नेकपाको सचिवालय बैठक बस्ने तयारी
काठमाडौं : नेकपाले पार्टी सचिवालय बैठक बोलाएको छ । पार्टीका प्रदेश, जिल्ला कमिटी र भ्रातृ संस्थाहरूको एकीकरणका लागि कार्यदल गठन गरी काम गरिरहेको नेकपाले अहिलेसम्मका तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न सचिवालय बैठक डाकेको नेकपा नेता कृष्णगोपाल श्रेष्ठले बताए ।
बैठक बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । सचिवालयको यो तेस्रो बैठक हो । बैठक बोलाउनुअघि मंगलबार दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलबीच बालुवाटारमै बैठकका एजेन्डालगायत विषयकेन्द्रित छलफल भएको थियो । सचिवालय बैठकमा पार्टीको विधान तथा नियमावली टुंगो लगाउने छलफल पनि हुनेछ । असार २ मा नेकपाको स्थायी समिति बैठक बसेको थियो । तीन महिनाभित्र पार्टीका तल्ला कमिटी तथा जनवर्गीय संगठनहरूको एकीकरण सक्ने योजना बनाए पनि दुवै अध्यक्ष यसबीच देश बाहिर रहेकाले आन्तरिक काम प्रभावित बनेको थियो ।
प्रधानमन्त्रीसमेत रहेका ओली उत्तरी छिमेकी चीनको भ्रमण र अर्का अध्यक्ष दाहाल पत्नी सीताको उपचारका लागि सिंगापुर गएपछि पार्टीका काम प्रभावित भएका थिए । ओली १० असारमा र दाहाल १७ असारमा मात्र स्वदेश फर्किएका थिए । पार्टीका महत्वपूर्ण निर्णय लिनुपर्दा वा बैठक बोलाउनु पर्दा दुई अध्यक्षको सहमति र निर्देशनका आधारमा महासचिवले बोलाउने विधानतः व्यवस्था छ ।
नेकपाको पार्टी विधान तथा नियमावलीमा स्थायी समिति सदस्यहरूले असार २ को बैठकमा सुझावसहित परिमार्जनको आवश्यकता औंल्याएपछि १२ असारसम्म लिखित सुझाव पेस गर्न महासचिव पौडेलले नेताहरूलाई पत्राचार गरेका थिए । नेकपाले विधान तथा नियमावलीको अन्तिम टुंगो लगाउन पनि बाँकी छ । विधान तथा नियमावली टुंगो नलाग्दा आन्तरिक एकताको काम प्रभावित हुँदै आएको छ ।