सरकारद्वारा जथाभावी सहायता वितरण

सरकारद्वारा जथाभावी सहायता वितरण

काठमाडौं : आर्थिक सुशासन र मितव्ययिताको चर्को नारा दिँदै आएको सरकारले एकै दिन लाखौं रुपैयाँ आर्थिक सहायता वितरण गरेको पाइएको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले एकै दिन आफूनिकटलाई ४३ लाख रुपैयाँ वितरण गरेको हो ।

गत २० जेठको मन्त्रिपरिषद् बैठकले इलामका डा.मिमाङ तेम्बे मालापथलाई १२ लाख, धनगढीका नरेन्द्रराज पोख्रेललाई ६ लाख, झापाका खगेन्द्र चुडाललाई १५ लाख र हेटौंडाका श्रीचन्द्र पौडेललाई १० लाख रुपैयाँ दिने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उनीहरूलाई औषधि उपचारका लागि आर्थिक सहायता दिने निर्णय गरिएको जनाएको छ ।

यसअघि मन्त्रिपरिषद्ले वैशाखमा चितवनका ध्रुव घिमिरेलाई ७ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । प्रधानमन्त्री कार्यालयका अनुसार चैतमा विभिन्न व्यक्तिलाई आर्थिक सहायतास्वरूप ३५ लाख रुपैयाँ वितरण गरिएको थियो । त्यसभन्दा पहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले ९ महिनामा ४० करोड रुपैयाँभन्दा बढी रकम आर्थिक सहायता वितरण गरेको थियो । अत्यधिक आर्थिक सहायता वितरण गरेकाले तत्कालीन प्रधानमन्त्री देउवाको तीव्र आलोचित भएका थिए ।

सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले विगतका राजनीतिक क्रान्तिमा ठूलो योगदान गरेका व्यक्तिलाई गम्भीर र कडा रोग लागेकाले उनीहरूलाई आर्थिक सहायता वितरण गरिएको दाबी गरे । ‘विगतमा जसरी जथाभावी आर्थिक सहायता वितरण गरिएको थियो त्यसको तुलनामा अहिले केही पनि बाँडिएकै छैन, हामीले यसमा निकै कडाइ गरेका छौं’, उनले भने ।

मन्त्री यादवलाई ५ लाखभन्दा बढी

सरकारले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई थाइल्यान्डमा गरेको सबै उपचार खर्च बेहोर्ने निर्णय गरेको छ । मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टका अनुसार उनको शरीरमा अक्सिजनको मात्रा अत्यधिक न्यून भएर विभिन्न समस्या आएकाले थाइल्यान्डमा उपचार गरिएको र उपचारमा ५ लाख रुपैयाँभन्दा धेरै खर्च भएको छ । यस अवधिमा क्यान्सर, मिर्गौला र मुुटुसम्बन्धी कडा रोग लागेका कर्मचारीलाई पनि लाखौं रुपैयाँ सहायता वितरण गरिएको बताइएको छ ।

दैवी प्रकोप राहत पुनःस्थापनाको रकम गाडी किन्न

सरकारले जेठ महिनामा राष्ट्रपति कार्यालयलाई विद्युतीय सवारी खरिद गर्न र उपराष्ट्रपतिको भ्रमणमा गरी झण्डै ८० लाख रुपैयाँ खर्च भएको जानकारी दिएको छ । अर्थ मन्त्रालयका अनुसार दैवी प्रकोप राहत तथा पुनःस्थापनाको रकमबाट राष्ट्रपति कार्यालयका लागि विद्युतीय सवारी खरिद गर्न ७० लाख रुपैयाँ निकासा गर्ने निर्णय गरिएको छ । प्युठान र दाङको कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी हुन जाँदा प्रयुक्त हेलिकप्टरको ८ लाख २ हजार २ सय रुपैयाँ खर्च भैपरी आउने खर्चबाट गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

परराष्ट्रको टोलीलाई ५१ लाख

अर्थ मन्त्रालयले गत जेठमा परराष्ट्रमन्त्री र सचिवको नेतृत्वमा विभिन्न ४ देश गएको टोलीको भ्रमणमा ५१ लाख ३० हजार ६ सय रुपैयाँ खर्च भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.