जुम्ल्याहा दाजुभाइको फुटबलमोह

जुम्ल्याहा दाजुभाइको फुटबलमोह

‘मेरो नसानसामा रगत होइन फुटबल कुद्छ’ । यो चर्चित भनाइ हो, महान् फुटबल खेलाडी पेलेको । काठमाडौंको ठूलो टुँडिखेलमा हरेक बिहान र साँझपख अत्तालिँदै आइपुग्ने राम र लक्ष्मणलाई देख्दा पनि त्यस्तै लाग्छ । मानौं, उनीहरूको नसामा पनि फुटबल नै कुदिरहेको छ । उनीहरू बिहान ५ नबज्दै उठ्छन् । हतारहतार हातमुख धुन्छन् । स्कुल ब्यागमा जर्सी र पुरानो फुटबल बुट कोच्छन् । मैलो बुट छुट्टै झोलामा बाँधेर राख्छन् । त्यसपछि करिब आधा घन्टा हिँडेर क्षेत्रपाटीको कोठादेखि टुँडिखेलसम्म हिँडेरै आइपुग्छन् ।

१२ वर्षीय राम र लक्ष्मण जुम्ल्याहा हुन् । पद्मोदय स्कुलमा कक्षा ६ मा पढ्दै गरेका उनीहरू फुटबलका फ्यान हुन् । बिहानबेलुकी उनीहरू फुटबल खेल्न खेल मैदान चहार्छन् । उनीहरूसँग गोजीमा पैसा हुँदैन । फुटबल खेल्नकै लागि उनीहरू कहिले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसको आँगनमा पुग्छन् त कहिले नेपाल ल क्याम्पसको खेल मैदानमा । उनीहरू टुँडिखेलमा पनि बाक्लै भेटिन्छन् ।

बिहान टुँडिखेलमा मानिसको चहलपहल बाक्लै हुन्छ । साँझमा अलि कम । स्कुल छुट्टी भएपछि राम र लक्ष्मण हतारिँदै टँडिखेल पुग्छन् । खेलको नियम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल र खेलाडीका बारेमा पनि दाजुभाइ पूरै अपडेट छन् ।

शनिबार भने दिनभर उनीहरूको टुँडिखेलमै बास हुन्छ । उनीहरूलाई विश्वकपबारे पनि थोरबहुत थाहा छ । दुवै दाजुभाइ ब्राजिलका फ्यान हुन् । उनीहरू ब्राजिलका खेलाडी नेमारसँग मिल्दोजुल्दो १० नम्बरको जर्सी पनि लगाउँछन् । रामको जर्सी लक्ष्मणको भन्दा अलि फोहोर देखिन्छ ।

उनीहरू अलिअलि च्यातिन थालेको बुटको लेस बाँध्छन् र जोशका साथ मैदानमा प्रवेश गर्छन् । मानांै, उनीहरू पनि विश्वकप खेल्ने तयारीमा छन् । उमेर र कदले उनीहरूलाई सधैं धोका दिन्छ । ‘तिमीहरू अलि सानै छौ, अहिले नै टिममा फिट हुँदैनौ ।’ फुटबल खेल्न आएका १६÷१७ वर्षका दाइहरूबाट जवाफ आउँदा राम लक्ष्मण चुपचाप सुनिरहन्छन् ।

एकैछिनमा खेल सुरु हुन्छ । राम र लक्ष्मण घाँसे मैदानमा टुसुक्क बस्छन् । फुटबल खेल्न नपाए पनि अरूले खेलेको हेरेर चित्त बुझाउँछन् । दुवै एकतमासले फुटबलतिर नियाल्छन् । अरूले खेलेको हेरेरै उनीहरू रोमाञ्चित हुन्छन् ।

टुँडिखेलको घाँस निमोठ्दै दुई दाजुभाइको बातचित चल्छ । ‘हामी सानै छौं, हामीलाई खेलमा सहभागी गराइए पनि हाम्रो टिमले हार्छ ।’ कुरा चल्दै गर्दा हावा आधा फुस्किएको थोत्रे बल दुई भाइको बीचमा उडेर आउँछ । ‘ओ भाइ बल फाल त ।’ तर, राम लक्ष्मणले बल फिर्ता गर्दैनन् । दुई हातले बललाई प्रेमपूर्वक उठाउँछन् र हावामा फ्याँक्दै खुट्टाले बललाई थाम्छन् ।

रामले भाइलाई आदेश दिन्छन्, ‘लक्ष्मण तँ अलि पर जा ।’ लक्ष्मण कुदेर करिब चार मिटर पर उभिन्छन् । रामले लक्ष्मणलाई बल पास गर्छन् । यत्तिकैमा पाँच फिटभन्दा अग्ला दाइ आउँछन् र फुटबल खोस्न थाल्छन् । तर, लक्ष्मण दाइलाई छलेर रामतिर बल फ्याँक्छन् । राम पनि बल त्यो दाइको खुट्टामा पर्न दिँदैनन् । त्यहाँ उपस्थित सबै दंग पर्छन् ।

यत्तिकैमा खेलाडी दाइहरू मध्येबाट आवाज आउँछ । ‘गज्जब भाइ तिमीहरू । आऊ नयाँ टिम बनाएर खेलौं ।’ राम र लक्ष्मणको खुसीको सीमा रहँदैन । बुटको लेस बाँध्दै मैदानतिर दौडन तम्तयार हुन्छन् । परबाट आवाज आउँछ, ‘तर एक बाजी राखौं ।’ ‘जसले हार्छ त्यसले चार बोतल पानी पिलाउनुपर्छ ।’ यो सुनेर नयाँ टिम हच्किन्छ । नयाँ टिमका एक युवा निराशा व्यक्त गर्छन् । ‘यी फुच्चेलाई खेल्न दिएर के गर्नु ? ठूलाहरूले एक धक्का दिएर लडाइहाल्छन् । अनि हामी त्यत्तिकै हार्छौं ।’ दुवै घाँसे मैदानमा फेरि टुसुक्क बस्छन् ।

दाजुभाइबीच विश्वकप २०१८ को चर्चा चल्छ । राम भन्छन्, ‘यसपालि अर्जेन्टिनाले राम्रो खेलेन ।’ लगत्तै लक्ष्मण बोल्छन्, ‘ब्राजिलको नेमारले पनि खासै राम्रो गर्न सकेको छैन ।’ तर स्पेनको टिमलाई चाहिँ मान्नैपर्छ है ? राम सहमतिमा टाउको हल्लाउँछन् र आफ्नो ध्यान टुँडिखेलमा चलिरहेको फुटबलतिर केन्द्रित गर्छन् । लक्ष्मण पनि खेलमैदानमा कोही मेसी, कोही नेमार र कोही रोनाल्डो जस्ता देखिने खेलाडी दाइहरूलाई एक तमासले हेर्न थाल्छन् ।

एकैछिनपछि दाजुभाइबीच मौनता छाउँछ । परबाट हुत्तिएर आएको क्रिकेट बलले उनीहरूको मौनता भंग गर्छ । अनि फेरि दाजुभाइबीच गफ चल्छ । ‘नेपालमा त केही खेल पनि राम्रो हुन सकेको छैन । न फुटबल न क्रिकेट ।’ ‘सन्दीप लामिछाने, विमल घर्तीमगर जस्ता एकदुई दाइहरू मात्र राम्रा छन् । अनि हामी सानै छौं ।’ दुवै एकअर्काको मुख हेर्दै हाँस्छन् ।

साँझ झन्डै ७ बज्न लाग्दा दुवै दाजुभाइ हत्तपत्त बुट खोलेर ब्यागमा कोच्छन् र थोत्रा चप्पल लगाउँछन् । स्कुल ब्याग बोकेर घर प्रस्थान गर्नै लाग्दा लक्ष्मण फेरि टुसुक्क चउरमा बस्छन् । लक्ष्मण आफ्नै सुरमा बोल्न थाल्छन्, ‘हामी अन्डर सेभेन्टिनमा छनोट हुने दिन कहिले आउला ? ’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.