ठेकेदारको इच्छामा उपभोक्ता समिति

ठेकेदारको इच्छामा उपभोक्ता समिति

कमलामा बाढी नियन्त्रण योजना

 सिरहा : सिरहा नगरपालिका-६ बसपिट्टास्थित कमला नदीमा बाढी नियन्त्रणका लागि ६ करोड ५६ लाख लागतमा ‘स्पर’ निर्माण भइरहेको छ।

टेन्डरमार्फत ठूला योजना बनाउनुपर्नेमा यहाँ योजना टुक्र्याएर आधा दर्जनभन्दा बढी उपभोक्ता समिति खडा गरी ठेकेदारले काम गराइरहेका छन्। उपभोक्ता समितिमा पनि स्थानीयभन्दा ठेकेदारकै हालीमुहाली देखिएको छ भने कतिपय उपभोक्ता समितिमा ठेकेदार नै समितिका अध्यक्ष छन्।

उपभोक्ता समितिमा सम्बन्धित वडाका व्यक्ति मात्र बस्न पाउने प्रावधान छ। तर, यहाँ अन्य वडाका पनि समितिमा रहेको खुलेको छ। आफूहरूलाई थाहै नदिई उपभोक्ता समिति गठन गरिएको स्थानीय इन्द्रजित यादवले बताए। समिति गठनमा स्थानीयलाई बाइपास गर्नुले कर्मचारी र ठेकेदारको मिलेमतो देखिएको उनको भनाइ छ।

‘उपभोक्ता समिति गठन गर्न भेला बोलाइन्छ’, उनले भने, ‘तर, कसैलाई थाहै दिइएन, काम भइरहेको देखेपछि हामीले थाहा पायौं।’

स्थानीय जयप्रकाश गोइतले नदी नियन्त्रणका लागि पूर्वाधार निर्माण राम्रो कार्य भए पनि रीत पुर्‍याएर बजेट पचाउने काम ठीक नभएको बताए। ‘ठेकेदार र कर्मचारीले सेटिङमा काम गर्दै छन्’, उनले भने, ‘यी दुवै मिलेपछि हामी जनताले कराउनुबाहेक के नै गर्न सक्छौं र ! यहाँ रीत पुर्‍याउने काम मात्रै भएको छ।’ ठोस काम हुन नसकेको उनको आरोप छ।

‘ठेकेदारमाथि ठेकेदार छ, नामका लागि उपभोक्ता समिति खडा गरेको छ’, नदीछेउमै घर भएका रामउदगार साहले भने, ‘सानो साइजको ढुंगाले स्पर बनाउँदै छन्। खोइ ! कति दिन टिक्ने हो।’ केही दिनअघि सानै बाढीले स्परमा क्षति पुगेको उनले सुनाए।

कुन कार्यालयको कति बजेट हो भन्ने आफूलाई थाहा नभएको उपभोक्ता समितिका अध्यक्ष उपेन्द्र साहले बताए। गाउँमा तटबन्ध आवश्यक भएकाले ठेकेदार र कर्मचारीले जे भन्यो त्यही काम गरेको उनको भनाइ छ। यहाँ जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय जनकपुर डिभिजन ४ अन्तर्गत यो काम भइरहेको जनाइएको छ।

कमला नदी नियन्त्रणका साइट इन्जिनियर विश्वनाथ यादवका अनुसार सरकारले तीन महिनाका लागि नदीजन्य पदार्थ निकाल्न रोक लगाएपछि पहिले नै जम्मा गरेको सानो साइजको ढुंगा भए पनि प्रयोग गरिएको हो। चाँडै काम सक्नुपरेकाले योजना टुक्राएर उपभोक्ता समितिमार्फत काम गराएको उनको भनाइ छ। ‘स्पर निर्माणको काम ७५ प्रतिशत सम्पन्न भइसकेको छ’, उनले भने, ‘वर्षाले काममा ढिलाइ भएको छ।’ उपभोक्ता समितिमा सम्बन्धित वडाभन्दा बाहिरका व्यक्ति रहेको उनले स्वीकार गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.