१३ प्रतिशतले मात्र लिए दोस्रो किस्ता

१३ प्रतिशतले मात्र लिए दोस्रो किस्ता

स्याङ्जा : स्याङ्जाका भूकम्प प्रभावित परिवारमध्ये १३.५६ प्रतिशतले मात्र दोस्रो किस्ता लिएका छन् । असार मसान्त अर्थात् दोस्रो किस्ताबापतको रकम लिने अन्तिम दिन (आइतबार) सम्म जिल्लाका १ हजार १ सय ५१ जनाले मात्र उक्त रकम लिएका हुन् । प्रथम किस्ता लिएका ८ हजार ४ सय ८५ मध्ये १ हजार १ सय ५१ परिवारले मात्र दोस्रो किस्ताबापतको रकम बुझेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ स्याङ्जाले जनाएको छ ।

पहिलो किस्ताबापत पाउनेले प्रत्येक घरले ५०÷५० हजारका दरले रकम लिइसकेका छन् । तर, दोस्रो किस्ताका लागि ज्यादै न्यून व्यक्तिले मात्र चासो राखेको प्राधिकरण इकाइ कार्यालय प्रमुख प्रवीण ढकाल बताउछन् । ‘ प्रभावितले पहिलो चरणको काम सकेपछि ५० हजार रकम लिएर दोस्रो चरणको काम सुरु नगरेका कारण रकम लिने संख्या न्यून देखिएको’, प्रमुख ढकालको भनाइ छ । दोस्रो चरणको काम सकेपछि प्राविधिकको सिफारिसमा मात्र प्रभावित परिवारले १ लाख ५० हजार रुपैयाँ दोस्रो किस्ता पाउने प्रावधान छ ।

भूकम्पका कारण जिल्लामा करिब ९ हजार ९२ घर प्रभावित भएका थिए । प्रभावितमध्ये ८ हजार ७ सय ६६ घरधनीले सम्झौता गरेका थिए । तीमध्ये ८ हजार ४ सय ८५ घरले प्रथम किस्ता लिएका थिए । प्रथम किस्ता लिएकामध्ये अहिले १ हजार १ सय ५१ ले मात्र दोस्रो किस्ता लिएका हुन् । स्याङ्जामा ५ सय ६७ घर आंशिक (प्रवलीकरण) मा परेका छन भने २ सय ८३ ले मात्र प्रथम किस्ता लिएका छन् ।

कार्यालयका अनुसार पुतलीबजार नगरपालिकामा २ सय १६, वालिङमा १ सय ९६, भीरकोटमा ७६, गल्याङ्मा १ सय २, चापाकोटमा १ सय ३७ र फेदीखोला गाउँपालिकामा ४३, आँधीखोलामा १ सय ७२, अर्जुनचौपारीमा १ सय २२, बिरुवामा ३३, कालीगण्डकीमा २८ र हरिनासमा २३ घर दोस्रो किस्ताका लागि सिफारिस गरिएको जिल्ला परियोजना कार्यान्वयन इकाइ कास्की र स्याङ्जाका सम्पर्क व्यक्ति लक्ष्मण जिसीले जानकारी दिए ।

पहिलो किस्ताका लागि जग खन्ने र दोस्रो किस्ताका लागि जग पुरेर सम्पन्नताको प्रमाणितसहित जिल्ला आयोजना कार्यान्वयन इकाइ समितिमा सम्बन्धित स्थानीय तहमा कार्यरत प्राविधिकले सिफारिस गर्नुपर्ने हुन्छ । प्राविधिकको सिफारिसलाई सहरी विकासले प्रमाणित गरेपछि लाभग्राहीले दोस्रो किस्ताको रकम पाउने प्रावधान छ । सरकारले गत मंसिरदेखि प्रत्येक गाउँपालिका र नगरपालिकामा एक इन्जिनियर र एक सबइन्जिनियर खटाएको छ ।

भूकम्पप्रभावित लाभग्राही सूचीकृत घरमुलीले भूकम्पप्रतिरोधी घर निर्माण गरेबापत ३ पटकमा ३ लाख रुपैयाँ पाउँछन् । पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख पाउने व्यवस्था छ । ‘नगद आएर बैंकमा बसेको छ तर भूकम्प प्रभावित नागरिकसम्म पुग्न सकेन’, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । जिल्लाका ५ नगर र ६ गाउँपालिकामध्ये कालीगण्डकी र हरिनास गाउँपालिकामा भने अझै प्राविधिकको समस्या छ । यी गाउँपालिकामा प्राविधिकको संख्या कम छ । दुवै गाउँपालिका भौगोलिक कारणले अपायक हुनुका साथै खटाइएका प्राविधिक पनि कोही अन्यत्र जागिरमा जाने तथा कोहीले बीचमै जागिर छाड्ने कामले कठिनाइ भएको बताइएको छ ।

भूकम्पप्रभावित घरमुलीमध्ये केही विदेशमा भएका, कोही अशक्त र बिरामी, कोहीको मृत्यु भएका कारण किस्ताको नगद भुक्तानीका लागि असहज बनेको अवस्थामा वडाध्यक्ष वा वडासचिवको सिफारिसमा ती नाम संशोधन गर्न सकिने व्यवस्था रहेको जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले जानकारी दिइन् ।

भूकम्पीय कम प्रभावित १८ जिल्लाभित्र स्याङ्जा परेको हो । पुनर्निर्माणका गति अत्यन्त कम भएको बताउँदै कछुवा गतिमा चलिरहेको कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख जयराम पौडेलले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.