मोदीको स्वागतमा गरिएको करोडौं लगानी बाढीले स्वाहा
जनकपुर : दुई महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा एक करोडभन्दा बढी रकम खर्चेर सुन्दर बनाइएको जनकपुरको बाह्र बिगाहा मैदान पोखरीमा परिणत भएको छ ।
दुई दिन लगातार परेको वर्षाको पानी जम्मा भएर मैदान पोखरीमा परिणत भएको हो । जनकपुर भ्रमणको बेला मोदीलाई यसै मैदानमा जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गरेको थियो ।
त्यतिबेला मैदानलाई व्यवस्थित र सुन्दर बनाउन प्रदेश सरकारले दिनरातको अथक प्रयास गरेको थियो । मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलको प्रत्यक्ष रेखदेखमा बाह्रबिगाहाको व्यवस्थापन गरिएको थियो ।
भारतीय प्रधानमन्त्री आउने भएपछि मैदानलाई चारैतिरबाट ग्राभेल र माटो हाली व्यवस्थित बनाइएको थियो । त्यतिबेला पानी पर्दा मैदानमा पानी जम्न नदिन दमकलको व्यवस्था गरी दिनरात पानी तान्ने काम गरिएको थियो । मैदानको चारैतिर पर्खाललाई जनकपुर उपमहानगरपालिकाले केसरिया रंगले रंगाउनुका साथै मिथिला चित्रकलासमेत कोरिएको थियो ।
तर भारतीय प्रधानमन्त्रीको भ्रमण सकिएपछि पुनः बाह्रबिगाहाको अवस्था बर्खाका कारण जस्ताको तस्तै भएको हो । बाह्रबिगाहामा त्यतिबेला प्रदेश सरकार र उपमहानगरपालिकाबाट करिब एक करोड खर्च भएको बताइए पनि हालसम्म प्रदेश सरकार तथा उपमहानगरपालिकाले मोदी भ्रमणको बजेट सार्वजनिक गरेका छैनन् ।
बर्खाले मैदानको सौन्दर्य बिगारेको र पानीको निकासका लागि कुनै व्यवस्था नहुँदा थोरै वर्षा हुँदा पनि मैदानको अवस्था बेहाल बनेको युवाअगुवा सरोज मिश्र बताउँछन् । उनी भन्छन्, ‘यस क्षेत्रका जनता नै सुस्त छन् । सम्बन्धित निकायले करोडौं खर्चेको स्थान दुई महिना नबित्दै बिजोग अवस्थामा पुग्यो, तर पनि कसैले आवाज उठाउँदैनन्, योभन्दा ठूलो विडम्बना अरु के होला ?’
भारतीय प्रम मोदीको भ्रमणका क्रममा करोडौं खर्चिएको बाह्रबिगाहा मैदानको सौन्दर्यीकरण तथा प्रबर्द्धनका लागि भारत सरकारको आर्थिक सहयोगमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले यसअघि नै तीन करोड खर्चिसकेको छ । परिषद्बाट सोही मैदानका लागि विभिन्न चार निर्माण व्यवसायी कम्पनीलाई दुई करोड ७० लाखभन्दा बढी रकम भुक्तानीसमेत भइसकेको छ ।
मैदानमा शौचालय निर्माण गर्ने, माटो पुरेर जमिनलाई समथर बनाउने, कम्पाउण्ड वाल निर्माण गर्ने र घेराबन्दी गर्ने कामका लागि चार कम्पनीलाई ठेक्का दिई काम गराइएको थियो । तर ती काममा व्यापक भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले योजनाका सबै फाइल छानबिनका लागि जफत गरी अनुसन्धान प्रक्रिया थालेको थियो ।
प्रतिक्रिया दिनुहोस !