डाक्टर केसी भेट्न घुइँचो

डाक्टर केसी भेट्न घुइँचो

 जुम्ला : डा. केसी १७ दिनदेखि ओछ्यानमा छन्। उनलाई ओछ्यानमै भेट्न आउने नागरिकको घुइँचो भने दिनदिनै बढ्दो छ। बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हरेक दिन तीन सयभन्दा बढी स्थानीय नागरिक केसीको सुस्वास्थ्यको कामना गर्दै उनलाई भेट्ने गर्दछन्।

चिकित्सा शिक्षा अध्यादेशलाई नै ऐनका रूपमा ल्याउनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सञ्चालन गर्नुपर्नेलगायत माग राख्दै डा. केसी जुम्लामा अनशनरत छन्।

मुखमा अक्सिजन र हातमा स्लाइन पानीको पाइप राखिएका केसी धेरै बोल्न सक्ने अवस्थामा छैनन्। केसीका सहयोगी र चिकित्सकहरू पनि केसीसँग धेरै बोल्ने प्रयास नगर्न स्थानीयलाई सुझाउँछन्।

सोमबार डा. केसीलाई भेट्न चन्दननाथ नगरपालिका सिंगाचौर गाँउकी पञ्चकला सुनार र माया सुनार पनि आएका थिए। डा. केसी छट्पटिएको देख्न नसकेर पञ्चकला सुनार भक्कानिइन्, ‘डाक्टरसाप, हामीजस्ता गरीबका लागि तपार्इं भगवान हो, तपार्इं बाँच्नुपर्छ। सरकारले माग पूरा गरेन भने हामी गरीब जनता रगत बगाउन पनि तयार छौं।’ पञ्चकला सुनारको रोएको देखेर डा. केसी पनि भावुक भए। आँसु छोड्दै डा. केसीले आँखा चिम्म गरे।

‘मेरो छोराछोरीले भर्खर राम्रो ग्रेडमा एसईई पास गरेका छन्, मलाई स्टाफ नर्स, एमबीबीएस पढाउने इच्छा छ’, पञ्चकलाले अन्नपूर्णसँग भनिन्, ‘काठमाडांैमा पढाउनलाई स्रोत छैन। डा. केसीको माग पूरा भयो भने मेरा छोराछोरीलाई घरैको खाना खुवाएर घरनजिकै चिकित्सा शिक्षा पढाउन सक्थें।’

हिमा गाँउपालिका–१ बड्किका पूर्णबहादुर शाहीको धारणा पनि उस्तै छ। शाहीका छोराले भर्खर बि प्लस ग्रेडमा एसईई पास गरेका छन्। उनको चाहना छ– छोरालाई कर्णालीमै एमबीबीएस पढाउने।

‘सरकारले डा. केसीका जायज माग सम्बोधन गर्नुपर्छ, नत्र दुईतिहाइको सरकार केका लागि ? ’ उनले भने, ‘सरकारले हामीजस्ता गरीबका छोराछोरीलाई सस्तोमा कर्णालीमै चिकित्सा शिक्षा अध्ययन गर्ने वातावरण मिलाउनु पर्छ।’

डा. केसीको जीवनरक्षाको मागसहित नागरिक समाज जुम्ला, द्वन्द्वपीडित महिला संघ, एकल महिला समाज, नेपाल मानवअधिकार संगठन लगायत जुम्लाका संघसंस्थाले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन्।

डा. केसीको स्वास्थ्य अवस्था गएराति अचानक थप जटिल बनेको थियो। रातको २ बजे आसपासमा सास फेर्न गाह्रो भएपछि डा. केसीले सहयोगका लागि आग्रह गरेका थिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाका अनुसार मेडिकल टिमले जाँच गर्दा रगतमा अक्सिजनको मात्रा ६०, श्वासप्रश्वास गति ४० र मुटुको गति १२० को हाराहारीमा पुगेको थियो।

रोकायाले भने, ‘अस्पतालले इमर्जेन्सी म्यानेजमेन्टका लागि उपकरण र औषधि तयारी अवस्थामा राखेको छ, आईसीयूमा राख्नुपर्ने अवस्था आएमा यहाँ भन्दा सुविधासम्पन्न अस्पतालमा रिफर गर्नुपर्ने हुन सक्छ।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.