कोसीमा खतराको घण्टी !

कोसीमा खतराको घण्टी !

धरान : लगातार वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेसँगै आसपासमा क्षति हुन नदिन स्थानीय प्रशासनले सतर्कता अपनाएको छ। बाढीबाट क्षति हुन नदिन कोसी आसपासको सुरक्षामा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। पूर्वी पहाडी जिल्लामा लगातार वर्षा हुन थालेपछि कोसीमा पानीको बहाव निरन्तर बढिरहेको जनाइएको छ। कोसीले कटान गर्न सक्ने भन्दै बराहक्षेत्र नगरापलिकाको राजावास क्षेत्रमा बढी मात्रामा सतर्कता अपनाइएको छ।

पहाडी जिल्लामा वर्षा नरोकिएको र कोसीको बहाव उच्च हुँदै गएपछि आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए। उनका अनुसार बराहक्षेत्र नगरपालिका र कोसी गाउँपालिकाका दर्जनभन्दा बढी स्थानमा क्षति हुन नदिन सेना, प्रहरीसहितको उद्धार टोली तयारी अवस्थामा राखिएको छ। ‘हामीले सम्पूर्ण तयारी गरेका छौं’, प्रजिअ उप्रेतीले भने, ‘कोसी आसपासका सुरक्षा पोस्टहरूमा गोताखोरसहित २५ जनाको टोली तयारी अवस्थामा छन्।’

कोसीले जुनसुकै बेला धार परिवर्तन गरी कटान गर्न सक्ने भन्दै भारतले पनि आसपासका क्षेत्रका बासिन्दाको सुरक्षामा सतर्कता अपनाएको छ। भारतले राजावास क्षेत्रमा १ लाख ५० हजारभन्दा बढी बोरामा बालुवा भरेर स्थानीय बासिन्दाको सुरक्षाका लागि पूर्वतयारीलाई तीव्र बनाएको जनाइएको छ।

कोसी ब्यारेजका ढोका बन्द गरेर स्थानीयलाई आतंकित पारेको गुनासो बढेपछि भारतले कोसीको होचो भाग भएका अधिकांश स्थानमा बालुवा भरिएका बोरा राखेर सम्भावित कटान रोकथाम गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए। ‘स्थानीय प्रशासनको अनुरोधमा भारतले कोसीको बाढीबाट बढी प्रभावित क्षेत्रमा बालुवा भरेका १ लाखभन्दा धेरै बोरा राखेर कोसीलाई छेक्ने काम भइरहेको छ’, उनले भने। बराहक्षेत्रका मेयर नीलम खनालले कोसीमा खतरा बढेका कारण कोसीटप्पु वन्यजन्तु आरक्षमा साइरन जडान गरी त्यसबाट स्थानीयलाई सूचना दिने व्यवस्था गरिएको बताए।

कोसीमा पानीको बहाव बिहीबार प्रतिसेकेन्ड १ लाख ५६ हजार १ सय २० क्युसेक पुगेको छ। प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेक पानीको बहाव पुगेपछि खतरा मानिन्छ। पानीको बहाव निरन्तर बढिरहे पनि कोसीका ५६ ढोकामध्ये २२ वटा मात्र खोलिएका छन्। भारतले सबै ढोका नखोल्ने गरेका कारण आसपासका क्षेत्रका बासिन्दा रातभर अनिँदै बस्नुपरेको प्रकाशपुरका नहकुल चन्द्रवंशीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.