हचुवाको भरमा योजना, सडक खन्दै अलपत्र पार्दै

हचुवाको भरमा योजना, सडक खन्दै अलपत्र पार्दै

जाजरकोट : भेरी नगरपालिका–२ रिसाङस्थित खलंगा–पाँचकाटिया सडकखण्डबाट तिलिंगे जोड्ने सहायक सडकका लागि नगरपालिकाले १३ लाख ६० हजार रुपैयाँ खर्च गरेर एक किलोमिटर सडक खनेको छ। तर, मुख्य सडकबाट उक्त सडकतर्फ गाडी गुड्न सक्ने अवस्था छैन। नगरपालिकाका प्राविधिकको गलत स्टमेटका कारण उक्त सडकमा मूल सडकबाट गाडी त के मान्छे हिँड्न मिल्नेसमेत ठाउँ छैन।

सडकमा न गाडी गुड्न मिल्छ न मान्छे नै हिँड्न मिल्छ। तर, नगरपालिकाले भने उक्त बाटो मोटरेबल भन्दै प्राविधिक रूपमा पास गरिसकेको स्थानीय बिर्खबहादुर कार्कीले बताए। मूल सडकबाट तिलिंगे जाने सडकमा गाडी प्रवेश गर्र्ने ठाउँ मात्र होइन, मूल सडकसँग जोड्न मिल्ने सम्भावना नै नभए पनि उक्त सडक निर्माणको अन्तिम भुक्तानी भएपछि स्थानीय अचम्ममा परेको कार्कीले बताए। प्राविधिक र स्थानीय उपभोक्ता समितिले हचुवाको भरमा गरेको गलत कामलाई नगरपालिकाले सदर गरेपछि अहिले उक्त कार्यको चर्काे विरोध हुन थालेको छ। यी दुई आयोजनामा आगामी आर्थिक वर्ष बजेट नै छुट्याइएको छैन।

सोही ठाउँबाट सडकको भिरालो क्षेत्र तल्लो रिसाङतिर जाने सडक निर्माण गर्ने भन्दै ५ लाख रुपैयाँ नगरपालिकाले खर्चिएको छ। तर, वर्षातमा अनावश्यक रुपमा डोजरले खनिएको सडकले पहिरोको जोखिम बढाएको स्थानीय सरोकारवाला बताउँछन्। वातावरणीय प्रभाव मूल्यांकन नै नगरी हचुवाको भरमा बजेट सक्न आयोजना छनोट हुने गरेका छन्। जथाभावी डोजर चलाउँदा आवातजावतमा जोखिम थप्नुका साथै बस्ती विस्थापित हुने सम्भावना बढेको छ। त्यस्तै, भेरी नगरपालिकाकै वडा नम्बर ४ भेलाले –इउरी जोड्ने सडक निर्माण भएर ८ लाख भुक्तानी भइसकेको छ तर त्यस सडकमा पनि गाडी गुड्न मिल्ने अवस्था छैन।

यो सडकमा पनि आगामी वर्ष बजेट छुट्याइएको छैन। भेरी–४ का युद्धजित शर्माले विकासको काममा जनताका प्रतिनिधिले जवाफदेहिता नदेखाउँदा रकम सकिने तर विकास जनतामैत्री नहुने गरेको बताए। उनले व्यवस्था फेरिए पनि जनप्रतिनिधि र नागरिकको विकासप्रतिको प्रवृत्ति पुरानै रहेको बताए। भेलाले र रिसाङको सडक त उदाहरण मात्र हुन् तर जिल्लाभरि नै निर्माण भएका र भइरहेका अधिकांश पूर्वाधार र अन्य विकासका योजना गुणस्तरहीन बन्दै गएको स्थानीय जनताको चर्काे गुनासो छ। सडक गुरुयोजनाबिना कार्यकर्ताको दबाबमा कनिका छरेजस्तै गरी सडक खन्दै अलपत्र पार्दै जाने प्रवृत्ति देखिएको छ। चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेर खनिएका नगरभित्रका दुई दर्जन सहायक सडक पूरा भएका छैनन् तर ती सडकमा आगामी वर्ष बजेट नै विनियोजन नगरिएको भेरी–४ का कैलाशसिंह खत्रीले बताए। जनप्रतिनिधिमा जिम्मेवारीबोध र जवाफदेहिता नहुँदा स्थानीय सरकार पनि पुरानै परम्परा र ढर्रामा चलिरहेको उनले बताए।

सडक निर्माणका नाउँमा गाउँबस्तीमा अव्यवस्थित तरिकाले डोजरको प्रयोगले काम गुणस्तरहीन बन्नुका साथै पहिरो र वन विनाशको जोखिम व्यापक रूपमा बढ्दै गएको छ। विकासको काम गुणस्तरीय र दीर्घकालीन रूपमा भरपर्दाे हुनेभन्दा पनि छिटो काम सक्ने र भुक्तानी लिने प्रतिस्पर्धाले पहिलेजस्तै विकासमा कमाउ धन्दाको रूप देखाउन थालेको असलशासनकर्मी बालकुमार शर्माको भनाइ छ। डोजरको अव्यवस्थित र जभाभावी प्रयोगले पहिरो र वनजंगल विनाशको सम्भावना बढ्नुका साथै स्थानीय बस्तीमा स्थानीयको रोजगारीको मौका गुम्दै गएको उनीहरूको गुनासो छ। जिल्लाभरि तीन दर्जन बढी डोजर सडक निर्माणका लागि प्रयोग भइरहेको बताइएको छ।

भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले उपभोक्ताको लापरबाही र बेइमानीले विकासको काममा गुणस्तर कायम हुन नसकेको स्विकारे। काम गुणस्तरीय गर्नेभन्दा पनि उपभोक्ता समितिका केही पदाधिकारीले नाफा कमाउने नियतले काम गर्ने प्रवृत्तिले समस्या आएको उनको भनाइ छ।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.