आैद्योगिक करिडोरमा अघोषित लोडसेडिङ

आैद्योगिक करिडोरमा अघोषित लोडसेडिङ

वीरगन्ज : वीरगन्ज–पथलैया औद्योगिक करिडोरलाई लोडसेडिङमुक्त घोषणा गरिए पनि पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध (ट्रिपिङ) उद्योगको उत्पादनमा असर पुगेको छ।

वीरगन्ज उद्योग वाणिज्य संघका अनुसार विद्युत् प्राधिकरणले बारा र पर्सामा रहेका औद्योगिक करिडोरलाई एक महिनाअघि लोडसेडिङमुक्त क्षेत्र घोषणा गरेको थियो। तर, करिडोरमा दिनहुँ ८–९ पटक विद्युत् अवरुद्ध हुने गरेको छ। यसले गर्दा उद्योगका उपकरणमा समस्या आउनुका साथै क्षमताअनुसार उत्पादन पनि गर्न नसकिएको संघका अध्यक्ष ओमप्रकाश शर्माले बताए। उनका अनुसार यसको बढी असर फलाम र प्लास्टिकजन्य सामान र खाद्यान्न उत्पादन गर्दै आएका उद्योगमा परेको छ।

‘यो औद्योगिक करिडोरलाई एक महिनाअघि लोडसेडिङमुक्त क्षेत्र घोषणा गरियो तर दैनिक ८–९ पटक विद्युत् अवरुद्ध भइरहेको छ’, उनले भने, ‘यसले गर्दा रोलिङ मिल्स, प्लास्टिकजन्य र खाद्यान्न उद्योग बढी मारमा परेका छन्।’

उनका अनुसार फलाम र प्लास्टिकजन्य कच्चा पदार्थ प्रशोधन गर्ने भट्टी तताउन लगातार १२ घण्टा बिजुली चाहिन्छ। ‘तर, दुई–तीन घण्टामा पटक– पटक बिजुली जान्छ’, उनले भने, ‘जसका कारण भट्टी तात्नै सक्दैन। यसको असर उत्पादनमा परेको छ।’ उनका अनुसार यो अवस्थाभन्दा लोडसेडिङ नै जाती थियो किनकि उद्योगीले विद्युत जानुभन्दा पहिले जेनेरेटर चलाएर राख्थे।

विद्युत् रोकिँदा उत्पादन गर्न लागिएका सामानको गुणस्तरमै असर पर्ने मोहित एग्रो इन्डस्ट्रिजका सञ्चालकसमेत रहेका संघका उपाध्यक्ष सुबोध गुप्ताले बताए। उनका अनुसार एकपटक विद्युत् रोकिँदा उत्पादनमा असर पर्न गई १० देखि २० हजार रुपैयाँसम्मको नोक्सानी हुन्छ। ‘विद्युत् जाँदा विद्युतीय उपकरण बिग्रिइरहेका छन्, त्यसको त लेखाजोखा नै छैन’, उनले भने, ‘ट्रिपिङका कारण हामी उद्योगी आजित भइसकेका छौं।’

पुराना पोल र तारका कारण क्षमताभन्दा बढी मात्रामा विद्युत् आपूर्ति भइरहेका कारण पटक–पटक अवरुद्ध हुने गरेको हो।

करिडोरमा रहेका उद्योगले विद्युत् महसुलबाहेक डिमान्ड शुल्कबापत मासिक झन्डै १ करोड प्राधिकरणलाई तिर्दै आएको उनले सुनाए। उनका अनुसार मागअनुसार सेवा प्राप्त गरेबापत उद्योगले डिमान्ड शुल्क तिर्नुपर्छ। ‘मागअनुसारको सेवा दिन नसक्ने हो भने प्राधिकरणले डिमान्ड शुल्क मिनाहा गर्नुपर्छ’, उनले भने।

उनका अनुसार करिडोरमा रहेका पोलमा झुन्ड्याइएका तारको क्षमताभन्दा बढी मात्रामा विद्युत् आपूर्ति भइरहेका कारण ट्रिपिङ भइरहेको हो। ‘२० वषअघि जति विद्युत् आवश्यक थियो त्यही क्षमताका पोल र तार छन्’, उनले भने, ‘अहिले विद्युत् माग अत्यन्तै बढी छ तर पोल र तारको स्तरोन्नति गरिएको छैन। त्यसैले हाई लोड थेग्न नसकेका कारण तारमा स्पाइरिङ भएर पटक–पटक ट्रिपिङ हुन पुगेको हो।’

संघले करिडोरमा २ सय मेगावाट विद्युत् आवश्यक रहेको जनाएको छ तर अहिले १ सय २० मेगावाट मात्र आपूर्ति भइरहेको छ। यसबारे प्राधिकरणका साथै ऊर्जा मन्त्रालय, उद्योग मन्त्रालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको संघका अध्यक्ष शर्माको गुनासो छ। प्राधिकरणको वीरगन्ज वितरण केन्द्र प्रमुख मुनेन्द्र ठाकुरले भने बेला–बेला ट्रान्सफर्मर र पोलका तार मर्मत गर्ने क्रममा विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको बताए। करिडोरमा रक्सौल–परवानीपुर, ढल्केवर–मुजफ्फरपुर र केन्द्रीय प्रसारण गरी तीन प्रसारण लाइनबाट विद्युत् आपूर्ति हुँदै आएको उनले सुनाए। ‘जुन बेला कुनै पनि प्रसारण लाइनमा समस्या आउँछ त्यस बेला लाइन परिवर्तन गर्दा विद्युत् आपूर्ति रोकिन्छ’, उनले भने। मागभन्दा आपूर्ति कम भएका कारण पनि करिडोरमा विद्युत् समस्या देखिएको उनको भनाइ छ। संघका अनुसार करिडोरमा साना–ठुला गरी ९ सय उद्योग सञ्चालनमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.