पोखरीमा बालकको शव, अपहरणपछि हत्या गरिएको आशंका

वीरगन्जः बहुदरमाई नगरपालिका–२ बैरीया पिपरामा आइतवार बिहान साढे बजेदेखि हराएका एक बालक मृत अवस्थामा फेला परेका छन् । बिहान साढे आठ बजेतिर खाना खाएर खेल्न निस्किएका स्थानीय शिवजी साहका ६ वर्षीय छोरा आयुब साह घरबाट तीन सय मिटर उत्तरस्थित पोखरीमा आइतवार दिउँसो मृत फेला परेका हुन् ।
बिहान घरबाट निस्केका बालकको कसैले अपहरण गरी हत्यापछि पोखरीमा फालेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । पोखरीमा रहेको बालकको शव आइतवार बेलुकीसम्म स्थानीयले निकाल्न दिएका छैनन् । तालिम प्राप्त कुकर घटनास्थलमा ल्याएर अनुसन्धान गरेपछि मात्रै पोखरीबाट शव निकाल्नुपर्ने गाउँलेको माग छ ।
पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले शव भेटिएको पोखरीको डिलमा घाँस मडारिएको देखिएकाले घटना शंकास्पद भएको बताए । गाँउलेहरुको माग अनुसार हेटौँडामा रहेको नेपाल प्रहरीको गणबाट तालिम प्राप्त कुकुरसहितको टोली मगाइएको छ । उक्त टोली आएपछि मात्र पोखरीबाट शव निकाल्ने जानकारी उनले दिए ।
यसअघि गत मंसिर १६ गते मृत भेटिएका बालकका ठूलो बुवा सञ्जय साहका १० वर्षीय छोरा सुमित कुमारको पनि हत्या गरिएको थियो । मंसिर १३ गतेदेखि घरबाट बेपत्ता सुमितको शव मंसिर १६ गते साँझ बहुदरमाई नगरपालिकाको नगरदाहा गाउँ नजिक पोखरीको डिलमा फेला परेको थियो ।
सुमितको हत्यामा संलग्नलाई प्रहरीले अहिले सम्म पनि पक्राउ गर्न सकेको छैन । जगरनाथपुर गाउपालिका–४ सुहपुरको बँगुली खोलाको छेउमा पनि आइतवार अपरिचित एक महिलाको शव फेला परेको छ । परिचय खुल्न नसकेकी ती महिलाको शव खोलाको छेउमा फेला परेको हो ।
सडेको अवस्थामा फेला परेको शव कसको हो भन्ने खुल्न नसकेकाले अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक ढकालले बताए ।
प्रतिक्रिया दिनुहोस !
