प्रदेशको कामकाज प्रभावित पारेको उनको भनाइ छ।

संघीय मामिला र प्रदेश सरकारको संयुक्त आयोजनामा जनकपुरमा आइतबार सुरु ‘समृद्धिको सपना, सम्पन्न प्रदेश २ को चाहना’ कार्यक्रम उद्घाटनसत्रमा उनी यसरी गुनासिएका हुन्। उनले प्रदेश २ को विकासका लागि संघीय सरकारले विशेष रूपमा हेर्न आवश्यक रहेको बताए।

मन्त्री पण्डितले प्रदेश २ विकासको ब्रान्ड बनोस् भन्ने शुभकामना दिएका थिए। ‘जनकपुरको माछाको देशभर ब्रान्ड भएजस्तै प्रदेश २ विकासको ब्रान्ड बनोस् भन्ने कामना छ। तर, यो अरूले बनाउने होइन, हामी सबै मिलेरै बनाउनुपर्छ’, उनले भने, ‘म यो प्रदेशमा खुसीभन्दा पीडा बढी पाउँछु। त्यो पीडालाई खुसीमा रूपान्तरण गर्दै समृद्धिको यात्रामा हामी अघि बढ्नुपर्ने आवश्यकता छ।’

एक साताभित्र २ हजार ३ सय ४३ कर्मचारी दरबन्दी स्वीकृत हँुदै छ। त्यसपछि कर्मचारीको उचित व्यवस्थापन हुनेछ।’
-लालबाबु पण्डित, मन्त्री संघीय मामिला तथा सामान्य प्रशासन

राजनीतिक संक्रमणकाल सकिए पनि प्रशासनिक तहमा समस्या रहेको उनको भनाइ थियो। ‘कुनै प्रदेशमा होस् या स्थानीय तहमा जाँदा मेरो फोन लागिहाल्यो भने कर्मचारीले कहिले बिदा लिन सक्छु वा सरुवा गरियोस् भन्ने कुरा आइहाल्छ’, उनले भने, ‘दिनमा १० जनाले तुरुक्क आँसु नचुहाएको दिन छैन। मुलुक संघीयतामा गइसके पनि हामीले त्यसलाई सबैले आत्मसात् गर्न सकेका छौं कि छैनौं भन्ने प्रश्न छ।’

स्थानीय तहमा कर्मचारीले काम प्रभावित गरेर हिँड्ने क्रियाकलापलाई लक्ष्य गरी उनले भने, ‘भागेर हिँडेकालाई म मेरो मन्त्रालयको कम्पाउन्डमा छिर्न पनि दिन्नँ, कुरा सुन्नु त परको कुरा हो।’ कतिपय ठाउँमा जनप्रतिनिधिले पनि गलत ढिपी लिएको उनको भनाइ थियो। ‘यस्तो गर्नु भयो भने समृद्धिको यात्रामा पछाडि पर्नुहुन्छ’, उनले भने, ‘सफल संघीयताको बाटोमा हामी पछाडि पर्छौं।’

उनका अनुसार एक साताभित्र २ हजार ३ सय ४३ कर्मचारी दरबन्दी स्वीकृत हुन लागेको छ। त्यसपछि कर्मचारीको उचित व्यवस्थापन हुने उनको भनाइ थियो। ‘प्रदेशमा कर्मचारी भएन, कार्यालय भएन, प्रविधि भएन भन्ने समस्या छन्’, उनले भने, ‘तर, यसमा हामीले के बुझ्नुपर्छ भने संघीयतामा हामी बालक छौं र सेरलेक खाँदै बलियो हुँदै छौं।’

नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रदेश २ को समृद्धिका लागि कार्यक्रमबाट मार्गचित्र कोरिने र त्यसकै आधारमा रणनीति बनाई विकासको पथमा अघि बढ्ने योजना रहेको बताए। ‘पर्याप्त सम्भावना हुँदाहुँदै पनि यो प्रदेश विकासको गतिमा किन पछि पर्न गएको हो भनेर बृहत् विश्लेषण हुनु आवश्यक छ’, उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.