प्रधानमन्त्रीले चिकित्सकलार्इ भने-  ‘केसीलाई तपाईंहरू नै बचाउनुस्’

प्रधानमन्त्रीले चिकित्सकलार्इ भने-  ‘केसीलाई तपाईंहरू नै बचाउनुस्’

काठमाडौं  : चिकित्सकहरूले प्रधानमन्त्री केपी ओलीलाई भेटी डा. गोविन्द केसीको जीवन रक्षार्थ पहल गर्न आग्रह गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री ओलीलाई भेटेर उनीहरूले चिकित्सा शिक्षा अध्यादेश अक्षरशः लागू गर्न पनि माग गरेका हुन् ।

चिकित्सकहरूले प्रधानमन्त्रीलाई बिहानै भेटेर जीवन रक्षाका लागि ज्ञापनपत्र बुझाउन चाहे पनि उनले भेट दिएका थिएनन् । ज्ञापनपत्र बुझाउन नपाएको झोंकमा चिकित्सकले सबै प्रकारका सेवा ठप्प पार्ने कडा चेतावनी दिएपछि साँझ प्रधानमन्त्रीले भेट्ने समय दिएका थिए ।

साँझ चिकित्सकको ज्ञापनपत्र बुझे पनि प्रधानमन्त्री ओली आफ्नो पूर्ववत् अडानमा टसमस नभएको भेटमा सहभागी एकजना चिकित्सकले अन्नपूर्णलाई जानकारी दिए । ओलीले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने केसीको माग सम्बोधन गर्न नसकिने बताएका थिए ।

ज्ञापनपत्र लिएर गएका चिकित्सकसँग प्रधानमन्त्रीले डा. केसीका माग विपरीतका प्रश्न गरेका थिए– काठमाडौंमा किन मेडिकल कलेज खोल्न नपाउने ? सम्बन्धन किन नदिने ? नेपाली विद्यार्थी विदेश पढ्न गइरहेका छन्, किन नरोक्ने ?

ओलीलाई ज्ञापनपत्र बुझाउन नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठ नेतृत्वमा चिकित्सक टोली साँझ प्रधानमन्त्री निवास बालुवाटार गएको थियो ।

नौ दिनदेखि अनशनरत डा. केसीलाई मर्न नदिन आग्रह गर्दा प्रधानमन्त्री ओलीले चिकित्सकलाई नै डा. केसीको जिम्मा लिन भनेका थिए । ‘तपाईंहरू नै जीवन बचाउने व्यक्ति हो । मर्न नदिनुस्, बचाउनुस्’, भेटमा सहभागी एक चिकित्सकले प्रधानमन्त्रीालाई उद्धृत गर्दै अन्नपूर्णलाई जानकारी दिए ।

प्रधानमन्त्री ओलीले चिकित्सक संघका पदाधिकारीलाई कुनै पनि हालतमा बन्द र हड्ताल नगर्न समेत चेतावनी दिएका थिए । ‘उपचार सेवा बन्द गर्न वा हड्ताल गर्न पाइँदैन’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक चिकित्सकले भने । प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै केसीका माग सम्बोधन गर्न ७२ घण्टे अल्टिमेटम दिइएको नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बताए ।

चिकित्सक संघका अध्यक्ष श्रेष्ठले भने, ‘सार्वजनिक समारोह र घोषणापत्रमा एउटा कुरा गर्ने तर व्यवहारमा गरिब जनतालाई स्वास्थ्य सेवा सुलभ गराउने विषयमा बेवास्ता गरेको देखियो । प्रधानमन्त्री र मन्त्रीहरू पेलेरै जाने मनस्थितिमा देखिन्छन् । उनीहरूका बोली पनि असहिष्णु छन् । मन्त्रीका अभिव्यक्ति हेर्दा दुईतिहाइको दम्भ झल्किएको छ ।’ डा. श्रेष्ठले अनशनरत डा.केसीको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदा पनि सरकार गम्भीर नबन्दा सेवारत चिकित्सकमा आक्रोश थपिएको बताए ।

प्रधानमन्त्री ओलीसहित सञ्चारमन्त्री गोकुल बाँस्कोटा, कानुनमन्त्री शेरबहादुर तामाङ, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालका अभिव्यक्तिले आक्रोशको आगोमा घिउ थप्ने काम गरिरहेको डा. श्रेष्ठले दाबी गरे ।

गृह जिल्ला स्याङ्जामा आइतबार आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री अर्यालले भनेकी छन्, ‘काठमाडौंमा मेडिकल कलेज खोल्न पाइँदैन भन्न पाइन्छ ? मेडिकल कलेज खोल्न नदिनेप्रति सरकार सहमत हुन सक्दैन ।’

त्यस्तै शिक्षामन्त्री पोखरेलले राजधानीमा आइतबार आयोजित कार्यक्रममा डा. केसीलाई अनशन छाडेर काठमाडौंमा आउन आग्रह गरे ।

उनले सरकारलाई कानुनी शासनअनुसार काम गर्न दिन आग्रह गरे । ‘जुम्लामा होइन, काठमाडौंमा बसेर समस्या समाधान गर्न म डा. केसीलाई अनुरोध गर्छु’, उनले भने ।

केसीको आन्दोलनप्रति सरकारको व्यवहार रुखो भए पनि सत्तारुढ पार्टीका केही वरिष्ठ नेता भने केसीका मागमा सरकारलाई मध्यमार्गीको धारमा हिँड्न सुझाउने मनस्थितिमा छन् । नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले शनिबार सञ्चारकर्मीसँग भनेका थिए, ‘डा.केसीलाई सत्याग्रहीका रूपमा सम्मान गर्नुपर्छ ।’

बदलिएको परिस्थितिमा माथेमा कार्यदलले बुझाएको प्रतिवेदन र डा. केसीको माग सबै कार्यान्वयन गर्ने भन्दा पनि सामूहिक विवेक प्रयोग गर्नु पर्नेमा श्रेष्ठले सरकारलाई सुझाव दिएका छन् ।

१४ औं पटकसम्म काठमाडौंमा अनशन बस्दा सरकारले बेवास्ता गरेपछि डा.केसी जुम्लामा अनशनमा बसेका हुन् ।

प्रमुख प्रतिपक्षी कांग्रेसबाहेक प्रायः सबै दलको समर्थन पाएको दुईतिहाइको बहुमतको सरकारले पुरानो चिकित्सा शिक्षा अध्यादेशको सट्टामा ल्याएको प्रतिस्थापन विधेयकमा आफूअनुकूलका प्रावधान समेटेर संसद्मा दर्ता गरेपछि विवाद चुलिएको हो ।

मेडिकल शिक्षामा नेता–कार्यकर्ताको लगानी र मेडिकल कलेजका सञ्चालकको उठबसले मन्त्रीहरूलाई डा.केसीको माग पूरा गर्न कठिन हुने आन्दोलनरत चिकित्सकहरूको तर्क छ ।

माथेमा कार्यदलका सदस्य एवं चिकित्सा शिक्षा विज्ञ प्राध्यापक डा. अर्जुन कार्की राज्य अभिभावक भएको उल्लेख गर्दै ऊ संयमित हुनुपर्ने बताउँछन् । ‘विश्वव्यापी मान्यता र सिद्धान्तका आधारमा नेपालीको हितका लागि प्रतिवेदन आएको हो । केही व्यक्ति, केही संस्था तथा केही व्यापारीलाई अफ्ठ्यारो प¥यो भनेर वा उनीहरूको शक्ति केन्द्रमा पहुँच भएको कारणले त्यो सुझाव बेवास्ता र अवमूल्यन गरिनु मुलुकका लागि हितकर हुँदैन,’ कार्कीले भने ।

बहुमत छ भनेर सरकार एकतर्फी रूपमा अघि बढ्दा द्वन्द्व सिर्जना हुने डा. कार्कीले जिकिर गरे ।

यस्तो हुनेछ चिकित्सा आयोग

 चिकित्सा शिक्षा आयोग प्रधानमन्त्रीको अध्यक्षमा गठन हुनेछ । आयोगलाई चिकित्सा शिक्षा क्षेत्रमा अवलम्बन गर्नुपर्ने राष्ट्रिय नीति तय गर्र्नेअधिकार सुम्पिएको छ ।

शिक्षण संस्थाको नियमन गर्न तथा चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउन आयोगको स्थापना गरिने प्रस्तावित विधेयकमा छ । आयोग सहअध्यक्षमा शिक्षामन्त्री र स्वास्थ्यमन्त्री रहने छन् । आयोगले चिकित्सा शिक्षाको विषयमा आवश्यकताअनुसार विश्वविद्यालय र प्रतिष्ठानलाई निर्देशन समेत दिने सक्नेछ ।

मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पर्ने आशय पत्र, सम्बन्धन र सम्बन्धन खारेज सम्बन्धी नीति र मापदण्ड समेत तय गर्ने अधिकार गरी आयोगलाई दिएर प्रधानमन्त्रीलाई शक्तिशाली बनाउन खोजिएको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.