खोलो बढेपछि मनाङ आउन जानै सम
बेंसीशहरः लगातारको वर्षाले खोला बढ्दा सवारी साधनलाई हिमाली जिल्ला मनाङ जान आउन समस्या भएको छ । खोलो तर्न नसक्दा सवारी मनाङ जान छोडेका छन् । लमजुङ र मनाङ सिमानाको म्यार्दीखोला र तामाङ नपुग्दैको तिमाङखोला बढ्दा सवारी साधन आउजाउमा समस्या भएको हो ।
चालकहरूका अनुसार म्यार्दीखोला र तिमाङखोला बढेर सवारी वारपार गर्न सकिएको छैन । म्यार्दीखोलामा निर्माणाधिन ‘बेलिब्रिज’ तोकिएको समयमा नसक्दा चालक तथा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
तिमाङखोलामा भने पुल निर्माणको सुरसार छैन । तिमाङखोलामा पुल निर्माण गर्ने भन्दै २ वर्षअघि बेस राखिएपनि बाढीले बगाएपछि डिभिजन सडक कार्यालय दमौलीले पुनः निर्माण प्रक्रिया अघि बढाएको बताएको छ । तर, काम सुरु नभएको स्थानीयले बताएका छन् ।
बेसीसहर–मनाङ सवारी चलाउँदै आएका सुरज मौरतीकाअनुसार बेसीसहरबाट करिब ३० किलोमिटरको च्याम्चेसम्ममात्रै मोटर चलाउन सम्भव छ । चालक सन्तोष थापाले खोलामा पानी बढेका कारण जिप मनाङ जाउआउमा समस्या भएको बताए ।
हिमाली जिल्ला मनाङमा मस्र्याङदी यातायात टान्सपोर्ट कम्पनी प्रालिले जिप चलाउँदै आएको छ । कम्पनीका कार्यालय प्रमुख जीवी घिमिरेले बर्खा लागेपछि १०-१२ वटा मात्रै सवारी चलेको बताए । हिउँदमा भने कम्पनीकै ४० भन्दा बढी सवारी चल्ने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले डिभिजन सडक कार्यालयलाई म्यार्दी खोलामा छिटो पुल बनाउन घच्घच्याइरहेको बताए । डिभिजन सडक कार्यालय दमौलीका अनुसार पानीका कारण निर्माणमा समस्या आएको छ ।
म्यार्दीमा २ वटा ह्यूमपाइप राखिएको र फेरी २ वटा राख्न बाँकी रहेको छ । सडकमा आउने समस्या तत्काल समाधान गर्न एउटा एक्साभेटर राखिएको छ । पुलको ७५ प्रतिशत काम सकिएको जनाइएको छ ।
ग्याल्बा–क्याराभान जेभीले पुल निर्माणको काम गरिरहेको छ । निर्माण कम्पनीले साउन पहिलो सातासम्म पुल निर्माण सक्नेगरि म्याद मागेको छ । उक्त पुल भ्याटबाहेक २ करोड ५ लाख १७ हजार ८ सय ६९ रुपैयाँमा निर्माण हुन लागेको हो । २४ मिटर लम्बाइ र तत्काल ४ मिटर (सिंगल लेन) को पुल निर्माण हुँदैछ ।
डिभिजन सडक कार्यालय दमौलीका डिभिजन इन्जिनियर भानु जोशीका अनुसार म्यार्दीखोलामा पुल निर्माण सकेपछि तिमाङखोलाको पुल निर्माण हुनेछ । पुल निर्माण भइरहेको म्यार्दीखोला लमजुङको बेंसीसहरबाट ३५ र मनाङको चामेबाट ३० किलोमिटरको दुरीमा पर्छ । २०६४ मा नेपाली सेनाले सडक निर्माण गर्दा बनाएको काठेपूल २०७२ जेठमा भाँचिएको थियो ।
त्यसपछि डिभिजन सडक कार्यालय दमौलीले ‘स्टिल गार्डर ब्रिज’ राखेकोमा उक्त पुल एक महिनापछि असार ३१ गते म्यार्दीखोलामा आएको भीषण बाढीले बगाएको थियो । पुनः काठेपूल निर्माण गरी सवारी आवतजावत गराइएकोमा बेलिव्रिज बनाउँदा त्योपनि भत्काइएको छ ।