पत्रकार महिलालाई सम्पादन तालिम
काठमाडौं : क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को आयोजनामा पत्रकार महिलाका लागि समाचार तथा फिचर सम्पादन तालिम गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा सम्पन्न उक्त तालिममा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले पत्रकारिता समाजभन्दा बाहिर जान नसक्ने हुनाले समाज परिवर्तनका लागि यसको महत्वपूर्ण भूमिका रहने बताए।
सरकारले हाल निर्माण गरेको राष्ट्रिय आम सञ्चार नीतिलाई पत्रकार महिला मैत्री बनाउनमा आफूले पहल गर्ने प्रमुख अतिथी गुरुङले बताए। गोरखापत्र संस्थानको निमित्त महाप्रबन्धकमा नियुक्त हरिकला अधिकारीलाई सम्मान गरिएको थियो।पत्रकार अधिकारीले आफूले उक्त पदसम्म पुग्नका लागि गर्नुपरेको संघर्षको अनुभव सुनाइन्।
कार्यक्रममा संस्थाकी अध्यक्ष अमिका राजथलाले तालिम संचालन गर्नुको उद्देश्य प्रकाश पार्दै डब्लुडब्लुजेले महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन्।
त्यसैगरी संस्थाले पत्रकार महिलाको रोस्टर तयार गर्ने, वरिष्ठ पत्रकार महिलाका प्रोफाइल तयार गर्ने र अग्रज पत्रकार महिलालाई सम्मान गर्ने कार्यक्रम पनि तय गरेको उनले जानकारी दिइन्।