नगरक्षेत्रका घरैपिच्छे एभोकाडो

नगरक्षेत्रका घरैपिच्छे एभोकाडो

धनकुटा : धनकुटा–६ कचिडे खाल्डेस्थित शशिकला भट्टराई (पोखरेल) को पाखोबारी एभोकाडोका बिरुवाले हराभरा देखिन्छ। करिब ८ रोपनी जग्गामा एक सयभन्दा बढी एभोकाडोका बिरुवा हुर्किएका छन्। जसमध्ये ४० बोटले भर्खंरै फल दिन थालेको छ। एभोकाडोको फल बिक्रीबाट गतसाल डेढ लाख रुपैयाँ आम्दानी गरेको भट्टराईले बताइन्। त्यस्तै धनकुटा–३ कागतेस्थित डा. दामोदार वाग्लेको ६ रोपनी बारीमा ५० भन्दा बढी एभोकाडोको बोट छ। २० बोटले उत्पादन दिइरहेको छ भने ३० बोट हुर्किरहेका छन्। गत वर्ष एभोकाडो बिक्री गरेर दुई लाख रुपैयाँ आम्दानी गरेको उनले बताए।

भट्टराई र वाग्ले त उदाहरण मात्र हुन्। पछिल्लो समय उनीहरूजस्तै धेरै किसान एभोकाडो बिक्रीबाट मनग्गे आम्दानी लिइरहेका छन्। जिल्लाका प्राय क्षेत्रमा एभोकाडोको खेती हुन्छ। यहाँका किसानले न्यूनतम एक लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्छन्। पछिल्लो समय किसानको घरमै पुगी व्यापारीले एभोकाडो खरिद गर्न थालेपछि जिल्लामा यसको खेती गर्ने लहर नै चलेको छ।

केही वर्ष अघिसम्म धनकुटामा घरमा खान तथा आफन्तलाई कोसेली लैजाने प्रयोजनका लागि मात्रै एभोकाडोको खेती हुन्थ्यो। केही परिणाम बिक्री हुन्थ्यो। तर व्यावसायिक खेती विस्तार भएको थिएन।

तर तीन वर्ष अघिदेखि यसको माग बढेको र किसानले पनि राम्रो मूल्य पाउन थालेपछि धनकुटामा एभोकाडो खेतीको व्यावसायिक विस्तार हुन थालेको छ।

अहिले धनकुटा नगरक्षेत्रमा एभोकाडोको बोट नभएका प्राय घर भेटिँदैनन्। प्राय सबै घरमा कम्तीमा १० बोट एभोकाडो देखिन्छ।

एभोकाडोलाई कच्चा पदार्थको रूपमा प्रयोग गरेर ३० भन्दा बढी परिकार बनाउन सकिन्छ। सरकारी निकायबाट यस्ता उद्योग खोल्न किसानलाई प्रोत्साहन गर्न सुझाइएको छ।

खाद्यबाली तथा तरकारी खेती गर्दा बाँदरले खाइदिएर दुःख दिन थालेपछि आफूले १० वर्ष अघिदेखि एभोकाडो बिरुवा रोपेको कचिडे खाल्डेकी भट्टराईले बताइन्। उनका अनुसार एउटा बोटले तीन क्विन्टलसम्म फल दिन्छ।

व्यावसायिक योजनासहित एभोकाडोको खेती गर्दा दीर्घकालसम्म आम्दानी लिन सकिने उनी बताउँछिन्। ‘एभोकाडोको बोट रहेको बारीमा अन्य स–साना तरकारी खेती पनि गर्न सकिन्छ’, उनले भनिन्, ‘एभोकाडोको बोट बाह्रैमास हरियाली देखिन्छ’ अन्य बालीको खेती गर्दाजस्तो जनशक्ति पनि यसमा चाहिँदैन। एभोकाडोको बिरुवा रोपेपछि बेला बखत हेरचाह गरे पुग्ने उनले बताइन्। छिटो हुर्कने भएकाले रोपेको दुई÷तीन वर्षपछि उत्पादन दिन थाल्ने उनको भनाइ छ। उनले भनिन्, ‘कम लगानीमा बढी आम्दानी दिने भएकाले लगानी र समयको हिसाबले यो फलको खेती उपयुक्त छ।’

कागतेस्थित डा. वाग्लेको बारीमै एभोकाडो खरिद गर्न व्यापारी आइपुग्छन्। असोजदेखि फागुनसम्म यसको फल टिप्ने सिजन हो। अधिकांश व्यापारीले बोटै मोलमोलाई गरेर एभोकाडोको फल खरिद गरेर लैजाने गरेको वाग्ले बताउँछन्। एभाकाडोको फलको मूल्य एकनासको छैन। फल्ने सिजनको सुरुवातीमा प्रतिकिलो एक सय ५० रुपैयाँदेखि मूल्य सुरु भएर सिजनको अन्तिमसम्म पाँच सय रुपैयाँ प्रतिकेजी पुग्ने डा. वाग्लेले बताए। कागते क्षेत्रबाट मात्रै वार्षिक ४० क्विन्टल एभोकाडोको फल बिक्री हुने उनी बताउँछन्।

एभोकाडोलाई घ्यू फल पनि भन्ने गरिन्छ। यो फलमा अत्यधिक पौष्टिक तत्व पाइने भएकाले बजारमा यसको माग धेरै नै रहेको उनले बताए।

‘जति ढिलो उत्पादन भयो किसानले त्यति धेरै भाउ पाउँछन्’, उनले भने, ‘ढिलो उत्पादन हुने जातको विकास गर्न आवश्यक छ।’

पाख्रीवास नगरपालिकास्थित मुगाका रामप्रसाद देवानले रोपेको एभोकाडोको एउटै बोटले झन्डै ५० हजारभन्दा बढी आम्दानी दिएपछि २९ रोपनी जमिनमा करिव डेढ सय बिरुवा हुर्काएका छन्। देवानले भने, ‘कम लगानी रोप्दा पनि लोभलाग्दो आम्दानी देखेर यसको खेतीतर्फ आकर्षित भएको हो।’ देवानका अनुसार एभोकाडोले रोपेको तीन वर्षपछि फल दिन सुरु गर्छ। एउटा निरोगी बिरुवाले सिजनका बेला तीन हजार दानासम्म फल दिने उनले बताए।

नगरक्षेत्रमा एभोकाडोको खेती विस्तार भएसँगै उत्पादन बढ्न थालेपछि धनकुटा नगरकार्यपालिकाको गत असार ९ गते सम्पन्न तेस्रो नगरसभाले नगरपालिका क्षेत्रलाई एभोकाडो उत्पादनको राजधानी भएको निर्णय गरेको थियो।

धनकुटा नगरका मेयर कृषि कार्यक्रमका कृषि अभियन्ता तथा कृषि विश्लेषक जीवनकुमार राईले हावापानी, भू–बनोटको हिसाबले धनकुटा एभोकाडो उत्पादनमा नेपालमै अग्रपंतीमा आउन थालेको बताए। उनका अनुसार धनकुटामा अहिले वार्षिक दुई लाख किलो एभोकाडो फल उत्पादन भइरहेको छ। जिल्लाको कुल उत्पादनमध्ये नगरक्षेत्रमा मात्रै वार्षिक ८० हजार किलो एभोकाडो उत्पादन भइरहेको छ।

धनकुटामा ३० वर्ष अघिदेखि एभोकाडो खेतीको सुरुवात भएको इतिहास छ। पछिल्लो समय यस खेतीको विस्तार तीव्र रूपमा भइरहेको छ। २०७६ सालदेखि नगरक्षेत्रबाट मात्रै दुई लाख ५५ केजी एभोकाडो फल उत्पादन हुने प्रक्षेपण गरिएको कृषि अभियन्ता राईले बताए। उनले भने, ‘अहिले खेती गरिएको बिरुवाले उत्पादन दिन थालेपछि २०८० सालदेखि वार्षिक ६ लाख केजी एभोकाडो फल उत्पादन हुने अनुमान गरेका छौं।’

एभोकाडोको स्थिर मूल्य प्रतिकिलो एक सय ५० रुपैयाँ भइरहेको अवस्थामा पनि किसानले वार्षिक सात करोड रुपैयाँ आम्दानी लिन सक्ने उनको तर्क छ।

अहिले धनकुटा नगरक्षेत्रमा २६ हजार एभोकाडोको बिरुवा किसानले रोपेका छन्। यीमध्ये १२ हजार एभोकाडो बिरुवाले फल दिने अवस्थामा छन् भने चार हजारले उत्पादन दिइरहेको राइले बताए।

धनकुटा नगरक्षेत्र एभोकाडो खेती गर्ने एक हजार नौ सय ६२ घरधुरी छन्। ती घरधुरीले रोपेको एभोकाडोको बोटले अहिले उत्पादन दिइरहेको छ। नगरक्षेत्रका ३५ सय घरधुरीले अहिले एभोकाडोको बिरुवा लगाएका छन्।

कृषि अभियन्ता राईका अनुसार एभोकाडोलाई कच्चा पदार्थको रूपमा प्रयोग गरेर ३० भन्दा बढी विभिन्न किसिमका वस्तुहरू बनाउन सकिन्छ। अवको केही वर्षभित्र उत्पादनको परिणाम ठूलो हुने भएकाले अहिले नै सरकारी निकायबाट यस्ता उद्योग खोल्न किसानलाई प्रोत्साहन गर्न उनको सुझाव छ।

कृषि विकास कार्यालय धनकुटाले पनि जिल्लामा एभोकाडो खेती विस्तार गर्न विभिन्न किसिमका कामहरू गरिरहेको छ। खेती गर्न चाहने किसानलाई व्यावसायिक खेती गर्नेबारे परामर्श दिइरहेको सो कार्यालयका प्रमुख भरतप्रसाद विडारीले बताए। एभोकाडो खेतीको विस्तार गर्न कार्यालयले केही योजना बनाए पनि संरचनगत परिवर्तनले चालू आर्थिक वर्षमा त्यो सम्भव नभएको उनले बताए।

अहिले सबैतिर यो खेती विस्तार गर्ने क्रम बढेको छ। मध्यपहाडका अधिकांश जिल्लामा यसको खेती विस्तार भएको छ। जसको कारण अवको केही वर्षभित्र ठूलो परिमाणमा उत्पादन हुन थाल्छ। उत्पादन भएको सबै उपभोग गरेर मात्रै सम्भव नभएकाले अव त्यसलाई उपभोग गरेर विभिन्न परिकार बनाउने उद्योग स्थापना गर्न आवश्यक रहेको उनले बताए। उनले भने, ‘यो फलले लामो अवधिसम्म उत्पादन दिन्छ। केही वर्षलाई बजारको समस्या नहोला तर भविष्य आइपर्ने बजार समस्यालाई अहिलेले नै पहिचान गरि दीर्घकालीन समाधान खोज्न आवश्यक छ।’

धनकुटा नगर कार्यपालिकाका सूचना अधिकारी डम्बर रोगुले नगरकार्यपालिकाले केही वर्ष एभोकाडो खेतीको विस्तार गरी उत्पादनतर्फ ध्यान दिने बताए। यो खेतीको व्यावसायिक विस्तार भर्खरै भएको हुनाले उत्पादनतर्फ ध्यान दिन जरुरी छ। चालू आवमा नगरपालिकाले धनकुटा–१ ओक्मालुङ्मा एभोकाडोका १२ सय बिरुवा वितरण गरिएको उनले बताए।

आगामी दिनमा नगरपालिकाले नगरक्षेत्रभित्र एभोकाडोको उत्पादन क्षेत्रलाई पहिचान गरेर पकेट क्षेत्र घोषणा गर्ने र सो क्षेत्रमा कृषि समूह गठन योजना तयार गरेको छ। सो समूह गठनपछि एभोकाडोबाट बन्ने परिकार उत्पादन गर्न सकिने उद्योग स्थापना गर्न प्रयास थालिने सूचना अधिकारी रोगु बताउँछन्।

०००००

एभोकाडो बिरुवाको माग बढ्यो

बजारमा एभोकाडो फलको माग र मूल्य बढ्न थालेपछि यस खेतीतर्फ किसानको आकर्षण बढेको छ। जसको कारण एभोकाडो बिरुवाको माग अत्यधिक बढ्न थालेको नर्सरी केन्द्रका सञ्चालकहरू बताउँछन्। बर्खाको सिजन एभोकाडोको बिरुवा रोप्ने सिजन हो। एभोकाडो बिरुवाको माग धान्न गाह्रो परेको उनीहरू बताउँछन्।

विगत वर्ष सुन्तला, जुनार र रुद्राक्षको बिरुवा उत्पादन गर्दै आएका धनकुटा–७ चुलीवनस्थित निशान नर्सरी केन्द्रका सञ्चालक भरत गुरागाईंले किसानबाट अत्यधिक माग आउन थालेका कारण तीन वर्ष अघिदेखि आफूले एभोकाडोको बिरुवा उत्पादन गर्न थालेको बताए।

गुरागाईंले तीन वर्षअघि दुई हजार र दोस्रो वर्ष ३५ सय बिरुवा उत्पादन गरेका थिए। माग बढी आएपछि यो वर्ष १२ हजार एभोकाडोको बिरुवा उत्पादन गरे। अहिले सबै बिक्री भएर चार सय मात्रै बिरुवा बाँकी रहेको उनले बताए।

पछिल्लो समय धनकुटा बाहिरका जिल्लाहरू संखुवासभा, तेह्रथुम, भोजपुर, इलाम, पाँचथर र काठमाडौंबाट एभोकाडो बिरुवाको माग बढी आउन थालेको छ। बिरुवाको प्रजाती र गुण हेरी प्रतिबिरुवा न्यूनतम ५० देखि डेढ सयसम्म मूल्य पर्छ।

गुरागाईंले बिरुवा उत्पादनबाहेक ३५ बोट एभोकाडोको बिरुवाबाट मनग्गे आम्दानी लिइरहेका छन्। गत साल ३५ बोट एभोकाडोको उत्पादनबाट दुई लाख ५० हजार रुपैयाँ आम्दानी गरेको उनले बताए। उनले भने, ‘मेरो बारीमा रहेको २८ वर्ष पुरानो एउटा एभोकाडो बिरुवाको फल बिक्रीबाट मात्रै ६२ हजार सात सय रुपैयाँ आम्दानी भएको थियो।’ जिल्लामा एभोकाडोको बिरुवा उत्पादन गर्ने तीन दर्जनभन्दा बढी नर्सरी केन्द्रहरू सञ्चालनमा छन्।

त्यस्तै धनकुटा–३ स्याउलेका गणेश न्यौपानेले आफ्नो नर्सरी केन्द्रबाट एभोकाडोको बिरुवा बिक्री गरेर करिव एक लाख रुपैयाँ आर्जन गरे। विगत वर्षमा सुन्तला, कागतीलगायत बिरुवाको नर्सरी राखेका उनले किसानबाट एभोकाडो बिरुवाको माग आउन थालेपछि उत्पादन संख्या बढाएको उनले बताए।

फोटो क्याप्सन ः धनकुटा–३ कागते स्थित डा. दामोदर वाग्लेको घरमा फलेको एभोकाडोको फल र उनले रोपेको एभोकाडोको बोट।

फोटो ः हरिबहादुर लम्जेल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.