सामान्य वर्षामै झापाका ८५ बस्ती बाढीको जोखिममा

सामान्य वर्षामै झापाका ८५ बस्ती बाढीको जोखिममा

बिर्तामोड : भत्किएका सडक र थुनिएका ढल समयमा मर्मत नहुँदा झापाको बिर्तामोडसहित मुख्य बजार सामान्य वर्षामा समेत डुब्न थालेको छ।वर्षा सुरु भएसँगै ढलको व्यवस्थापन नहुँदा बिर्तामोडको भद्रपुर रोडमा खोलिएका पसलमानै ढल पस्न थालेको छ। 

सोमबार बिहानैदेखि ढलको पानी बग्दा सडक जलमग्न भएका छन्।सडकमा ठूला खाल्डामा पानी जम्दा स्थानीयलाई हिँडडुल गर्न र सवारी साधन समेत सञ्चालन गर्न समस्या भएको स्थानीयले गुनासो गरेका छन्।

बिर्तामोडको मुक्ति चोकदेखि बिर्ताबजारसम्मका अधिकांश घरको भुइँतलामा ढलको पानी पसेको छ। सडक डिभिजन कार्यालय र नगरपालिकाले केही महिनाअघि सडक आसपास अतिक्रमण गरी बनाइएका संरचना र ढल भत्काएर त्यतिकै छाड्दा अहिले ढल सडकहुँदै घरभित्र पस्न थालेको बिर्तामोड भद्रपुर रोडका स्थानीय नरेश खतिवडाले बताए।'पहिले सडक फराकिलो बनाउने भन्दै ढल र संरचना भत्काइयो, बनाउने वास्ता गरेनन्, अहिले सोही कारणले हामीले डुबानको समस्या भोग्नु परेको छ' खतिवडाले भने।

वर्षौदेखि सडक भत्किएर अस्तव्यस्त बनेको भद्रपुर रोडको यो भाग सडक डिभिजन कार्यालयले समयमा ठेक्काको काम नगर्दा यो वर्ष पनि स्थानीले डुबानको समस्या भोग्नुपरेको छ। सडकमा जम्मा हुने पानीको व्यवस्थापन सडक डिभिजनले नै गर्नुपर्नेमा मुक्तिचौक पूर्वको सडक किनारको ड्रेन मुक्तिचौक दक्षिण भद्रपुर रोड मोडिने ठाउँमै ल्याएर टुङ्ग्याए पछि समस्या बढेको स्थानीयको आरोप छ। 

'पूर्वबाट जम्मा भएर आउने पानी मुक्ति चोकहुँदै भद्रपुर रोडतर्फ गएर डुबान गर्ने गरेको छ, यसको समाधान सडक डिभिजन कार्यालयले समयमानै गरेको भए यस्तो समस्या हुने थिएन,' भद्रपुर रोडका व्यवसायी घनश्याम श्रेष्ठ बताउँछन्। 

मुख्य सडक किनारमा बनाएको ड्रेनमा पानी नआउने र आएको पानी पनि ड्रेन टुङ्गिएको ठाँउबाट सडकमा निस्कने गरेको छ। मुक्तिचौक पूर्वको सडकमा जम्मा भएको पानी भद्रपुर रोडतर्फ जाँदा र सडकमै पानी जम्दा कालोपत्रे सबै भत्किएको छ।

उक्त पानी व्यवस्थापनका लागि सडक डिभिजनले विनियोजन गरेको बजेट अन्यत्रै लगेर खर्च गरिएकाले काम नभएको यो स्थानका स्थानीय तथा व्यापारी बताउँछन्। यता सडक डिभिजन कार्यालयले भने यो सडक र ढल निर्माणका लागि टेण्डर लागिसकेकाले अब मर्मत र निर्माण हुने जनाएको छ। 

बिर्तामोड मात्र होइन झापाकै अर्को ठूलो सहर दमक पनि सामान्य वर्षामानै डुब्न थालेको छ। अव्यवस्थित बसोवास तथा पानीको निकास  नहुँदा प्रत्येक वर्ष वर्षाद्का समयमा दमक डुबानमा पर्ने गरेको हो। 

दमक- ६ स्थित देवकोटा चोकमा निर्माणाधिन कल्भर्टको काम सम्पन्न नहुँदा यस क्षेत्र बढी डुब्ने गरेको छ। देवकोटा चोक आसपासक पसलमा पानी पसेर लाखौको क्षती भएको व्यवसायीले बताएका छन्। 

सडकमानै थुपारिएका निर्माण सामाग्रीको उचित व्यवस्थापन नहुँदा वर्षाको पानी पसलभित्र पसेको चोकका व्यापारी राजेन्द्र लिम्बू बताउँछन्। यता वडा नम्बर ६ का वडा सदस्य कमल श्रेष्ठ भने अव्यावस्थित रुपमा सडकमा थुपारिएका निर्माण सामाग्रीलाई व्यवस्थित गरेर समस्याको समाधान गर्ने बताए। 

सामान्य वर्षा हुनसाथ दमकको बसपार्क क्षेत्र र मुख्य राजमार्गमा समेत दुई फुटसम्म पानी जम्ने गरेको छ। भलले निकाश पाउन नसक्दा दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालको आकस्मिक कक्षमा समेत पानी पस्ने गरेको अस्पतालका अध्यक्ष जिवन शिवाकोटीले बताए।

दमक बजारको पानीको निकाशका लागि मुख्य मानिने गरिएको दिपेनी खोलामा सबै पानी बग्ने संभावना कम हुँदै गएपछि व्यवस्थित गर्न आवश्य रहेकाले नगरमा छलफल भइरहेको दमक- ५ का वडा अध्यक्ष इन्द्र गुरुङले बताए। 

अव्यवस्थित रुपले गरिएको प्लटिङ र नासिदै गएका खोला खोल्साका कारण दमकमा अहिले यो समस्या जटिल बन्दै गएको- ५ का स्थानीय यदुनाथ गौतमले बताए।

नदी किनारका बस्ती जोखिममा

रेडक्रस सोसाईटी झापाले निकालेको तथ्याङ्क अनसार झापाका आधा दर्जन स्थानीय तहका करिब ८५ वटा बस्ती बाढी र डुबानको उच्च जोखिममा रहेका छन्। झापको कन्काई, बिरिङ, रतुवा, मेची, निन्दा, हडिया, टाङटिङ र कमल-बनियानी नदीले आसपासमा रहेका ति बस्ती बाढीको उच्च जोखिममा रहेका हुन्। 'बढि क्षति पुर्‍याउने नदी यिनै हुन् रेडक्रस जिल्ला सभापति लोकराज ढकालले भने,' यसको आसपासका सबै बस्तीलाई हामीले जोखिमको सूचिमा राखेका छौ।' झपाको कमल, गौरीगञ्ज, झापा, कचनकवल, बाह्रदशी गाउँपालिका र शिवसताक्षी नगरपालिका क्षेत्रबाट यि नदीहरु बगेका छन्। 

कन्काई नदीको बाढीका कारण मात्र यस वर्ष २४ वटा बस्ती जोखिममा देखिएको छ भने, बिरिङ नदीको बाढीका कारण १३ वटा, नेपाल-भारतको सीमाना भएर बग्ने मेची नदीका कारण १२ वटा बढी र दुहागढीको तेलियाडाँडा, मिलडाँडा र टाङटिङ खोलाका कारण दुई दर्जन बढी बस्ती जोखिममा रहेको सभापति लोकराज ढकालले बताए।

झापाका ८ वटा खोला र नदीले वर्षेनी ठूलो धन जनको क्षति पुर्‍याउँदै आएको छ। झापामा साना-ठूला गरी २७ वटा नदि छन्। झापामा पछिल्ला तीन वर्षमा बाढी र डुबानकै कारण २० जनाको मृत्यु भएको ७ जना अझै हराएको नेपाल रेडक्रस सोसाईटी झापाको तथ्याङ्कमा उल्लेख गरिएको छ। 

यो वर्ष पनि वर्षात् हुनासाथ क्षति पनि सुरु भएको रेडक्रस जिल्ला सभापति लोकराज ढकालले बताए। केही दिन अघिको वर्षका कारण कमल गाउँपालिका ६ र ७ का दुई स्थानमा खोलाले कटान गर्दा बाटो र कल्भर्ट भत्काएको छ। गोलधाप-१ का निर्माणाधीन पक्की पुल पनि क्षतिग्रस्त भएको छ। कमल-७ को रंगपुरदेखि बाह्रघरे जाने सडकको एक कल्भर्ट खोलाले बगाएपछि त्यस क्षेत्रको आवत जावतमा समस्या भएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.